श्याम ठाकुर, सिरहा– नेपाल सरकारका उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले प्रदेश २ लाई स्वास्थ्यको हब बनाउने बताएका छन् । सिरहाको मिर्चैयामा ६ करोड बढी लागतमा निर्माण भएको प्राथमिक स्वास्थ्य केन्द्रको नयाँ भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री यादवले यस्तो बताएका हुन् ।


ADVERTISEMENT


उनले अन्य प्रदेशको तुलनामा सबैभन्दा बढी स्वास्थ्यकर्मी उत्पादन गर्ने प्रदेश २ नै रहेपनि चिकित्सकले यस प्रदेशमा रहेर काम गर्न नचाहनुका कारण स्वास्थ्य क्षेत्रमा पछिड्एको बताउँदै प्रदेश २ लाई स्वास्थ्यको दृष्टिकोणले हबको रुपमा विकास गर्ने लक्ष्य रहेको बताए । प्रदेश २ स्थास्थ्य मात्र नभई शिक्षामासमेत पछि परेको भन्दै विकास गर्नका लागि राज्यद्धारा लगानीको आवश्यकता रहेको औल्याए । उनले त्यसका लागि सरकार आफ्नो नीति तहत अगाडी बढिरहेको समेत जानकारी गराए ।


ADVERTISEMENT

# # #


मुलुकभरै स्वास्थ्य क्षेत्रका समस्या अन्त्यका लागि सरकार लागिपरेको बताउँदै देशका हरेक नगरपालिका र गाउँपालिकाका वडामा स्वास्थ्यचौकी स्थापना गर्ने मन्त्रालयको लक्ष्य रहेको जनाए । उनले मुलुकभरैका सबै वडाहरुमा चाँडै नै स्वास्थ्यचौकी स्थापना गर्न लागेको बताए । सो अवसरमा उनले अस्पतालका लागि सिरहाबाट मन्त्रालयमा परेको सबै निवेदन स्वीकृत गरेको समेत खुलाए । प्रदेश २ को अन्य जिल्लाका तुलनामा सिरहा स्वास्थ्य क्षेत्रमा पछि परेको भन्दै सिरहालाई विशेष प्राथमिकतामा राखेको बताए ।

त्यसैगरी, नेपाल सरकारका सहरी विकासमन्त्री ईस्तियाक राईनले प्रदेश २ लगायत पछाडी परेका सबै ठाउँको मुहार फेर्न हरेक तवरबाट सरकार लागिपरेको स्पष्ट पारे ।

मिर्चैया नगरपालिका वडा नम्बर ७ मा उद्घाटन गरिएको प्राथमिक स्वास्थ्य केन्द्रको नयाँ भवन ६ करोड १७ लाख रुपैयाँको लागतमा बनेको अस्पतालले जनाएको छ । दिवा निर्माण सेवा कम्पनीले निर्माण गरेको यो भवन भुकम्प प्रतिरोधात्मक रहेको बताइएको छ ।