दमौली– नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले सामाजिक सञ्जाल प्रयोग गर्दा पत्रकारले अपनाउनुपर्ने आचारसंहिता बनाउन लागिएको बताएका छन् ।


ADVERTISEMENT


प्रेस काउन्सिल नेपालको आयोजना र महासङ्घ तनहुँको संयोजनमा आज दमौलीमा आयोजित तनहुँका सञ्चारमाध्यमका समस्या र पत्रकार आचारसंहिता विषयक मिडिया संवादमा बोल्दै आचार्यले पत्रकार जिम्मेवार हुनुपर्नेमा जोड दिए । पत्रकारले सामाजिक सञ्जालमा आचारसंहिता विपरीतका सामग्री प्रकाशन÷प्रशारण गरेको पाइएकाले त्यसलाई नियन्त्रण गर्न आचारसंहिता बनाउन आवश्यक रहेको उनले बताए । “आचारसंहिता बनाउन महासङ्घका पूर्वअध्यक्ष र विज्ञलाई मस्यौदा दिने तयारी गरेका छौँ, आगामी साधारणसभासम्म यसको टुङ्गो लाग्छ,” उनले भने ।


ADVERTISEMENT

# # #


उनले पत्रकारिता क्षेत्र समाजको मार्गदर्शन भएकाले पत्रकार बढी जिम्मेवार हुनुपर्ने धारणा व्यक्त गरे । पत्रकारले प्रकाशन/प्रशारण गर्ने सामग्री आचारसंहिताबमोजिम हुनुपर्ने र त्यसो नभए आचारसंहिता उल्लङ्घनमा कारवाही हुने समेत उनको भनाइ थियो । उनले भने, “पत्रकारिता पेशामा क्रियाशील नरहेका महासङ्घका सदस्यलाई बिदाइ गर्ने निर्णय भएको छ, यसलाई कार्यान्वयन गर्छौं”, उनले भने ।

मिडिया दर्ता, वर्गीकरण स्थानीय तहबाट हुनुपर्ने महासङ्घको धारणा रहेको चर्चा गर्दै उनले सङ्घीयताको अनुभव सञ्चारमाध्यममा समेत हुनुपर्नेमा जोड दिए। प्रेस काउन्सिल नेपालका सदस्य खिलबहादुर भण्डारीले पत्रकारले आचारसंहिताको परिधिभित्र रहेर सामग्री प्रकाशन/प्रशारण गर्नुपर्ने बताए ।

व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले सञ्चारमाध्यमको प्रवद्र्धनका लागि स्थानीय तह प्रतिबद्ध रहेको बताए । पत्रकार महासङ्घ तनहुँका पूर्वअध्यक्ष विश्वबन्धु भण्डारी, प्रदीप काफ्ले, डम्बर अधिकारी, उपाध्यक्ष नारायण खड्का, सचिव उज्वल पौडेललगायतले सञ्चारमाध्यमलाई उद्योगको रुपमा मान्यता दिनुपर्ने माग गरे ।