काठमाडौं । युएई भ्रमणमा रहेको नेपाली राष्ट्रिय टोलीले आइतबार ट्वेन्टी–ट्वेन्टी अन्तर्राष्ट्रिय शृङ्खला अन्तर्गत युएईसँग अन्तिम खेलमा प्रतिस्पर्धा गर्दैछ । तीन खेलको दिवसीय र तीन खेलकै ट्वेन्टी–ट्वेन्टी शृङ्खलाका लागि युएई पुगेको नेपाली टोलीले एक दिवसीय शृङ्खला आफ्नो पक्षमा पारिसकेको छ ।


ADVERTISEMENT


ट्वेन्टी–ट्वेन्टी शृङ्खलामा १–१ को बराबरीमा छ । पहिलो खेल पराजित भएको नेपालले दोस्रो खेलमा जित निकालेको हो । आइतबार हुने अन्तिम खेल शृङ्खलाका लागि निर्णायक छ ।


ADVERTISEMENT

# # #


दुबईस्थित आइसिसी ग्लोबल क्रिकेट एकेडेमी मैदानमा आइतबार दिउँसो हुने खेल नेपालले जित्नसके पहिलो ट्वेन्टी–ट्वेन्टी अन्तर्राष्ट्रिय उपाधि जित्ने छ । सोही मैदानमा नेपालले ऐ्तिहासिक एकदिवसीय शृङ्खला जितेको थियो । राम्रो लयमा देखिएको नेपाली टोलीलाई ट्वेन्टी–ट्वेन्टी शृङ्खला पनि जित्दै इतिहास बनाउने मौका छ ।

जारी शृङ्खलामा नेपाली ब्याट्सम्यानले उत्कृष्ट प्रदर्शन गरेका छन् र आलोचनालाई कम गरेका छन् । युवा ब्याट्सम्यानद्वय रोहितकुमार पौडेल र सन्दीप जोराले आफूलाई उत्कृष्ट ब्याट्सम्यान प्रमाणित गरिसकेका छन् । रोहितले कम उमेरमा अर्धशतक बनाउने नयाँ विश्व कीर्तिमान बनाएका छन् भने जोराले ट्वेन्टी–ट्वेन्टी क्रिकेमा कम उमेरमा अर्धशतक बनाउने कीर्तिमान कायम गरिसकेका छन् ।

सन् २०१४ को ट्वेन्टी–ट्वेन्टी विश्वकपमा ट्वेन्टी–ट्वेन्टी अन्तर्राष्ट्रिय राष्ट्रको मान्यता पाएको नेपालले २०१५ मा ट्वेन्टी–ट्वेन्टी विश्वकप छनौटमा खराब प्रदर्शनपछि मान्यता गुमाएको थियो । फेरि गएको वर्ष मार्चमा एक दिवसीय राष्ट्रको मान्यता पाएको नेपालले स्वतः ट्वेन्टी–ट्वेन्टी अन्तर्राष्ट्रिय मान्यतासमेत पाएको छ ।