काठमाडौँ– चर्चित ३३ किलो सुन तस्करी प्रकरणका एक आरोपित यूएईमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा हरि खड्का भन्ने हरिशरण खड्का छन् ।


ADVERTISEMENT


उनलाई केही दिनअघि यूएईमा प्रहरीले पक्राउ गरेको प्रहरी प्रधान कार्यालय, काठमाडौंले जनाएको छ । सुन तस्करी प्रकरणमा खड्कासहित प्रकरणमा संलग्न १२ जनाविरुद्ध नेपाल प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मार्फत् रेड नोटिस जारी गरेर खोजी गरिरहेको थियो ।


ADVERTISEMENT

# # #


काभ्रेपलान्चोकका स्थायी बासिन्ददा खड्का लामो समय दुबईमै रहेर नेपालतर्फ सुन तस्करीमा सक्रिय रहेको प्रहरी अनुसन्धानबाट खुलेको थियो । वैदेशिक रोजगारीका क्रममा करिब १२ वर्षदेखि दुबईमै रहँदै आएका खड्का केही वर्षयता सुन तस्करीमा संलग्न रहेको प्रहरी अनुसन्धानले देखाएको छ ।

डीआइजी नवराज सिलवाल सीआइबीको प्रमुख हुँदा २०७३ पुस २१ गते तिलगंगाबाट बरामद भएको साढे ३३ किलो सुनमा उनीसहितको लगानी रहेको खुलेको थियो । पछिल्लो पटक २०७४ फागुन पहिलो साता दुबईबाट तस्करी गरी ल्याएपछि काठमाडौँबाट गायब भएको अर्को साढे ३३ किलो सुनमा पनि उनीसहितको लगानी रहेको अनुसन्धानले देखाएको थियो ।

खड्काले नेपालस्थित सुन व्यवसायीहरुसँगको मिलेमतोमा तस्करी गर्दै आएका थिए । खड्काले दुबईबाट नेपाल सुन तस्करीका लागि हाल मोरङ कारागारमा रहेका मोरङकै उर्लाबारीका चूडामणि उप्रेतीसहितको समूहसँग साँठगाँठ गरेको तथ्य गृहमन्त्रालयको उच्चस्तरीय छानबिन समितिले पनि बाहिर ल्याएको थियो ।

खड्कासँगै इन्टरपोलबाट रेड नोटी जारी गरिएका अन्य केहीलाई पनि प्रहरीले पक्राउ गरिसकेको छ । यसअघि बेनु श्रेष्ठ र रमेश उप्रेतीलाई प्रहरील दुबईबाटै समातेको थियो । साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा जोडिएका अन्य केही अभियुक्त अझै फरार छन् ।