काठमाडौं – सरकारले संसदमा विचाराधीन चिकित्सा शिक्षा विधेयकले डा. गोविन्द केसीका मागहरु शत प्रतिशत पूरा हुने दाबी गरेको छ । सोमबार भएको मन्त्रिपरिषद्को निर्णयबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा बोल्दै सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटाले विधेयक फिर्ता लिने वा हुने सम्भावना नरहेको स्पष्ट पारेका हुन् ।


ADVERTISEMENT


‘संसदमा टेबुल भइसकेको विधेयक कुनै पनि बहानामा फिर्ता या संशोधन हुँदैन । डा. केसीका माग पनि यो विधेयकले सम्बोधन गर्छ’, मन्त्री बास्कोटाले भने, ‘यो वा त्यो बहानामा अब विधेयक रोकिँदैन, यो विधेयकबारेमा डा. केसी नै भ्रममा रहेको पाइयो । त्यसैले यो विधेयकको पूर्ण पाठ एक पटक उनलाई पनि पढाउनुपर्यो, यदि भ्रम रहेछ भने हट्ने छ ।’


ADVERTISEMENT

# # #


प्रस्तावित विधेयकले डा केसीले उठाएका माग समावेश भइसकेको र जनतामुखी थुप्रै व्यवस्था गरेको भन्दै उनले कतै डा. केसीलाई गुमराहमा राख्न खोजिएको त छैन भन्ने प्रश्न गरेका छन् । उनले भने, ‘यो विधेयक डाक्टरसा’बले पढ्न पाउनु भएको त छ ? अर्कै पढ्न दिइको त छैन ?’

बिहीबारै डा. केसीले लेखेको पत्रतर्फ इंगित गर्दै ‘हावामा तरवार चलाउनु’ राम्रो नहुने पनि उल्लेख गरे । सरकारले के गर्छ भन्ने प्रश्नमा सञ्चारमन्त्री बास्कोटाले अधिनायकवाद भने पनि, दुई तिहाईको दम्भ भने पनि चिकित्सा शिक्षा विधेयक पास हुने प्रष्ट पारे । उनले भने, ‘कुरा सिम्पल छ, सरकारले पेश गरेको छ, पास हुन्छ । इफ एण्ड बट छैन ।’

मन्त्री बास्कोटाले विधेयकबारेमा सरकार प्रष्ट रहेको उल्लेख गरे । ‘दुईतिहाइको दम्भ या अधिनायकवाद जे भन्नुस् संसदमा पेश गरिएको विधेयकबाट सरकार दायाँबायाँ हुँदैन, यो पास हुन्छ । सरकारको रणनीति पनि यही हो, कार्यनीति पनि यही हो ।’