काठमाडौं । मेलबर्न स्टार्सले बिग बास लिग–बिबिएल क्रिकेटमा लिग चरणका दुई वटा खेल खेल्न बाँकी रहँदा उसका नेपाली युवा स्ट्रार खेलाडी सन्दीप लामिछाने अस्ट्रेलिया पुगेका छन्।
मेलबर्नका लागि सुरुका चार खेल खेलेपछि सन्दीप बंगलादेश प्रिमियर लिग–बिपिएल खेल्न बंगलादेश आईपुगेका थिए। बिबिएल अघि नै बिपिएलका लागि अनुबन्ध भएका कारण बिपिएलका खेल सुरु भएसँगै सन्दीप अस्ट्रेलिया छाडेर बंगलादेश आएका थिए।


ADVERTISEMENT


बिपिएलका पनि सन्दीपले सिलेट सिक्सर्सका लागि पुरा प्रतियोगिता खेल्न सकेनन्। यूएईमा राष्ट्रिय टोलीको एकदिवशीय र टीट्वेन्टी क्रिकेट शृंखला भएका कारण उनले बिपिएल पनि बीचैमा छाडेका थिए। आईतबार नेपालको यूएई भ्रमण सकिएपछि सन्दीप मेलबर्न स्टार्सका लागि उपलब्ध भएका हुन्।


ADVERTISEMENT

# # #


बिबिएलमा सुरुका चार खेलमा आठ विकेट लिएर सनसनी मच्चाएका यी स्पीनरको उपस्थितीले मेलबर्नको मनोबल उच्च भएको छ। मेलबर्न १२ खेलबाट १२ अंक जोडेर तालिकाको चौथो स्थानमा छ। शीर्ष चार टोली सेमिफाइनल पुग्नेछन्। पाँचौँ स्थान र छैटौँ स्थानमा रहेका टोलीको १३ खेलबाट समान ११ अंक छ।

मेलबर्न स्टार्सले आगामी खेलमा बिहीबार ब्रिसबेन हिटसँग खेल्ने छ। ब्रिसबेन छैटौँ स्थानमा छ। यो खेल जितेमा मेलबर्न अन्तिम चारमा पुग्ने छ। तर हारेपनि मेलबर्नको सम्भावना कायमै हुने छ। आईतबार हुने खेलमा सिड्नी सिक्सर्सविरुद्ध जित हात पार्न सके पनि मेलबर्न अन्तिम चारमा पुग्ने छ। सिड्नी १३ खेलबाट १६ अंक जोडेर तालिकाको दोस्रो स्थानमा छ। मेलबर्न स्टार्स अघिल्लो खेलमा पराजित भएको थियो।

सर्वाधिक विकेट लिने रिचार्डसन
जारी बिबिएलमा सर्वाधिक विकेट लिने बलरको सूचीमा मेलबर्न रेनेगेड्सका केन रिचार्डसन २२ विकेटसहित शीर्षस्थानमा छन्। अस्ट्रेलियाका २८ वर्षीय यी तेज बलर उत्कृष्ट लयमा छन्। प्रतियोगितामा उनले ११ खेल खेलेका छन्।

१३ खेलमा २० विकेट लिएका सिड्नी सिक्सर्सका सिन एबट दोस्रोमा छन्। प्रतियोगितामा यो सिजन सर्वाधिक विकेट लिने मेलबर्न स्टार्सका बलरमा मार्कस स्टोइनिस छन्।

स्टोइनिसले नौ खेलमा १४ विकेट लिएका छन्। मेलबर्न स्टार्सकै ड्वेन ब्राभोले पनि १४ विकेट लिएका छन्। यूएईविरुद्धको एकदिवशीय शृंखलामा सन्दीपले तीन खेलमा सात विकेट र टीट्वेन्टी शृंखलामा तीन खेलमा पाँच विकेट लिएका थिए।