काठमाडौं । नेपालकै पहिलो सडक सुरुङमार्ग निर्माण गर्न ६ कम्पनीले इच्छा देखाएका छन् । चीनका पाँच र जापानको एक कम्पनीले नागढुंगा सुरुङमार्ग निर्माणमा इच्छा देखाएका हुन् ।


ADVERTISEMENT


सुरुङमार्ग बनाउने कम्पनी छान्न सडक विभागअन्तर्गतको वैदेशिक सहायता कार्यान्वयन महाशाखाले साउन २४ गते ६० दिने सार्वजनिक सूचना जारी गरेको थियो । माग गरिएको बोलपत्र १५ नेपाली सहित ४२ कम्पनीले खरिद गरेका थिए ।


ADVERTISEMENT

# # #


‘बोलपत्र खरिद गर्ने कम्पनीको चाप हेर्दा सुरुङमार्ग निर्माणमा धेरै प्रतिस्पर्धा हुने अनुमान गरिएको थियो । तर अन्तिममा जम्मा ६ कम्पनीले मात्र प्रस्ताव आयो’ महाशाखाका इन्जिनियर छविलाल पौडेलले भने, ‘यी मध्ये प्राविधिक रुपमा अब्बल देखिएको कम्पनीले सुरुङमार्ग निर्माणको जिम्मा पाउँछ ।’

न्यूनतम रकम कबुल गर्ने कम्पनीले निर्माणको ठेक्का पाउनेछ । ठेक्का पाउने कम्पनीले ४२ महिनामा सुरुङमार्ग र आवश्यक पूर्वाधार निर्माण गर्नुपर्ने हुन्छ ।

यो सुरुङमार्ग निर्माण गर्न २२ अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । यसका लागि जापानी सहयोग नियोग (जाइका)ले आर्थिक सहयोग उपलब्ध गराएको छ । नेपाल सरकारसँग यसअघि भएको सहमतिअनुसार जाइकाले सुरुङ मार्ग बनाउन १६ अर्ब ६३ करोड ६० लाख जापानी येन (१६ अर्ब ४६ करोड ९६ लाख रुपैयाँ) सहुलियत ऋण उपलब्ध गराएको छ ।

जापानले आगामी ४० वर्षका लागि ०.१ प्रतिशत सहुलियत ब्याजदरमा ऋण दिएको हो । सोही ऋण रकमलाई सरकारले सुरुङमार्गमा खर्च गर्ने गरी प्रक्रिया अगाडि बढाएको हो । अपुग ६ अर्ब रुपैयाँ सरकारले व्यहोर्नेछ । उक्त रकम मुआब्जा वितरण र निर्माण क्षेत्रमा खटिने कर्मचारीको तलब भत्तामा प्रयोग हुनेछ ।