बर्दिवास – प्रजातान्त्रिक आन्दोलनका योद्धा धनुषा जिल्लाको मिथिला नगरपालिका–८ लालगढका विष्णुप्रसाद गजुरेलको ८७ वर्षको उमेरमा निधन भएको छ ।


ADVERTISEMENT


महोत्तरीको बर्दिवास र धनुषाको मिथिला नगरपालिका क्षेत्रका सामाजिक काममा सक्रिय नेतृत्व दिँदै आएका गजुरेलको शनिबार साँझ आफ्नै निवासमा निधन भएको हो ।  स्व गजुरेलको आज बिहान महोत्तरी र धनुषा जिल्लाको सीमा नदी रातु नदी किनारमा दाह संस्कार गरिएको छ । स्व गजुरेलको पार्थिव शरीरमा उनका जेठा छोरा ध्रुव गजुरेलले दागबत्ती दिएका थिए ।


ADVERTISEMENT

# # #


यसअघि स्व गजुरेलको पार्थिव शरीरमा बर्दिवास र मिथिला नपा क्षेत्रका सयौँ सर्वसाधारणले पुष्पगुच्छा अर्पण गर्दै श्रद्धाञ्जलि व्यक्त गरेका थिए ।

किशोरावस्थादेखि नै २००३ सालको जयतु संस्कृतम् आन्दोलन हुँदै २००७ सालको राणा शाहीविरुद्धको प्रजातान्त्रिक आन्दोलनमा होमिएका गजुरेल त्यसयता नेपाली काँग्रेसमा आबद्ध भइ लालगढमा कुष्ठरोग अस्पताल स्थापनासहितका यस क्षेत्रका सामाजिक कार्यमा क्रियाशील रहँदै आएक थिए । स्व गजुरेलका चार छोरा, दुई छोरी छन् ।