काठमाडौँ – सोमबार रातिदेखि अचानक परेको भारी हिमपातले हुम्ला, बाजुरा, मनाङ लगायत देशका अधिकांश हिमाली जिल्लाहरुमा भारी हिमपात भएको छ । हिमपातले जनजीवन प्रभावित बनेको छ ।


ADVERTISEMENT


हुम्लामा सोमबार रातिदेखि हिमपात भइहरको छ । बाक्लो हिउँपरेकाले हुम्लामा पहिलो पटक स्किङ्ग (चिप्लेटी) शुरु भएको छ । स्थानीयवासीले बाह्य पर्यटकसँगको सहकार्यमा चिप्लेटी सञ्चालन गरेका हुन् ।


ADVERTISEMENT

# # #


हिमपातले सदरमुकाम सिमकोट आवतजावत गर्न समस्या बनाएको छ । हिमपातले जिल्लाको उत्तरी क्षेत्रका लिमी, मुचु, खगालगाउँ, स्याँडा, हेप्क्का र बरगाउँ, सिमकोटलगायतका गाउँमा आवतजावत बन्द भएको छ । हिमपातका कारण सिमकोटलगायत उत्तरीे नाम्खा गाउँपालिकाको लिमी र मुचुका बासिन्दालाई घरबाट बाहिर निस्कनसमेत समस्या परेको छ । मुचुमा अहिलेसम्म झण्डै दुई फिट जति हिउँ जमेको छ ।

यस्तै सोमबार मध्य रातिदेखि परेको हिमपातसँगै भारी वर्षाका कारण बाजुराका लेकाली बस्ती र हिमाल सेताम्य भएका छन् । हिमपात एकाएक भएको हो । सोमबार दिनभर घाम लागेको थियो । तर, मध्यरात एकाएक मौसम बदली भएपछि मंगलबार बिहान पनि हिमपात भएको थियो । मंगलबार राती पनि बाक्लो हिउँ परेको छ ।

बाजुराको पाण्डुसैन ।

हुम्लामा हिमपात हुँदा हुम्ला सांस्कृतिक तथा पर्यटन पर्वद्धन युवा सञ्जालले सञ्चालनमा ल्याइएको चिप्लेटी खेल्न आएका बिदेशी तथा आन्तरिक पर्यटक ।

जिल्लाका हिमाली गाउँपालिकाको रुगीन, बिच्छया, गौमुल गाउँपालिकाको दहकोट, मानाकोट, खप्तड छेडेदह गाउँपालिकाको काँडा, आटीचौर, त्रिवेणी नगरपालिकाको कैलाशमाडौँ, बूढीनन्दा नगरपालिकाको पोरखे, पाण्डुसैन, बडीमालिकाको डम्कने, रजातोली, जुगाडासहितका दर्जन बढी स्थानीय तहका लेकाली भेगमा हिमपात भएको छ ।

 

बाजुराको बडिमालिका नगरपालिका र बुढीनन्दा नगरपालिका बीचमा पर्ने पोरखे काँधमा देखिएको हिउँको दृश्य ।

यता हिमाली जिल्ला मुस्ताङ, मनाङमा पनि बाक्लो हिउँ परेको छ । वर्षा, हिमपात र चिसोका कारण सर्वसाधारणको दैनिकी, हवाई तथा सडक यातायात सेवासमेत प्रभावित भएको छ । जोमसोम, मुक्तिनाथ, लोमान्थाङ, लेतेलगायत मुस्ताङका सबै क्षेत्रमा हिउँ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सडकमा हिउँ जमेपछि जोमसोम–मुक्तिनाथ र जोमसोम–लोमान्थाङ सडकमा यातायात सेवा बन्द भएको छ । सडकमा एक फिटसम्म बाक्लो हिउँ जमेको छ

मुस्ताङ ।

यता काठमाडौँ लगायत देशभर वर्षा भइरहेको छ । आज दिनभर पनि वर्षा हुनसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौैँ उपत्यकाका चन्द्रागिरि लगायतका डाँडामा पनि हिमपात भएको छ ।

तस्बिरहरु : रासस