जनकपुरधाम – प्रदेश नं. २ मा प्रदेश प्रहरी ऐन, २०७५ प्रमाणीकरण भएको छ । प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले आईतबार प्रदेश प्रहरी ऐन, २०७५ प्रमाणीकरण गरेका हुन्।


ADVERTISEMENT


प्रदेश प्रमुख कायस्थले नेपालको सँविधानको धारा २०१ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरेको उनका प्रेस सल्लाहकार ब्रम्हानन्द ठाकुरले बताएका छन । यस ऐनमा जम्मा १४ परिच्छेद, १०२ वटा दफा र २ वटा अनुसूची रहेका छन् । यस ऐनमा प्रदेश प्रहरीको कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय सम्बन्धी व्यवस्था सँघीय कानुनले निर्धारण गरे बमोजिम हुने व्यवस्था ऐनको दफा ९९ मा उल्लेख गरिएको छ ।


ADVERTISEMENT

# # #


साथै दफा १०० का अनुसार प्रदेश लोक सेवा गठन नभए सम्म प्रदेश लोक सेवा आयोगले गर्ने भनी तोकेका काम, कर्तव्य लोक सेवा आयोगले गर्ने उल्लेख छ । त्यस्तै, दफा ६ को उपदफा १ मा प्रदेश प्रहरीको सँगठन सँरचना र प्रहरी कर्मचारीहरुको सँख्या नेपाल सरकारको सहमतीमा प्रदेश सरकारले तोके बमोजिम हुने व्यवस्था छ ।

प्रदेश प्रहरीको प्रमुखको रुपमा राजपत्राकिंत बिशिष्ट श्रेणीको प्रहरी महानिरिक्षक रहने व्यवस्था छ । त्यस्तै , खुला प्रतियोगिताद्धारा पुर्ति हुने पदहरु मध्येबाट ४५ प्रतिशत पद आरक्षित गरिएको छ । जसमा ४५ प्रतिशतलाई १०० प्रतिशत आधार मानी मधेशी ५४.३६, दलित १७.२९, मुस्लिम ११.५८, आदिवासी जनजाति ६.६१, थारु ५.२७ प्रतिशत र आर्थिक रुपले बिपन्न खस आर्य ४.८९ प्रतिशत छुट्याईएको छ । यसको प्रत्येक समुहमा ५० प्रतिशत महिलाका लागि आरक्षित गरिएको प्रदेश प्रमुख कार्यालयका कानुन अधिकृत प्रकाश चापागाईंले बताएका छन् ।