काठमाडौँ– भारत भ्रमणमा रहनुभएका उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले नयाँ दिल्लीस्थित नेपालका लागि गैर आवासीय राजदूतसँग छलफल गरेका छन्।


ADVERTISEMENT


दिल्लीस्थित नेपाली राजदूतावासमा आइतबार गरेको छलफलमा उनले विश्वभरका मित्र राष्ट्रसँगको सम्बन्धलाई उच्च महत्व दिनुका साथै आपसी सहयोग तथा सहकार्यलाई केन्द्रमा राख्नु पर्ने बताए ।


ADVERTISEMENT

# # #


पछिल्ला वर्षमा नेपालमा भइरहेको ऐतिहासिक परिवर्तनका विषयमा मित्रराष्ट्रलाई चासो भएको भन्दै उनले संविधानसभाले बनाएको संविधान कार्यान्वयनमा आएसँगै नेपालमा शान्ति र प्रजातन्त्रको नयाँ युग सुरु भएको उल्लेख गरे ।

वर्तमान संविधान प्रगतिशील तथा अग्रगामी रहेको बताउँदै उपप्रधानमन्त्री महराले संविधानले सबै क्षेत्रका नेपाली समाजको चाहना तथा आकांक्षाको रक्षा गरेको छ भने ।

आफ्ना सबै मित्रराष्ट्रका राजदूतसँग संयुक्त राष्ट्रसङ्घको मानवअधिकार परिषद्मा दरिलो उम्मेदवारी रहेको भन्दै उनले सन् २०१७ को अन्त्यतिर हुने निर्वाचनमा समर्थन गर्न आग्रह गरे।

मुलुक सकारात्मक विकासको बाटोमा रहेको भन्दै उनले राजनीतिक परिवर्तन, शान्ति प्रक्रिया तथा मानव अधिकारका क्षेत्रमा हासिल गरेको उपलब्धिका विषयमा नेपालले अन्तर्राष्टिय समुदायसँग अनुभव बाँड्न चाहेको बताए ।

सो अवसरमा सहभागी राजदूतले नेपालले प्राप्त गरेको उपलब्धिमा शुभकामना व्यक्त गर्दै शान्ति र प्रजातन्त्र तथा नेपालसँग थप द्विपक्षीय सम्बन्ध विकासको अपेक्षा गरेको भारतस्थित नेपाली दूतावासले जनाएको छ ।

परराष्ट्रमन्त्री महराले गैरआवासीय राजदूतसँगको छलफललाई आज पनि निरन्तरता दिने कार्यक्रम रहेको छ ।