काठमाडौं । भारतीय फुटबलमा ‘गोल मेसिन’ का नामले परिचित सुनिल क्षेत्रीको दुई गोलको सहयोगमा भारतले थाइल्याण्डलाई ४–१ ले हराउँदै एसिया कपमा विजयी सुरुवात गरेको छ ।


ADVERTISEMENT


भारतले सन् १९६४ पछि पहिलो पटक एसिया कप फुटबलमा जित हात पारेको हो ।


ADVERTISEMENT

# # #


आफ्नो दोस्रो एसिया कप तथा समग्रमा १०५ औँ खेल खेलेका क्षत्रीले पहिलो गोल २७औँ मिनेटमा पेनाल्टीमार्फत गरेका हुन् । त्यस्तै खेलको ४६औँ मिनेटमा भारतीय कप्तान सुनिल क्षत्रीले दोस्रो गोल गरे । यी गोल उनका क्रमशः ६६औँ र ६७औँ अन्तर्राष्ट्रिय गोल थिए ।

मिडफिल्डर अनिरुद्ध थापाको ठाउँमा सब्स्टिच्यूट खेलाडीका रुपमा मैदान प्रवेश गरेका जेजे लालपेखलुआले ६८औँ र ८०औँ मिनेटमा भारतका लागि तेस्रो र चौथो गोल गरे । यूएईको अबुधाबीमा रहेको अल नाहयान रंगशालामा भएको खेलमा भारतसामू थाइल्याण्ड निरीह बन्यो । थाइल्याण्डका लागि कप्तान टीरासिल डांग्डाले ३३औँ मिनेटमा एक गोल गरेका थिए ।

भारतीय टिमको हौसला बढाउन रंगशालमा ठूलो संख्यामा भारतीय प्रशंसक उपस्थित थिए । आइतबार राति भएको खेलमा दुई गोल गरेका ३४ वर्षीय सुनिल क्षत्रीले अर्जेन्टिनी स्टार लियोनल मेस्सीको रेकर्डसमेत तोड्न सफल भएका छन् । मेस्सीले १२८ अन्तर्राष्ट्रिय खेलमा ६५ गोल गरेका छन् । पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो भने १५४ खेलमा ८५ गोल गर्दै राष्ट्रिय टिमबाट सबैभन्दा बढी गोल गर्ने खेलाडीको सूचीको पहिलो नम्बरमा छन् ।

भारतीय टोलीमा सुनिल क्षत्री मात्रै पछिल्लो संस्करणको एसिया कपमा खेलेका खेलाडी हुन् । एसिया कपमा भारतको सहभागिता यो चौथो पटक हो । सन् १९६४ मा इजरायलमा भएको एसिया कपमा भारतले दुईवटा खेल जितेको थियो भने एउटामा हार व्यहोरेको थियो ।

सन् १९६४ को एसिया कप फुटबलमा इजरायल विजेता बनेको थियो भने भारत उपविजेता । त्यसपछि १९८४ मा भएको एसिया कपमा भारतले समूह चरणका तीनवटै खेलमा पराजय भोग्यो । सन् २०११ को एसिया कपमा पनि १९८४ कै नतिजा दोहोरियो । तर २०१९ को एसिया कप फुटबलमा भने भारतले राम्रो सुरुवात गरेको छ ।

भारतले अब समूूह चरणमा बहराइन र यूएईसँग खेल्नेछ । बहराइन र यूएईले बराबरी खेलेकाले अर्को चरणमा पुग्न भारतलाई एउटा टिमसँगको बराबरी मात्रै पनि काफी हुनेछ ।