काठमाडौँ– काष्ठमण्डप पुनःनिर्माणको काम सन्तोषजनकरुपमा अघि बढिरहेको बताउँदै पुनःनिर्माण समितिले हालसम्म १२ प्रतिशत काम सम्पन्न भइसकेको जनाएको छ ।
काष्ठमण्डप पुनःनिर्माण समितिका अध्यक्ष राजेश शाक्यले २०७६ असार मसान्तसम्ममा पहिलो तलाको काम सम्पन्न गरी अर्को तलाको काम शुरु गर्ने बताए।


ADVERTISEMENT


अध्यक्ष शाक्यले भने, “निर्माणका लागि अहिलेसम्ममा ८१४ दशमलव ५२ क्युविक फिट काठ प्राप्त भइसकेको छ ।” पुनःनिर्माणको जानकारी गराउँदै अध्यक्ष शाक्यले महानगरबाट प्राप्त भएको रु पाँच करोड ५० लाखमध्ये अहिलेसम्ममा रु एक करोड २२ लाख खर्च भइसकेको पनि जानकारी दिए। यसअघिका पुराना काठमध्ये १० देखि १५ प्रतिशत मात्र काठ पुनःप्रयोग गर्न सकिने अवस्थामा रहेको बताइएको छ ।


ADVERTISEMENT

# # #


गार्खा भूकम्पका कारण पूर्णरुपमा क्षति भएको काष्ठमण्डप आगामी तीन वर्षमा सक्नेगरी निर्माणको काम भइरहेको पनि समितिले बताएको छ । हनुमानढोका दरबार हेरचाह अड्डाकी प्रमुख अरुणा नकर्मीले काष्ठमण्डप सातौँ शताब्दीको हो भन्ने प्रमाणित भएको बताउँदै सम्पदाको मर्मत र उपयोगमा सावधानी नअपनाउँदा काठमाडौँले भूकम्पबाट व्यहोरेको क्षतिलाई सिकाइका रुपमा हेरिनुपर्ने बताए ।

सम्पदा पुनःनिर्माणका समग्र प्रगतिलाई हेर्दा काष्ठमण्डपको प्रगति सन्तोषजनक छ । यसबाट अन्य सम्पदा पुनःनिर्माण गर्न पनि पाठ सिक्नुपर्ने संस्कृतिविद् प्राडा सुदर्शनराज तिवारीले भनाइ राखे।

गत वैशाख ३१ गते काष्ठमण्डप निर्माणका लागि क्षमा पूजा गरिसकिएको छ । संरचनाविद् प्रेमनाथ मास्केले परम्परागत नेपाली शैलीमा निर्माण हुने यस सम्पदा उत्कृष्ठ हुने धारणा राखे ।
काष्ठमण्डपका झ्यालहरु निर्माण गर्नका लागि काठको तयारी गर्ने काम पनि शुरु गरिएको छ ।

डकर्मी समूहलाई बोलाइ काष्ठमण्डपको जगको गारोको साइटको जाँचबुझ गर्ने काम शुरु गरिएको छ । तेस्रो घेराको गारोको पनि तह मिलाउन केही सल निकाली तह मिलाई पुनःजोडाइ गर्ने काम हुँदैछ । काष्ठण्डपको मूल थाम, निदाल तथा अन्य थामका लागि नयाँ काठ आइपुगेको छ । सिकर्मी समूहबाट थामको तयारी गर्ने काम पनि शुरु गरिएको छ ।

समितिले जानकारी दिएअनुसार इँटा ल्याउने क्रम जारी नै छ । अहिले ठूला काठ ल्याउने काम हुँदैछ भने आउँदो माघ १५ गतेसम्ममा काष्ठमण्डपका मुख्य चारवटा थाम उठाइसक्ने लक्ष्य छ । काष्ठमण्डप ऐतिहासिक सम्पदा भएकाले निर्माणका क्रममा प्रत्येक चरणको जानकारी राख्नुपर्ने र सम्पदालाई लामो समयसम्म बाचाइराख्न समय समयमा तीनको मर्मतसम्भार गर्नुपर्ने स्थानीयवासीको भनाइ छ ।