काठमाडौं– राष्ट्रिय जनता पार्टी (राजपा)ले टीकापुर घटनाका मुख्‍य अभियुक्त मानिएका रेशम चौधरीले प्रतिनिधिसभा सांसदको रुपमा लिएको शपथलाई सुरुवात मात्र भएको बताएको छ । कैलाली क्षेत्र नं. १ बाट निर्वाचित राजपाका नेता चौधरीलाई सरकारले शपथ दिलाउनु सकारात्मक भएपनि माग पूरा भइनसकेको जनाएको हो ।


ADVERTISEMENT


राजपाका सहमहामन्त्री डा. सुरेन्द्र झाले हिमालय पोष्टसंग कुराकानी गर्दै सरकारले एक वर्षपछि भएपनि निर्वाचित भएको प्रमाणपत्र दिएर जनताको मतलाई सम्मान व्यक्त गरेको बताए । उनले भने, ‘सरकारले ढिलै भए पनि जनमतको सम्मान गरेको छ । तर, हाम्रो माग उहाँको रिहाई हुनुपर्छ भन्ने हो । त्यस कारण माननीय रेशम चौधरीको रिहाई नहुञ्जेलसम्म सरकारलाई विश्वास गर्न सकिन्नँ’


ADVERTISEMENT

# # #


उनले चौधरीको शपथ लगत्तै पुनः कारागार लिनु दुःखद रहेको भन्दै रिहाईका लागि अदालतले छिट्टै कार्य थाल्ने विश्वास व्यक्त गरे । उनले राजपाका अन्य मागहरुका लागि पनि सरकार तथा प्रधानमन्त्रीसंग छलफल गर्ने बताए ।

थरुहट आन्दोलनका क्रममा २०७२ भदौ ७ गते कैलालीको टिकापुरमा कयौँको ज्यान जाने गरी भएको हिंसात्मक घटनाका मुख्य आरोपी भनिएका चौधरी डिल्लीबजार कारागारमा सजाय काटिरहेका छन् । फरार अवस्थामै चुनाव लडेर जितेका उनले चुनावमा विजयी भएको प्रमाणपत्र लिन पाउनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा दिएको निवेदन खारेज भएपछि आत्मसमर्पण गरेका थिए ।

चौधरीलाई बिहीबार सभामुख महराले सिंहदरबारस्थित आफ्नो कार्य कक्षमा शपथ खुवाउँदै निर्वाचित भएको प्रमाणपत्र दिएको थिए । तर, उनीमाथि मुद्दा चलेकाले शपथपछि पुनः कारागार लिएको छ । चौधरी अब निलम्बित संसदको रूपमा जेलमै रहनेछन् ।