काठमाडौं । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओलीले सरकार र पार्टी ठीक ढंगले चलिरहेको भन्दै स्थायी कमिटी बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदनको बचाउ गरेका छन् । तर केही नेताले अध्यक्षको जवाफ चित्तबुझ्दो नभएको भन्दै प्रश्न उठाएपछि बिहीबार प्रतिवेदन पारित गर्ने उनको प्रयास विफल भयो ।


ADVERTISEMENT


ओलीले प्रतिवेदन मूलत: सही रहेको विष्लेषण गरी पारित गर्न प्रस्ताव राखेका थिए । नेता भीम रावल र घनश्याम भुसालले बैठकमै उठेर प्रतिवाद गरे । अन्य नेताले पनि ओलीको जवाफ चित्त नबुझाएपछि बैठक शुक्रबार बिहानसम्मलाई स्थगन भएको छ ।


ADVERTISEMENT

# # #


नेताहरूले सरकार सञ्चालन, सरकारका निर्णय, पार्टी सचिवालयका नाममा गरिएका एकता प्रक्रियासम्बन्धी निर्णयमाथि प्रश्न उठाएका थिए । दर्जनौं प्रश्न उठे पनि अध्यक्ष ओलीले बैठकमा समग्रमा जवाफ दिएका थिए । अन्तर्राष्ट्रिय सम्बन्ध सुधारेको, विकास निर्माणका काममा विस्तारै गति दिन थालेको भन्दै धेरै चिन्ता नगर्न नेताहरूको ध्यानाकर्षण गराएका थिए । निर्मला हत्या प्रकरणबाहेक शान्तिसुरक्षा, आपराधिक गतिविधि नियन्त्रणमा आएको प्रसंग पनि उनले बैठकमा उठाए ।

राष्ट्रिय हितका विषयमा कुनै सम्झौता नगरिने ओलीले बताए । पार्टी एकता ऐतिहासिक भएकाले यसका उपलब्धि जोगाएर अघि बढ्नुपर्ने उनको धारणा थियो । एकतासम्बन्धी बाँकी काम पूरा गर्न पार्टीले विशेष ध्यान दिनुपर्ने भन्दै उनले अहिलेसम्मका निर्णय सही नै भएको र अबका निर्णयमा अझ फराकिलो दायराबाट अघि बढ्ने बताए । पुस महिनाभित्र एकताका सबै काम पूरा गर्नुपर्ने औंल्याउँदै उनले पार्टी र सरकार सञ्चालनमा सबै मिलेर अघि बढ्नुपर्नेमा जोड दिए ।

स्थायी कमिटी सदस्यहरुले विभिन्न राजनीतिक नियुक्ति, एसिया प्यासिफिक सम्मेलन, सचिवालयको एकलौटी भएको लगायत विषय उठाएका थिए । यिनमा ओलीले खासै जवाफ दिएनन् । उनले ‘सदस्यहरूबाट आएका सुझाव मनन गरौंला, यो प्रतिवेदन पारित गरौं’ भनेपछि भुसाल र रावलले प्रतिवाद गरेका थिए । भुसालले सबै विषयलाई छुट्टाछुट्टै एजेन्डा बनाएर छलफल गर्ने यसअघिको प्रतिबद्धता पालना नभएको भन्दै आपत्ति जनाए ।

बैठक सुरु भएकै दिन अर्का अध्यक्ष पुष्पकमल दाहालले ‘अहिले राजनीतिक प्रतिवेदन पेस गरौं, त्यसपछि नेताहरुले उठाएका सबै विषयलाई एजेण्डा बनाएर छलफल गरौँला’ भनेका थिए । प्रतिवेदनमाथि उठेको प्रश्न निरुपण नगरी पारित गर्न नमिल्ने भन्दै भुसालले आपत्ति जनाएका थिए ।

अर्का नेता भिम रावलले ‘बैठकमा उठेका धेरै विषय सम्बोधन नै नगरी अघि बढ्ने ?’ भनी ओलीमाथि प्रश्न गरे । उनले यस्तै अवस्थामा प्रतिवेदन पारित भए प्रतिवाद गर्ने र नोटअफ डिसेन्ट लेख्ने चेतावनी दिए ।

अन्य नेता पनि बोल्न अघि सरेपछि दाहालले शुक्रबार बिहान पुन: छलफल गरौ भन्दै बैठक स्थगनको प्रस्ताव राखे । अध्यक्षको प्रतिवेदन सर्वसम्मत रुपमा पारित नहुने अवस्था बनेपछि शुक्रबार पुन: यो विषयमा छलफल हुनेछ ।