काठमाडौँ– पूर्ण सरकारी स्वामित्वको द टिम्बर कर्पोरेशन अफ नेपाल लिमिटेडले शेयरधनीलाई पहिलो पटक ३२७ दशमलव ३ प्रतिशत बोनस शेयर प्रदान गर्ने निर्णय गरेको छ । टिम्बर कर्पोरेशनको आज सम्पन्न साधारणसभाले शेयरधनीलाई स्थापनाकालदेखि पहिलोपटक सो बोनस शेयर बाँड्ने निर्णय गरेको महाप्रबन्धक राजु लौडारीले जानकारी दिए ।


ADVERTISEMENT


वन तथा वातावरण मन्त्रालयअन्तर्गतको टिम्बर कर्पोरेशनमा हाल उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको ३८ दशमलव ३१ प्रतिशत, अर्थ मन्त्रालयको ३३ दशमलव ४०, वन मन्त्रालयको चार दशमलव ९१, उद्योग विभागको नौ दशमलव ८१ र वन तथा भू–संरक्षण विभागको नौ दशमलव ८२ प्रतिशत शेयर छ ।


ADVERTISEMENT

# # #


यसबाहेक साधारणसभाले कर्मचारीलाई बोनस ऐनअनुसार बोनस दिने निर्णय गरेको छ । टिम्बर कर्पोरेशनले २०५० सालपछि पहिलोपटक कर्मचारीलाई बोनस प्रदान गरेको जनाएको छ । आर्थिक वर्ष २०७४/०७५ मा टिम्बर कर्पोरेशनको कुल आम्दानी रु ५० करोड ९८ लाख ४० हजार ४८८ रहेकोे छ । त्यस्तै खुद मुनाफा रु १० करोड १३ लाख ४५ हजार २१५ रहेको महाप्रबन्धक लौडारीले जानकारी दिए ।

टिम्बर कर्पोरेशनले गत आर्थिक वर्षमा रोयल्टीबापत रु १७ करोड ८५ लाख छ हजार ६९२, मूल्य अभिवृद्धि करबापत रु पाँच करोड ८० लाख नौ हजार ८५७ र आयकरबापत रु ९४ लाख ४६ हजार ९७३ राजश्वमा योगदान गरेको छ । यस बाहेक बोनस शेयर वितरण गर्दाको थप कर रु २५ लाख योगदान हुनेछ । टिम्बर कर्पोरेशनले आफ्ना स्थायी कर्मचारीका सम्पूर्ण दायित्वका लागि पुग्ने रकम रु ३० करोड ६४ लाख ८० हजार २५५ रकम नागरिक लगानी कोषमा जम्मा गरेको छ । उक्त रकममध्ये झण्डै ५० प्रतिशत रकम गत आवमा जम्मा गरिएको संस्थाले जनाएको छ ।

टिम्बर कर्पोरेशनले चालु आर्थिक वर्षको छ महीनाभित्र अन्तिम लेखा परीक्षण सम्पन्न गरी वार्षिक साधारणसभा सम्पन्न गर्ने सम्भवतः पहिलो सार्वजनिक संस्था बनेको छ । संस्थाले यसरी खुद नाफा कमाएको र बोनस शेयर दिने अवस्थामा पुग्नुको मुख्य कारण काठको मूल्य अभिवृद्धि हुने गरी काठको बिक्री वितरण गर्नु, आफ्नो चिरान मिल आफैँ सञ्चालन गर्नु र ढुवानीका लागि यातायातका साधन खरीद गर्नु हो ।

त्यस्तै लेखा प्रणालीलाई आधुनिक र पारदर्शी बनाएको, अनावश्यक खर्च कटौती गरेको, व्यापारलाई प्रणालीबद्ध बनाएको र काठको उपचार पद्धति गरी बिक्री वितरण शुरु गरेको तथा अनुगमन निरीक्षण निर्देशिका, २०७४ निर्माण गरी कार्यान्वयन गर्दा संस्थामा सुधारको नतिजा आएको महाप्रबन्धक लौडारीले बताए ।

गत आवमा टिम्बर कर्पोरेशनले १७ हजार ४१० सेवाग्राहीलाई काठ दाउरा उपलब्ध गराएको थियो । साथै भूकम्प प्रभावित संरचनामा गत आवमा ६२ हजार ६२६ घनफिट काठ उपलब्ध गराएको विवरण सार्वजनिक गरिएको छ । यति हुँदाहुँदै पनि काठको कमीले टिम्बर कर्पोरेशनले जनताको मागअनुसार काठ र दाउरा उपलब्ध गराउन सकेको छैन ।

यद्यपि काठमाडौँको पशुपति डिपोमा दाहसंस्कार र अन्य धार्मिक कार्यका लागि भने मागअनुसार काठ दाउरा उपलब्ध गराउन कुनै कसर बाँकी नराखेको संस्थाले जनाएको छ । संस्थाले काठमाडौँमा बालकुमारी, पशुपति र भक्तपुर डिपोबाट काठ दाउरा उपलब्ध गराउँदै आएको छ ।

टिम्बर र वन पैदावार गाभ्ने प्रक्रिया अन्तिम चरणमा

वन मन्त्रालयअन्तर्गतका टिम्बर कर्पोरेशन र वन पैदावार विकास समिति गाभेर ‘नेपाल वन निगम’ बनाउने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । मन्त्रिपरिषद्ले गत साउन १८ गते दुवै संस्थालाई एकापसमा गाभ्ने निर्णय गरेको थियो । उक्त निर्णयअनुसार दुवै संस्थाका सञ्चालक समिति र कर्मचारीको संयुक्त बैठक बसेर गाभ्ने प्रक्रिया अघि बढाएका हुन् ।

गत मङ्सिर १३ गते दुवै संस्थाका सञ्चालक समितिको संयुक्त बैठकले संस्था गाभ्ने सम्बन्धमा आवश्यक निर्णय गरेका छन् । यही पुस ९ गतेको टिम्बर कर्पोरेशनको विशेष साधारणसभाले दुवै संस्था गाभिँदा सम्बोधन गर्नुपर्ने विषयका सम्बन्धमा आगामी सञ्चालक समितिको संयुक्त बैठकमा छलफल गर्ने निर्णय गरेको थियो ।

एकीकरणका सम्बन्धमा दुवै संस्थाले कर्मचारीका राय सुझावसमेत सङ्कलन गरिसकेका छन् । एकीकरण हुने संस्थाको नाम ‘नेपाल वन निगम’ नाम प्रस्ताव गरिएको छ । एकीकरणपछि दुवै निकाय खारेज हुने र नयाँ संस्थाका रूपमा ‘नेपाल वन निगम’ रहने मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा सिन्धुप्रसाद ढुङ्गानाले जानकारी दिए ।

त्यही नाममा कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ताका लागि टिम्बर कर्पोरेशनको प्रबन्ध पत्र र नियमावलीमा आवश्यक संशोधन गरी संस्थाको नाम, उद्देश्य, काम, सञ्चालक समितिको व्यवस्था आदि तयार गरिएको छ ।

यसबाहेक दुवै संस्थाको सम्पत्ति र दायित्वको विश्लेषण (डिडिए) गर्ने, सङ्गठन र व्यवस्थापन (ओ एण्ड एम), कर्मचारी सेवासर्त विनियमावली र आर्थिक विनियमावलीको काम अन्तिम चरणमा पुगेको टिम्बर कर्पोरेशनले जनाएको छ । सबै काम सम्पन्न गरेर आगामी माघ दास्रो सातासम्म स्वीकृतिका लागि मन्त्रालय पठाउने महाप्रबन्धक लौडारीले जानकारी दिए ।

हाल टिम्बर कर्पोरेशनमा करीब ९० स्थायी र ७५ ज्यालादारी कर्मचारी छन् । वन पैदावारमा ८८ स्थायी, १९ करार र १७८ वन रक्षक (दैनिक ज्यालादारी) कर्मचारी कार्यरत छन् । –भीष्मराज ओझा/रासस