काठमाडौं– नेपाल वायुसेवा निगमको दुईवटा वाइडबडी विमान खरिदबारे अध्ययन गर्न गठित संसदीय छानबिन उपसमितिका सदस्य प्रदीप यादवले विमान खरिदमा ठूलो घोटाला भएको भन्दै बहालवाला मन्त्री, सचिव र महाप्रबन्धकलाई तत्काल बर्खास्त गरी जेल हाल्नुपर्ने बताएका छन् ।


ADVERTISEMENT


बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै सांसद यादवले आफूहरुले १५ दिन लगाएर वाईडबडी खरिद प्रकरणको सत्यतथ्य बाहिर ल्याएको दाबी गरे । उनले भने, ‘ठूलो मास्टर प्लान बनाएर वाईडबडी खरिदमा घोटाला भएको छ । खरिद गर्दा सार्वजनिक खरिद ऐनपपनि मानेको छैन् ।’ उनले जहाज ‘ग्लोबल टेण्डर’ नगरीकन किनिएकोपनि आरोप लगाए ।


ADVERTISEMENT

# # #


उनले जहाज खरिदको नाममा युनियनका नेतासमेत गरि ३८ जना भोजभतेर खानको लागि भ्रमणमा गएको दाबी गरे । जहाज खरिदको ओरिजिनल बिल महाप्रबन्धक सुगतरत्न कंशकार र मन्त्री रवीन्द्र अधिकारीले सार्वजनिक गर्नुपर्ने यादवले बताए ।

यादवले तत्काल महाप्रबन्धक कंशकारलाई निलम्बन गर्नुपर्ने बताए । उनले भने, ‘यो प्रकरणका भ्रष्टाचारीहरुलाई हतकडी लगाउनुपर्छ । पर्दा पछाडि नायकहरुपनि होलान् । ती सबैलाई पर्दाफास गर्नुपर्छ ।’ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले वाईडबडी खरिद प्रकरणमा भ्रष्टाचार गर्ने सबैलाई कारबाही गर्नुपर्ने बताए ।

नेता भण्डारीले सानालाई कारबाही र ठूलालाई छोड्ने काम भएको भन्दै अब त्यस्तो गर्न नहुने बताए । नेपालमा भ्रष्टाचार गरेर कमाउने र विदेशमा लगेर राख्ने गरेको सुनाउँदै उनले भने, ‘नेपालको ईतिहासमा पहिलो चोटी वीरशमशेरले ४० करोड भारु विदेशमा लगेर राखेका थिए । अहिले नेपाल कमाउने र बाहिर विदेशमा लगेर राख्ने थलो भएको छ । जुन कुरा यहाँको जनताको जीवनस्तर हेरेर थाहा हुन्छ ।’

नेपालमा पछिल्लो समय भ्रष्टाचार र कमिशनतन्त्र बढेको सुनाउँदै जसले गलत गर्छ उसलाई कारबाही गर्नुपर्छ भनेर आफूहरुले भनिरहेको पनि जिकिर गरे । प्रधानमन्त्री केपी शर्मा ओलीले हत्यारापनि बालुवाटारमै छन् र यी भ्रष्टहरुपनि मेरै हुन र यी बालुवाटारमै छन् भनेजसरी बोलिरहेको उनले टिप्पणी गरे । अख्तियार वा अदालतले भ्रष्टाचार गर्नेलाई उन्मुक्ति दिन्छ भने भोलिको सन्ततीले कानुन परिवर्तन गरेर भएपनि राज्यको सम्पत्ति फिर्ता गर्ने र कारबाही गरेरै छोड्ने पनि भण्डारीले उद्धघोष गरे ।

नेकपाका सांसद एवम् संसदको सार्वजनिक लेखा समितिका सदस्य अमनलाल मोदीले वाईडबडी खरिद प्रकरणमा लेखा समितिले भ्रष्टाचार गरेको ठहर गरे जोसुकै भएपनि कारबाहीको भागिदार हुने स्पष्ट पारे ।

उनले भने, ‘वाइडबडी विमान खरिदबारे अध्ययन गर्न गठित संसदीय छानबिन उपसमितिको प्रतिवेदनबारे भोलि लेखा समितिमा छलफल हुन्छ । समितिले भोलि छलफल गरेर निश्कर्ष निकाल्छ । यो प्रतिवेदनमा तथ्य पुगेन भने फेरिपनि नयाँ विषयवस्तुहरुको थालनी हुन्छ । भ्रष्टाचार भएको ठहर भए हामी सम्बन्धित निकायलाई कारबाहीको लागि सिफारिश गर्छौं ।’

लेखा समितिले कारबाहीको लागि सिफारिश गर्दापनि कारबाही भएन भने कारबाही नगर्नेहरुलाई जनताले कारबाही गर्ने उनको भनाई छ ।