काठमाडौं । सरकार अधिनायकवादी बनेको भन्दै नेपाली कांग्रेसले आज (सोमबार) देशभर विरोध प्रदर्शन गर्दैछ । निरंकुशतातर्फ अघि बढेको सरकारलाई सच्याउन भन्दै कांगेसले पूर्वघोषित आन्दोलनका कार्यक्रम अनुसार देशभरका ७७ वटै जिल्लामा सरकारका विरुद्ध प्रदर्शन गर्न लागेको हो । विरोध प्रदर्शनका लागि सम्पूर्ण तयारी पूरा भएको कांग्रेसले जनाएको छ ।


ADVERTISEMENT


डा. गोविन्द केसीसँगको सम्झौता विपरित चिकित्सा शिक्षा विधेयक पारित गरेको, पूर्व प्रधानमन्त्रीद्वय गिरिजा प्रसाद र शुसिल कोइरालाका नाममा रहेका अस्पताल खारेज गर्न खोजेको, निर्मला पन्तका हत्यारा पक्राउ गर्न नसकेको र प्रतिपक्षको हैसियतको वास्ता नगरेको जस्ता आरोप लगाउँदै कांग्रेसले विरोध प्रदर्शन गर्न लागेको जनाएको छ ।


ADVERTISEMENT

# # #


कांग्रेसले सदनमा सत्तापक्षले प्रतिपक्षसँग देखाएको व्यवहारको बदला सडकबाट लिने चेतावनी पनि दिएको छ । कांग्रेस सांसद गगन थापाले सोमबार हुने विरोध प्रदर्शनबाट ‘प्रतिपक्ष कहाँ छ’ भनेर सरकारले थाहा पाउने बताए ।

‘प्रतिपक्ष कहाँ छ भनेको होइन सरकारले? प्रतिपक्ष देखिएन भनेको होइन सरकारले? सरकारलाई आज हामी प्रतिपक्ष कहाँ छ भनेर देखाइदिन्छौँ, अब आश्चर्यचकित पर्ने पालो सरकारको हो,’ नेता थापाले भने ।

उनले लोकतन्त्र र गणतन्त्रका लागि जीवनभर लडेका नेताहरुका नाम मेट्न खोज्ने सरकार आफै पतन हुने जिकिर पनि गरे । अस्पतालको गेटबाट गिरिजा प्रसाद र शुसिल कोइरालाको नाम मेट्दैमा कांग्रेसको इतिहास मेट्न सकिन्छ भन्ने सोच नराख्न पनि नेता थापाले चेतावनी दिए ।