–अञ्जना अधिकारी


ADVERTISEMENT


विकासशील राष्ट्रको रुपमा परिचित हाम्रो देशले विभिन्न राजनीतिक उताव चढावको सामना र परिवर्तनलाई संस्थागत गर्दै भरखरै नयाँ संविधान र तीन तहको निर्वाचन पश्चात दुईतिहाई बहुमतसहितको स्थायी सरकार प्राप्त गर्न सफल भएको छ । सम्पूर्ण नेपालीहरुले अत्यन्तै धेरै विश्वास गरेको सरकार हामीले पाएका छौँ ।


ADVERTISEMENT

# # #


सरकारका प्रधानमन्त्री यो मुलुकका युगपुरुष, एक राजनेता हुनुहुन्छ । वर्गीय तथा आम शोषित, पीडित जनता र देशको आमूल रुपान्तरणको निमित्त जीवन्त अत्यन्तै धेरै कष्टकर जीवनसहितको अमूल्य राजनीतिक योगदान मुलकका प्रमुख अभिभावक भएर धेरै लामो समयदेखि दिदैँ आउनुभएको छ । वहाँको सपना छः “समृद्ध नेपाल सुखी नेपाली।”

यहि भावनालाई आत्मासात गर्दै आउनुहोस् थोरै चर्चा गरौँ । समृद्ध नेपाल सुखी नेपालीको निमित्त नेपालको कुल जनसंख्याको आधा भन्दा बढी हिस्सा संलग्न गराई योगदानमा आधारित बनाउन नेपालमा महिला उद्यमशीलताको, आवश्यकता र विकासको महत्वको बारे केहि मन्थन गरौँ ।

उद्यमशीलता के हो ?

राजनीतिक, सामाजिक क्षेत्रमा आएको रुपान्तरण चेतनाको विकाससगैँ अबको यो एकाईसौँ शताब्दीको युगको विश्व परिवेशमा नेपाली समाजलाई उच्च सम्मानका साथ चिनाउन आफ्नो देशभर समानता, सहभागितासहितको शसक्त आत्मनिर्भर समाजको विकास गर्न, गलत रितिरिवाज, संस्कार, परम्परा, वस्तुगत अवस्थासँग डटेर सामना गरी आत्मारक्षा, आफ्नो अधिकार, राष्ट्रप्रतिको पूर्ण जिम्मेवारीलाई निर्वाह गर्न अब ढिलो नगरी महिला उद्यमशीलतालाई प्रशस्त मात्रामा राष्ट्र विकासको एउटा महत्वपूर्ण मेरुदण्डका रुपमा यसलाई संस्थागत विकास गर्नु जरुरी छ ।

उद्यमशीलता आत्माविश्वास, निडरताको एउटा गतिलो प्रमाण हो । उद्यमशीलताको क्षेत्रमा नेपाली महिलाहरुलाई जति धेरै अगाडि बढाउन सक्यो, त्यति नै महिलाहरुप्रतिको शोषण, दमन, सामाजिक अपहेलना हिंसाका घटनाहरु कम हुँदै जान्छ, किनकि महिलाहरुमा प्रतिरक्षात्मक क्षमतामा अभिवृद्धि हुदैँ जान्छ । आर्थिक सबलताको कारणमा घर–परिवार, समाजमा महिलाहरुप्रति हेर्ने दृष्टिकोणमा सकारात्मक सोचको विकास हुँदै जान्छ । जसले गर्दा सभ्य, शिक्षित, संस्कारी समाज निर्माणमा एउटा–एउटा ईट्टा थपिदै जान्छ । हाम्रो समाज पितृसत्तात्मक समाज रहेको हुँदा सम्पूर्ण क्षेत्रमा खुल्ला रुपमा महिलाहरुले अवसर पाउन केहि कम स्थिति भएता पनि अहिले हाम्रो देशमा आएको राजनीतिक परिवर्तन त्यसले बढाएको सकारात्मक चेतनाका कारण महिलाहरु प्रतिको असामाजिक विभेद धेरै मात्रामा कम हुँदै आएको छ ।

राजनीतिक रुपमा खुलेर महिलाहरु आफूलाई अगाडि प्रस्तुत गर्न सक्ने हुनु भएको छ । यो परिवर्तनको एउटा उपलब्धि हो । यद्यपी हामी विकासोन्मुख देशका जनता हौ । गर्न बाँकी कुरा धेरै छ । त्यसकारण अब पालो महिला उद्यमशीलता विकासको हो । हामीलाई थाहा छ, करिब एक दशक अघिसम्म नेपाली महिलाहरुलाई बाहिरी कार्यस्थलमा आफ्नो क्षमता प्रस्तुत गर्न त्यति सजिलो थिएन । कारण हाम्रो रीति–रिवाज, संस्कार–संस्कृति तथा महिलाका लागि दोहोरो जिम्मेवारी । तर, आजभोलि वा भनौँ केहि समय यता हरेक क्षेत्रमा महिलाको उपस्थितिक बाक्लिँदै गएको छ । अब राज्यले यो कुरालाई मनन गर्दै महिलाको श्रमलाईपनि राष्ट्र निर्माणमा समर्पण गराउन सक्नुपर्छ । उद्यमशीलताले महिलाहरुमा स्वावलम्बी, आत्मानिर्भर, आफुमा निर्णय क्षमता अभिवृद्धि, प्रतिस्पर्धात्मक, समयसँगै चल्न सिकाउँछ । जुन अहिलेको नेपाल सरकारको चाहना पनि हो । अब नेपालमा महिला उद्यमशीलताका क्षेत्रहरु साना तथा घरेलु उद्योग, ठूला उद्योग, व्यवसाय, पर्यटन, प्राविधिक क्षेत्र अरु के–के हुन सक्छन्, तिनीहरुको पहिचान र संस्थागत प्रवद्र्धन हुनु जरुरी छ ।

सूचना प्रविधिको बढ्दो विकास, सामाजिक सञ्चार माध्यमको बढ्दो विश्वव्यापीकरणको कारणले गर्दा देश–विदेश गएर शिक्षा, ज्ञान, सीप प्रविधिको अध्ययन गर्नुपर्छ भन्ने चेतना स्तरमा आएको परिवर्तनको कारणले पनि अहिले सहरी क्षेत्रमा धेरै युवा महिलाहरुमा विदेशमा सिकेको कुरा आफ्नो देशमा लागु गर्नुपर्छ भन्ने मान्यताको विकास हुँदै गएको छ । जसको कारण पनि नेपाली बजारमा व्यवसायिक महिलाहरुको सक्रियता बढ्दै गएको छ । चाहे जागिर होस्, स्वव्यवसाय वा सहकार्यमा हरेक आर्थिक स्वावलम्बनका कुरामा महिलाहरुको सक्रियातामा बढोत्तरी हुनु राष्ट्र निर्माणमा एउटा बलियो जग बन्नु हो । हाम्रो जस्तो विकासउन्मुख मुलुकमा एउटा घरमा एउटी महिला, स्वरोजगार वा उद्यमशील हुन त्यसले धेरै कुरामा महत्वपूर्ण अर्थ राख्दछ । महिलाहरुको आर्थिक आत्मनिर्भरता, सशक्तिकरणको कारणले समाज उन्नतरुपमा विकास हुँदै जान्छ । “विश्वव्यापी मान्यता अनुसार पनि महिला हरेक कोणबाट सशक्त हुनु अर्थले सबैभन्दा महत्वपूर्ण भूमिका खेल्छ भन्ने तथ्याङ्क रहेको छ ।”

महिलाहरु तुलनात्मक रुपमा स्वभावैले इमान्दार लगनशील, अलि धेरै धैर्य हुन्छन् । यो धारणा हामी पनि राख्दछौँ, देखिदै पनि आएको छ । राजनीतिक, व्यापार, शिक्षा, खेलकुद, साहित्य, सेना–प्रहरी, पाईलट, वकिल, पत्रकारीता, स्वउद्यम आदि जस्ता क्षेत्रमा महिलाहरुको सफलताको परिणम सन्तोषजनक देखिन थालेको छ । यसको मतलब हामी भन्न सक्छौ राष्ट्र निर्माणको एउटा महत्वपूर्ण मेरुदण्ड महिला उद्यमशीलतालाई स्थानीय निकायदेखि नै संस्थागत रुपमा विकास गरेर लैजान सक्नुपर्छ । हरेक महिलाहरु कामकाजी आर्थिक श्रममा प्रत्यक्ष रुपमा जोडिनु आजको देशको प्रमुख आवश्यकता हो ।

हाम्रो परम्परागत मूल्य मान्यता, सामाजिक कुसंस्कार, पूरातनवादी सोचका कारण क्षमता हुँदाहुँदैपनि कयौँ महिलाहरु घरको चुलोचौकोमा मात्रै सीमित भएका छन् । विभिन्न कारणले खुलेर बाहिर निस्कन नसकेका उनीहरु वास्तवमा उर्जाशील छन्, युवा उमेरका छन्, देशको एउटा ठूलो श्रमशक्ति हुन् र केही गरौँ भन्ने सोच भएका छन् । ती सम्पूर्ण महिलाहरुलाई यो मुलुक बनाउने ऐतिहासीक कालखण्डमा बेरोजगार, श्रमहीन डम्पीङ साइड हुन नदिई मुलुकको समृद्धिको निमित्त हरेक स्थानीय निकायमा अनिवार्य तीव्र थालनीका साथ, साना तथा घरेलु महिला मैत्री औद्योगिक क्षेत्र विकास गर्दै जानु अनिवार्य छ । जुन अहिलेको सरकारको एउटा महत्वपूर्ण योजना पनि हो । त्यसमा आम नेपाली महिलाहरुलाई संलग्न गराउनु अत्यन्त जरुरी छ । ग्रास तथा वर्गीय रुपमा रहेका महिला जो घरेलु हिंसाबाट पिडित भएर आवजविहीन अवस्थामा रहेका छन् । उनीहरुलाई त्यो टिठलाग्दो अवस्थाबाट माथि उठाई, अग्रसरता, पहलकदमी, हिंसाविरुद्धको आत्मबल बढाउँदै शिक्षित, हिंसा रहित समाज निर्माण गर्न घर पाएक लघु उद्यमशीलता विकास गर्नु, थोरै लगानीमा पनि आर्थिक सुदृढिकरणको बाटो देखाउनु जरुरी छ ।

हरेक महिलाहरु उद्यमशीलतामा जोडिनु पर्छ भन्ने चेतना विस्तारको निमित्त राज्यस्तरबाट नै महिला उद्याशीलताको विषयमा देशव्यापी सचेतना कार्यक्रम लैजान सक्नुपर्छ । मेचि–महाकाली ७७ वटै जिल्लामा स्थानिय निकायलाई प्रयोग गरी संस्थागत दिगो आर्थिक उन्नतीको लक्ष्य सहित उद्यमशीलता, लघु उद्यमशीलता, सीपमुलक उद्यमशीलता, प्राविधिक उद्यमशीलताको, घरेलु उद्यमशीलता, कृषि उद्यमशीलता, व्यवसायिक उद्यमशीलताको विस्तार हुँदै जानुपर्छ जसको व्यवस्थापनको लागि नीतिगत स्थायी योजना बनाउनु अनिवार्य छ ।

आजको युगका महिलाहरुमा आफैमा पनि अग्रसरता पहलकदमी जिम्मेवारी बोधको भावना आउनु जरुरी देखिन्छ । यदि अब्बल दर्जामा आफू आउने हो भने प्रतिस्पर्धामा उत्रिन सक्ने भावना राख्न सक्नुपर्छ । मेरो लागि म अफैँ लड्नुपर्छ, साहसी हिम्मतसहित अगाडी बढ्नु पर्छ । के काम कस्तो हो ? कुन काम कसरी गर्ने ? आफूलाई कसरी आर्थिक रुपमा स्वावलम्बन बनाउने, परनिर्भरताबाट कसरी माथि उठ्ने, जिविकोपार्जन कसरी गर्ने ? साथै आम नेतृत्वमा आफ्नो समान सहभागिता, पारिवारिक निर्णयमा उपस्थिति, समाज सिङ्गो राज्य तहको निर्णयमा हस्तक्षेपकारी भूमिका सिर्जना गर्ने विषय वस्तुहरुको खोज, अनुसन्धान, अध्ययन स्वयम् महिला आफैले पनि गर्न सक्नुपर्छ । त्यसैगरी सरोकारवाला निकाय जो महिला र महिला उद्यमशीलताका क्षेत्रमा काम गर्छौ भन्छन्, उनीहरुको पनि कडा मेहेनत, नीतिगत प्रष्टतामा सुझाव दिन सक्ने क्षमता परिणामत उनीहरुको काममा पनि महिला सापेक्षता देखिनु जरुरी छ । किनकि महिला उद्यमशीलता आजको हाम्रो मुलुकको अर्थतन्त्र विकासको मुल मन्त्रको रुपमा स्थापित गर्न गराउन सक्ने प्रचुर सम्भावना बोकेको क्षेत्र हो ।

महिला उद्यमशीलताको क्षेत्रबाट मुलुकको आर्थिक–सामाजिक विकासमा कसरी टेवा पुग्छ, देशको अर्थतन्त्र कति बलियो हुन्छ भन्ने उदाहरण हामी विश्वका धेरै विकसित राष्ट्रहरुबाट हेर्न सक्छौँ । दक्षिण कोरिया, इजरायल, अफ्रिका, जापान जस्ता देशहरु साथसाथै एसियन महाद्वीप भित्र रहेका देशहरु जस्तैः– श्रिलङ्काको महिला उद्यमशीलताको तीव्र विकासको अवस्था त्यसबाट मुलुकले प्राप्त गरिरहेको आर्थिक समृद्धिको विषयलाई हामी एउटा राम्रो उदाहरण अध्ययन, अनुसन्धानको विषय बनाउन सक्छौ । त्यसैगरी भुटान जस्तो सानो मुलुकमा आज महिला उद्यमशीलताको प्रयोग कति सुन्दर तरिकाबाट हुँदै गईरहेको छ बंगलादेश, भारत कै पनि धेरै प्रान्तहरुमा महिला उद्यमशीलताको क्षेत्रबाट आर्थिक रुपमा ती ठाउँहरुको तीव्र विकास हामी हेर्न सक्छौँ ।

यी विश्वव्यापी उदाहरणहरुबाट पनि केहि अनुभूति लिई “सुखी नेपाली समृद्ध नेपाल” निर्माणको निमित्त मुलुकको एउटा महत्वपूर्ण अर्थतन्त्र विकासको क्षेत्रमा नेपाली उद्योगलाई सबैभन्दा बढी प्राथमिकतामा राख्दै यस अन्तर्गत अर्थतन्त्र विकासको राम्रो सम्भावना बोकेको जलविद्युत, निर्माण र पर्यटनलाई उद्यमशीलताको रुपमा विकास गर्दै त्यसमा नेपाली महिलाहरुको महत्वपूर्ण अस्तित्वसहितको प्रवेश हुनु जरुरी छ । बैँकिङ वित्तीय र सहकारी क्षेत्रबाट पनि महिला उद्यममा लगानी गर्दा असहज अथवा असुरक्षित महशुस गर्ने अवस्थालाई निराकरण गराउँदै महिलालाई पनि खुलेर लगानी गर्न सक्ने दृष्टिकोण सहितको वातावरण सिर्जना गर्नु, गराउनु पर्छ । महिलाले सुरु गरेका ठूला उद्यम या योजनाहरुमा लगानी गर्न डराउने सामाजिक सोचमा पनि विकास र रुपान्तरण हुनु जरुरी छ । किनकि यो देश पुरुषको मात्र जिम्मेवारी हैन, महिलाको पनि हो । दुबैको सक्रीय सहभागिताबाट मात्र देश बन्न सक्छ । महिला–पुरुष एक सिक्काका दुई पाटा हुन् भन्ने कुराको हेक्का यो समाज, सामाजिक परिवेशलाई थाहा हुनु अनिवार्य छ । नेपालको तथ्याङ्कले पनि हामीलाई यो बताउँछ ।

राष्ट्रको एउटा प्रमुख अङ्ग जो पूर्ण रुपमा घर भित्र सीमित छ । उनीहरुबाट जुन राज्यले श्रम योगदान प्राप्त गर्नुपर्ने हो, त्यो महिला भएकै नाममा मात्र प्रयोगमा आउन सकेको छैन् । केहि फुटकर साना, घरेलु र एकल प्रयासका उद्योगमा मात्र सीमित छन् । त्यो जनशक्तिलाई मासमा वा भोलुममा प्रयोगमा ल्याउनु समृद्धितर्फको हाम्रो यात्राको प्रमुख आवश्यकता हो । यद्यपी हामी एउटा उज्यालो आशा, भरोसासहित यो भन्ने ठाउँमा पुगिरहेका छौँ । अहिलेको नेकपा नेतृत्व के.पी. ओली सरकारले तुलनात्मक रुपमा महिला उद्यमशीलताको क्षेत्रलाई महत्वका साथ उत्साहजनक पहलकदमी लिई रहेको छ । जुन सकारात्मक आसलाग्दो छ । जस्तैः–

१) महिलाले सञ्चालन गरेको उद्योगलाई प्रोत्साहन गर्न सुलभ व्याजमा ऋण उपलब्ध गराउने नीति सरकारले लिएको छ ।

२) महिला उद्यमीको विकास प्रवद्र्धनका लागि प्राविधिक तालिम, सीपमुलक, विषयगत तालिम प्रशिक्षणलाई राज्य स्तरबाट नै तीब्रता दिदैँ विभिन्न क्षेत्रमा सहयोग गर्ने नीति सरकारको रहेको महशुस हुन थालेको छ ।

३) महिला उद्यमशीलताको विकास, प्रवद्र्धन संरक्षण गर्दै सरकारको नीति अनुरुप हरेक स्थानीय निकायमा महिला प्राथमिकताका साथ साना तथा घरेलु महिला औद्योगिक क्षेत्र निर्माणको योजनालाई दीर्घकालीन महत्वका साथ राष्ट्रिय योजना तथा कार्यक्रममा नै अगाडि बढाइएको छ ।

४) महिला उद्यमशीलता विकासका लागि छुट्टै महिला उद्यमशीलता कोष खडा गर्ने तथा सरकारको उद्घोषक अनुसार महिला उद्यमशीलता विकास, साक्षरता, ज्ञानमूलक तालिमका लागि नेपाल सरकार सधैँ सहयोगी भूमिकामा रहने ।

५) उद्योग स्थापना गर्दा दिइने भेन्चर पूँजीमा महिलाहरुलाई प्राथमिकता दिइने ।

६) घरेलु तथा साना स्तरमा महिला उद्यमीहरुलाई सरल तथा सुलभ तरिकाबाट ऋण प्रवाह गर्ने विभिन्न बैङकिङ तथा सहकारी संस्थाहरुमा समूह ऋणको व्यवस्था गरिने ।

७) कुनै पनि उद्योग, व्यवसाय सम्बन्धी नीति निर्माण गर्ने तहमा सम्बन्धित औद्योगिक व्यवसायमा संलग्न आदिवासी, जनजाति, दलित, मधेसी, सिमान्तकृत वर्गका महिलाहरुको प्रतिनिधित्व अनिवार्य गरिने भएको छ ।

८) महिला उद्यमशीलतालाई सात लाख कर्जा दिने ।

नेकपा नेतृत्व सरकारले महिला उद्यमशीलताको क्षेत्रलाई उच्च प्राथमिकताका साथ अगाडी बढाउन खोजेको देखिन्छ । साथसाथै सरकारको यो प्रयत्नमा हामी सम्पूर्ण नेपाली नागरिक, बुद्धिजिवी, सरोकारवाला निकायहरुले देश बनाउने जिम्मेवारी सरकारको मात्र हो भन्दै नेतृत्वलाई गाली गरेर, दोष थुपारेर आफू पन्छिएर होइन, विकास समृद्धिको सपना बोकेका दृढ संकल्पित र अठोट सहितको ईच्छाशक्ति भएका सरकारको मूल नेतृत्वलाई होस्टेमा हैसे गर्नु आजकोआवश्यकता हो ।

यस उद्यमशीलताको क्षेत्रमा विश्वबजार, विश्व समाजमा हेर्दा जुन पनि राष्ट्र विकासको उच्चतम बिन्दुमा पुगेको छ, त्यो मुलुक महिला उद्यमशीलतामा धेरै तीव्र रुपमा अगाडि बढेको छ । हाम्रो देशको कुल जनसंख्याको आधा भन्दा बढी हिस्सा ओगटेको महिला क्षेत्रमा जबसम्म नयाँ आयाम थप्दै एक–एक महिलाहरुलाई व्यवस्थित रुपमा आर्थिक उर्पाजनमा जोडाउन सकिँदैन, तबसम्म हामीले सोचेको मुलुकको पूर्ण सफलता सम्भव हुन्न भन्ने बुझ्नस आवश्यक छ । त्यस कारण यस क्षेत्रको उच्चतम् विकासको निमित्त नेपाल सरकारप्रति सकारात्मक सोच राखी “समृद्ध नेपाल र सुखी नेपाली” बनाउने अभियानमा हरेक एक नेपालीहरु निसर्त रुपमा जोडिनु पर्ने आजको राष्ट्रको मूल मन्त्र हो ।

“हामी आशावादी छौ,
सरकार जनताको हो
देश अवश्य बन्ने छ ।
साथ युवाको, सम्पूर्ण नेपालीको छ ।”

(लेखक युवासंघ नेपाल केन्द्रीय सचिव तथा महिला विभाग प्रमुख हुन् ।)