काठमाडौँ– थाइल्याण्डमा जारी महिला टी–२० स्म्यास क्रिकेट प्रतियोगितामा नेपालले लगातार तेस्रो जित हात पारेको छ । युएईलाई ६ विकेले पराजित गर्दै नेपाल जारी प्रतियोगिताको एक खेल अगाडि नै सेमिफाइनल प्रवेश गरेको छ ।


ADVERTISEMENT


सोमबार टस जितेर ब्याटिङ थालेको युएईले निर्धारित २० ओभरमा ६ विकेटको क्षतीमा १०६ रन बनायो । जवाफी ब्याटिङमा उत्रिएको नेपालले ६ बल अगाडि नै लक्ष्य हासिल गर्यो । नेपालले १९ ओभरमा ४ विकेट गुमाएर १०६ रन बनायो ।


ADVERTISEMENT

# # #


नेपाललाई जित दिलाउन काजल श्रेष्ठ र सीता राना मगरले उत्कृष्ट खेले । उनीहरुले पहिलो विकेटका लागि ११.२ ओभरमा ६१ रन जोडे । सर्वाधिक रन बनाएकी सीताले ३५ बलमा ३७ रन बनाइन् । यसक्रममा उनले ४ चौका प्रहार गरेकी थिइन् । यस्तै तेस्रो नम्बरमा आएकी डोली भट्टले ४ बलमा एक छक्काको मदतमा ७ रन जोडेर आउट भइन् ।

तेस्रो विकेटका रुपमा ओपनर काजल ४२ बलमा २५ रन बनाएर पेवेलियन फर्किइन् । यस्तै इन्दु बर्मा १३ रनमा आउट हुँदा कप्तान रुबिना क्षेत्री (बेलबासे) र नेरी थापाले जित दिलाएर फर्किए । कप्तान रुबिनाले ७ बलमा १ चौकाको मदतमा नटआउट १० रन बनाइन् भने नेरीले नटआउट नै रहेर ८ बलमा ६ रन जोडिन् । यता युएईका लागि चमानी सेनेचिरान्थे, इशा ओजा र हुमैरा तास्निमले समान १/१ विकेट लिए ।

यसअघि युएईका लागि ओपनर चाया मुघालले सर्वाधिक ३१ रन बनाइन् । ४३ बलको सामना गरेकी उनले एक चौका प्रहार गरिन् । यस्तै सीता राना मगरको बलमा इन्दु बर्माबाट क्याचआउट हुनुअघि आक्रामक ब्याटिङ गरेकी इशा ओजाले २५ बलमा २८ रन बनाइन् ।

उनले २ चौका र १ छक्का प्रहार गरिन् । यस्तै चमानी सेनेचिरान्थेले एक चौकाको मदतमा नटआउट २३ रन जोडिन् । त्यसका लागि उनले ३० बलको सामना गरिन् । यता नेपालका लागि करुणा भण्डारी, सीता राना मगर र सोनु खड्काले समान १/१ विकेट लिए ।

लगातार तीन खेल जितेर नेपालले समूह चरणको एक खेल अगावै ६ अङ्कका साथ सेमिफाइनल प्रवेश गरेको छ । पहिलो खेलमा नेपालले शनिबार चीनलाई १० विकेटले हराएको थियो । यस्तै आइतबार भएको दोस्रो खेलमा मलेसियालाई छ विकेटले पराजित गरेको थियो । नेपालले अर्को खेल बुधबार आयोजक थाइल्याण्डसंग खेल्नेछ ।

नेपाली टोलीमा १४ सदस्यीय खेलाडीसहित मुख्य प्रशिक्षक विनोद दास, म्यानेजर अमृता पौडेल र फिजियो सकुना डानी सहभागी छन् । रुविना क्षेत्री (वेलवासे)को कप्तानीमा रहेको नेपाली टोलीमा सीता राना मगर (उपकप्तान), करुणा भण्डारी, सरिता मगर, नेरी थापा, इन्दु बर्मा, सोनु खड्का, आरती विडारी, काजल श्रेष्ठ, रोमा थापा, कविता कुँवर, डोली भट्ट, ममताकुमारी चौधरी र विन्दु रावल छन् ।

उक्त प्रतियोगितामा विभिन्न १० टोलीको सहभगिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपालसहित चीन, संयुक्त अरब इमिरेट्स (युएई), मलेसिया र थाइल्याण्ड छन् भने समूह ‘बी’ मा हङकङ, थाइल्याण्ड, इण्डोनेसिया, भूटान र म्यानमार छन् ।