काठमाडौं । राजनीतिक संकट गहिरिँदै जाँदा आफूलाई देशको अन्तरिम राष्ट्रपति घोषित गरेका भेनेजुएलाका विपक्षी नेता क्आन गुएडोले आफ्नो परिवारमाथि धम्की आएको बताएका छन् ।


ADVERTISEMENT


भेनेजुएलामा सरकारविरुद्ध प्रदर्शन जारी रहेका बेला गुएडोले जनवरी २३ मा आफूलाई देशको अन्तरिम राष्ट्रपति घोषित गरेका थिए र उनलाई अमेरिकासहितका देशले समर्थन गरेका छन् ।


ADVERTISEMENT

# # #


भेनेजुएलाको सेन्ट्रल युनिभर्सिटीमा गरेको सम्बोधनको क्रममा नेता गुएडोले आफ्नो परिवारमाथि सुरक्षा खतरा बढेको बताएका छन् । प्रहरीले आफ्नी श्रीमतीको खोजी गर्दै घरमा खानतलासी गरेको उनले बताएका छन् ।

भेनेजुएलामा हजारौँ मानिसले अहिलेका राष्ट्रपति निकोलश मादुरोविरुद्ध प्रदर्शन गर्दै आएका छन् । ३५ वर्षका गुएडोले मादुरोविरुद्धको प्रदर्शनको नेतृत्व गरिरहेका छन् ।

दक्षिण अमेरिकामा ब्राजिल, कोलम्बिया, पेरुसहितका देशले गुएडोलाई भेनेजुएलाको अन्तरिम राष्ट्रपतिका रुपमा मान्यता दिएका छन् र उनको पक्षमा उभिएका छन् ।

तर रुस र चीनले वर्तमान राष्ट्रपति निकोलश मादुरोलाई साथ दिएका छन् । यस्तै देशको सेनाको साथ रहेकाले मादुरो सत्तामा रहिरहन सकेका छन् । तर नेता गुएडोले भने सेनाका अधिकारीसँग आफ्नो गोप्य भेट भएको र समर्थनका लागि प्रयास भइरहेको बताएका छन् ।

केही वर्षदेखि प्रायः सखाप जस्तै बनेको देशका आर्थिक अवस्थालाई अनदेखा गरेको आरोप निकोलश मादुरोमाथि छ । मुद्रास्फिती, विद्युत आपूर्ति बन्द तथा आधारभूत आवश्यक सामग्रीको अभावले भेनेजुएलाको जनजीवन कष्टकर बनेको छ । आर्थिक मन्दीकै कारण लाखौँ भेनेजुएलाली छिमेकी देश कोलम्बियासहितका क्षेत्रमा शरण लिन बाध्य छन् ।

मादुरोले जनवरीको सुरुमा दोस्रो कार्यकालका लागि राष्ट्रपतिको शपथ लिएका थिए । विपक्षीले बहिष्कार गरेको तथा व्यापक मात्रामा धाँधली भएको आरोप लागेको चुनावमा मादुरो विजयी भएका थिए ।