धनगढी – नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वाइडबडी जहाज खरिदमा भएको आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पारेका छन् ।


ADVERTISEMENT


सोमबार सुदूर पश्चिमको धनगढीमा आयोजित पत्रकार सम्मेलनमा सभापति देउवाले जहाज खरिदमा आफ्नो नाम जोडेर अन्यापूर्ण काम गरिएको बताएका हुन् । उनले पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रधानमन्त्री रहँदा जहाज किन्न बोलपत्र आहृवान भएको र केपी ओली प्रधानमन्त्री हुँदा जहाज खरिद गरिएकाले आफू कुनैपनि हिसाबले सहभागी नभएको दाबी गरे ।


ADVERTISEMENT

# # #


उनले भने, ‘भर्खर प्रधानमन्त्री भएको बेला थियो । १९ मन्त्रालय मेरो जिम्मेवारीमा थिए । कुन मन्त्रालयमा के भयो मलाई जानकारी छैन । मैले मन्त्रीस्तरीय निर्णय पनि गरेको छैन । मेरो जानकारीबिना केही भयो होला मलाई थाहा छैन।’

उनले दाहाल प्रधानमन्त्री हुँदा २०७४ वैशाख ७ गते जहाज खरिदमा सरकार जमानी बस्ने निर्णय भएको बताए । सभापति देउवाले भने, ‘प्रचण्डजी प्रधानमन्त्री हुँदा नै सरकार जमानी बस्ने निर्णय गरेको छ । मैले कुनै निर्णय गरेको छैन । अनि मलाई किन दोष दिने ?’

यस्तै उनले देशमा हत्या बलात्कार जस्ता आपराधिक घटना बढ्दै गएको भन्दै यस्ता घटनाका अपराधिमाथि कारवाहीका लागि दबाब दिन सञ्चारकर्मीलाई आग्रह गरेका छन् । सभापति देउवाले भने, “कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्याका दोषीलाई सरकारले लुकाउने काम गरेको छ, दोषीलाई कारवाही गर्न मिडियाले दबाब दिनुपर्छ ।”

चिकित्सा शिक्षालाई स्तरीय र युग सुहाउँदो बनाउन प्रा डा गोविन्द केसीसँग वार्ता गरेर आफ्नो नेतृत्वको सरकारले विगतमा ऐन ल्याएको देउवाले बताए । उनले अहिलेको सरकारले उक्त ऐन अध्यादेशमार्फत संशोधन गर्न खोजेको प्रति विरोध जनाए ।