काठमाडौं । झट्ट हेर्दा ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका ४ को केत्तुके गाउँ निकै शान्त देखिन्छ।


ADVERTISEMENT


तर यो शान्तिमा गाउँलेको वेदना मिसिएको अनौठो छटपटी गुम्सिएको छ। उनीहरू सजिलै मन फुकाएर आफ्ना कथा भन्ने सक्ने स्थितिमा छैनन्। त्यसो गर्दा आफैंलाई गलपासो पर्ला भन्ने भय उनीहरूलाई छ।


ADVERTISEMENT

# # #


दुई वर्षअघि ठगीको अनौठो पासोमा परेको केत्तुकेको यो कथा कानेखुसीमै सीमित छ। स्थानीयका अनुसार केत्तुकेका करिब २ सय तामाङ घरधुरीमध्ये ६० प्रतिशतभन्दा ठगिएका छन्। जसमा २५ हजारदेखि ७ करोड रुपैयाँ गुमाउनेहरू छन्।

ठगीको यो जालो ओखलढुंगा सदरमुकाम र चिशंखुगढी गाउँपालिकाको कुईभीरसम्म फैलिएको छ। आफन्त र चिनजानकै मान्छेबाट ठगिएका कारण उनीहरू यसरी चुपचाप बस्न बाध्य भएका हुन्।

‘धेरैजसोले पैसा माया मारिसकेका छन्,’ एक पीडितले भने, ‘सबै नभए पनि अलिअलि फिर्ता आउने आशाले प्रहरीमा उजुरी दिँदा उल्टै सम्बन्ध बिग्रिने डरले चुप छौं,’ ठगिनेमा सर्वसाधारणदेखि निर्वाचित जनप्रतिनिधिसम्म छन् ।

स्थलगत अध्ययन र नाम गोप्य राख्ने सर्तमा दर्जनौंसँग गरिएको कुराकानीले गाउँका सबैको जोड्दा करिब २० करोड रुपैयाँभन्दा धेरै रकम फसेको देखिएको छ।

अलिअलि आफ्नै लोभ, अलिअलि आफन्ती तथा गाउँलेले देखाएको विश्वास र अलिअलि अरूले आँखैअघि कमाएको देखेर यो गाउँका धेरैले पैसा ब्याजमा लगाएका थिए।

मिटर ब्याजमा पैसा पाउने लोभमा केही हजारदेखि लाखौं रुपैयाँ ब्याजमा लगाएका धेरैले अहिले ब्याजको आशा त मारिसकेका छन् नै, साँवा पनि नपाउने स्थितिमा पुगेका छन्।

ठगी धन्दाको यो लहरोमा जोडिएका छन्, केत्तुकेकै शर्मिला लामा, एक समय माओवादी नेतासमेत रहेका उनका श्रीमान् ज्ञानेन्द्र गुरुङ ‘कसम’ र काठमाडौंमा एजुकेसन कन्सलटेन्सीसमेत चलाएर बसेका कपिल बर्मा।

माओवादी सशस्त्र द्वन्द्व चलिरहेका बेला शर्मिलाले सिन्धुपाल्चोक ठेगाना बताउने तत्कालीन माओवादी नेता ज्ञानेन्द्र गुरुङ ‘कसम’ सँग बिहे गरिन्। शान्ति स्थापनापछि उनी श्रीमान्सँगै राजधानीमा बसेर स–साना व्यवसायमा संलग्न थिइन्। त्यहीबेला उनीहरूको परिचय कपिल बर्मासँग भयो ।

काठमाडौंको बानेश्वरमा इनोभेटिभ नेपाल नामक कन्सलटेन्सी चलाएर बसेका बर्मा रवाफिलो व्यक्तिका रूपमा परिचित थिए। शक्तिशाली व्यक्तिसँग गतिलो पहुँच बनाएका उनले एक समय अभिनेता राजेश हमाललाई आफ्नो कन्सलटेन्सीको ब्रान्ड एम्बेस्डर बनाएका थिए।

ख्याति प्राप्त कलाकारलाई ब्रान्ड एम्बेस्डर बनाएकै कारण उनको चर्चा झनै बढेको थियो। साथै विद्यार्थीलाई टोफेल, आईएलटीएस जस्ता कक्षा गराएर अस्ट्रेलिया, बेलायतजस्ता मुलुक पठाउँथे।

यिनै कपिलले ज्ञानेन्द्रमार्फत आफ्नो कम्पनीमा पैसा लगानी गरे राम्रो ब्याज पाउने खबर गाउँ पुर्‍याए। मासिक रूपमै सयकडा चार र पाँच ९वार्षिक ६० प्रतिशत० सम्म ब्याज दिने प्रलोभनको हल्ला ‘एक कान, दुई कान, मैदान’ भयो । सुरुमा केही आफन्त र गाउँलेले लगानी पनि गरे।

एक लाख लगानी गर्नेले एक महिनामै आफ्नो खातामा ५ हजारदेखि १० हजारसम्म ब्याज प्राप्त गरे । त्यसपछि त के चाहियो र, कम्पनीमा लगानी गर्न गाउँलेहरू आफैं अग्रसर भए।

सुरु–सुरुमा कपिलले लगानीबापतको ब्याज गाउँलेको बैंक खातामा महिना मर्नेबित्तिकै हालिदिन्थे। घरमै बसीबसी कमाइ हुने भएपछि धेरैलाई मिटर ब्याजको धन्दाले आकर्षित गर्‍यो।

यही लोभको पासोमा परेर धेरैले ब्याजबापतको रकममा थप खोजखाज गरेर पैसा थप्दै लगानी गर्न थाले। कतिले आफन्तसँग थोरै ब्याजमा पैसा ऋण लिएरसमेत लगानी गरे। झन्डै दुई वर्षसम्म कम्पनी र गाउँलेबीचको कारोबार चलिरह्यो।

त्यसपछि मिटरको ब्याजको आम्दानी विस्तारै कम हुँदै गयो। कम्पनीले ब्याजबापतको रकम त दिएन नै, साँवा दिन पनि आनाकानी गर्न थाल्यो।

खुरुखुरु ब्याज दिने कम्पनीले साँवा नै नदेला भन्ने विश्वास कसैले गरेनन्। आफ्नै गाउँकी चेलीमार्फत लगानी गरेकाले पनि धेरैले मुख खोलेर पैसा फिर्ता माग्न सकेनन्। त्यसो त कैयन् गाउँलेले चर्को ब्याजबाट पैसा कमाउन सकिने भन्दै आफ्ना आफन्त र छिमेकीलाई पनि लगानी गर्न उक्साएका थिए।

तर विस्तारै महिना बित्न थालेपछि र पैसा लिएकाहरू सम्पर्कमै आउन छाडेपछि गाउँलेहरूले कपिललाई खोज्न थाले। कतिपयले उनलाई भेटेरै गाडी खोस्ने प्रयाससम्म गरे। तर अहँ, पूरा पैसा उठेन।

यही बीचमा कपिल आफ्नो कार्यालय नै बन्द गरेर बेपत्ता भए। स्थानीय गाउँलेले पैसा फिर्ता गराइदिन शर्मिला र ज्ञानेन्द्रलाई पनि बारम्बार अनुरोध गरे। तर केही काम लागेन।

‘नाताले हाम्रै चेली र ज्वाइँ हुन् । कमाएर तिर्छु भन्छन् ।’ झन्डै ५ करोड फसाएका केत्तुकेका एक व्यापारीले भने, ‘अब कमाएर करोडौं रुपैयाँ कहिले फिर्ता होला र रु उजुरी गरेर जेल पठाउँदा उल्टै पैसा डुब्ने डर ।’ कपिलको खोजीमा खटिएका स्थानीय गाउँलेले कपिल दिल्लीतिर बस्ने गरेको सुनाए।

‘मलाई त मेरो बच्चैदेखिको अत्यन्तै मिल्ने साथीले लगानी गर्नु, पैसा फस्दैन भन्यो,’ सिद्धिचरण नगरपालिका १२ का गणेश कार्कीले भने, ‘मैले विश्वास गरेर लगानी गरें । केही समय ब्याज र साँवा दुवै फिर्ता आयो । तर पछि भने आउनै छोड्यो।’

उनले ८४ लाख लगानी गरेकामा १२ लाख फिर्ता गरे। अब ७२ लाख लिन बाँकी छ। उनले सिधै आफ्नो साथीको नाममा पैसा पठाएका कारण भौचर र भर्पाई साथीकै नाममा भएको बताए । ‘साथीले आफैंले पैसा फिर्ता गर्दिन्छु भनेकाले विश्वास गरेर बसेको छु,’ उनले थपे।

पैसा लगानी गर्ने भन्दै सम्पर्कको माध्यम बनेका धेरैजसोको बिचल्ली भएको छ। उनीहरूले आफ्ना घरजग्गा बेचेर सकेजति पैसा फिर्ता गरिरहेका छन्।

कम्पनी मालिकबाट पैसा उठाउन नसकिने भएपछि आफूले मागेर पैसा लगानी गरिदिएका आफन्तको पैसा फिर्ता गरिदिन भएको जायजेथा बेच्नुपरेको हो।

कपिलको ठगी धन्दामा मुछिएका ज्ञानेन्द्र गुरुङको राजनीतिक पहुँचका कारण पनि गाउँका पीडित खुलेर बोल्न चाहँदैनन्। ठगी कथाको पोल खुल्दा आफ्नै आफन्त पर्ने डर मात्रै गाउँलेमा छै्रन, आउला भन्ने आस गरेको पैसा सधैंका लागि डुब्ने हो कि भन्ने चिन्ता पनि छ।