काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का राष्ट्रिय सभाका प्रमुख सचेतक खिमलाल भट्टराईले सरकार पूर्ण रुपमा विकास र समृद्धिमा केन्द्रित रहेको बताएका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले वर्तमान सरकारले ‘गियर–चेन्ज’ गरेको पनि दाबी गरेका हुन् ।


ADVERTISEMENT


उनले भने, ‘प्रधानमन्त्री केपी शर्मा ओलीले भनेजस्तो समृद्ध नेपाल र सुखी नेपाली नारालाई पूरा गर्नको लागि सरकार विकास निर्माणका काममा केन्द्रित भएर लागिपरिरहेको छ ।’ उनले सरकारले राम्रो काम गरिरहेको बेला प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारविरुद्ध भ्रम सिर्जना गर्ने काम गरिरहेको पनि गुनासो पोखे ।


ADVERTISEMENT

# # #


सरकारले विकास निर्माणका कामहरु द्रुत गतिमा अघि बढाईरहेको जिकिर गर्दै उनले अन्तर्राष्ट्रिय सम्बन्धहरु पनि सुमधुर बनाउन पनि सरकार लागि परेको उल्लेख गरे । यस्तै उनले नेपाली कांग्रेसले बुधबार संसद नरोक्ने विश्वास व्यक्त गरे । उनले भने, ‘सदन सुचारु हुन्छ । सदन समस्याको समाधान गरेर अघि बढ्छ ।’

यता प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस प्रतिनिधि सभाकी सचेतक पुष्पा भुषालले भने सरकारले आफूहरुसँग सहकार्य गर्न नचाहेको आरोप लगाइन् । उनले प्रधानमन्त्रीले सार्वजनिक महत्वको प्रस्ताव राख्दा सांसदहरुले पनि प्रश्न गर्न पाउने व्यवस्था नियामावलीमा रहेको भन्दै प्रधानमन्त्रीले संसदमा जवाफ नदिईकन भाग्न नपाउने बताईन् ।

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका प्रमुख सचेतक लक्ष्मणलाल कर्णले आईतबार संसदमा भएको घट्नालाई दुर्भाग्यको संज्ञा दिए । उनले सभामुखले भोलि बीचको बाटो तय गरेर सदन सुचारु गर्नुपर्ने धारणा राखे ।