डा. गोविन्द केसीले फेरी अर्को अनसन बस्ने चेतावनी सहित प्रेस वक्तव्य जारी गरेका छन् । जब जब संसदमा चिकित्सा शिक्षा बिद्येयक ल्याउने तयारी हुन्छ, तब तब डा. केसीको अनसनले सिँगो देशलाई नै ठप्प बनाउने गरेको छ । केसीकै कारण अहिले सम्म सो बिद्येयक आउन सकिरहेको छैन ।


ADVERTISEMENT


देशको कानून बन्ने प्रक्रियामा एक जना ब्यक्तिको अवरोधका कारण सिँगो सरकारको गति नै अवरुद्ध गर्ने अनौठो परम्परा दोहोरिरहेको छ । उनले अनसन बसेको यो बीचमा नेपाली काँग्रेस, तत्कालिन एमाले, तत्कालिन एमाओविदी हुँदै अहिलेको नेपाल कम्युनिष्ट पार्टी सम्मले आलोपालोकै शैलीमा सरकारको नेतृत्व गरिरहेका छन् । तर अनसन प्रकरण निको नहुने रोग सरह बल्झिरहेको छ ।


ADVERTISEMENT

# # #


लोकतन्त्रमा असन्तुष्टी र फरक मतहरु उठ्नु स्वभाविक हो, त्यो व्यक्ति केन्द्रित भएर होईन, दलीय अभ्यासमा देखिनुपर्छ । तर निर्णयको सार्वभौमिकता, जनताको जनमत प्राप्त संस्थालाई नै हुन्छ ।

हरेक पटक डा. केसी अनसन बस्छन्, केही दिन पछि अनसन तोडिन्छ, केही महिना पछि फेरी अनसनको उही टिठलाग्दो प्रसँग दोहोरिन्छ । यसैको प्रत्यक्ष असर कार्यकारी सरकारको गति, सार्बभौम संसदको कानून निर्माण तथा बिकास र समृद्धिको एजेन्डा सहित अघि बढेको देशको अग्रगामी गतिमा परिरहेको छ ।

केसीका केही जायज मागहरु छन् भने त्यसलाई केलाएर सरकारले संबोधन गर्न सकिने बिषयहरुको निक्र्योल लगाउन सक्छ । र निर्णय प्रक्रियामा देश र जनताको हितलाई ध्यानमा राखेर आफ्नो स्वतन्त्र अधिकार संसद र सरकारले प्रयोग गर्न सक्छ । कारण, लोकतन्त्रमा, सरकार, संसद र दलहरु भन्दा प्रधान जनताको अभिमतको मर्मले निर्दिष्ट गरे अनुसार अरु केही हुन सक्तैन ।

हरेक पटकका सरकारले पूरा गर्न नसक्ने माग केसी पटक पटक किन उठाईरहन्छन् ? लोकतन्त्रको सौन्दर्य निर्वाचन मार्फत जनमत पाएको संसदको निर्णय र बनेको कार्यकारी सरकारको कार्यसम्पादन नै हो । यदी त्यसमा कमजोरी भएमा अर्को निर्वाचनबाट जनताले नै त्यसलाई दण्डित गर्नेछन् ।

तर लोकतान्त्रिक व्यवस्थामा सार्बभौम संसद र कार्यकारी सरकार भन्दा कुनै व्यक्तिको हठले सिँगो देशको गतिलाई नै रोक्न खोजिन्छ भने ल्याउन खोजेको परिणाम के हो ? वहुदलीय व्यवस्थामा मूलधारका दलहरु जस्लाई जनताको साथ छ, तिनै दलहरुलाई पटक पटक कमजोर बनाउन खोजिन्छ भने त्यसले देशलाई कता तिर लैजाला ?

केसीको निष्ठामा प्रश्न उठिसकेको छैन । तर उनीसंग जोडिएर सल्बलाउने स्वार्थहरुले सिँगो देशलाई नै ठप्प बनाउन सक्ने मौका देख्छन् भने गोप्य रुपमा उनीलाई प्रयोग गर्नेहरुको कसरत नहोला भन्न कसरी सकिएला र ? घरभित्र आगो सल्काएर म बाँच्न सक्छु भन्ने भ्रमले दशकौं देखिको संघर्ष र मेहनतले ल्याएको परिवर्तन माथि धक्का पुग्न सक्छ ।

केसीलाई आफूले देश र जनताकै पक्षमा आवाज उठाएको हो भन्ने नै लागेको हो भने जनताकै अभिमत प्राप्त दुई तिहाई सरकार र सार्बभौम संसदको गतिलाई रोकेर होईन, सहयोग गरेर नै राष्ट्रियता प्रदर्शन हुनेछ । संसद र सरकारले पनि यो विषयलाई उच्चतम हिसाबले जनता र देशको हित अनुकुल सबै नेपाली जनताको पहुँचमा दूरदराज सम्म पनि मेडिकल शिक्षाको पहुँच पुग्ने गरी टुँगो लगाएर निकास निकाल्नु पर्छ । नत्र त विकास, समृद्धिको जनअपेक्षामा तुसारापात ल्याउने र देशलाई असफल बनाउने ग्राईन्ड डिजाईनको चक्रब्यूहमा केसीलाई पारिने खतरा डरलाग्दो छ ।