काठमाडौं । वन तथा वातावरण मन्त्रालयले शिवपुरी–नागार्जुन निकुञ्जको मध्यवर्ती क्षेत्रका मुलखर्क, चिलाउने, ओख्रेनी र कुनेगाउँ बस्तीलाई कागेश्वरी–मनोहरा र गोकर्णेश्वर नगरपालिकामा सार्ने भएको छ।


ADVERTISEMENT


सुन्दरीजल मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिअन्तर्गत गोकर्णेश्वर–१ र २ वडाका यी बस्तीमा जम्मा ५ सय २८ घरधुरी छन्। तीमध्ये २५ पक्की घर छन्। चारै बस्तीका २ सय गोठ, १० वटा पसल र ४० वटा होटलसमेत हटाइन लागेको छ । यी बस्तीको जनसंख्या करिब २ हजार ५ सय २८ छ। २ हजार ५ सय ४ रोपनी निजी जग्गा छ।


ADVERTISEMENT

# # #


स्थानीयलाई मध्यवर्ती क्षेत्रबाट हटाएर सरकारी र ऐलानी खाली जग्गामा सार्ने प्रस्ताव वन मन्त्रालयले मन्त्रिपरिषद्मा पेस गरेको छ। भूमि व्यवस्था मन्त्रालयको रायमा वन मन्त्रालयले प्रस्ताव लगेको हो। बस्तीलाई भित्री क्षेत्रबाट हटाएर सँगै जोडिएको निकुञ्जको जग्गामा सट्टाभर्ना दिइनेछ।

सारिने बस्तीबारे अध्ययन गर्न तत्कालीन वन तथा भू–संरक्षण मन्त्रालयले २०७३ माघमा निकुञ्ज विभागका उपमहानिर्देशकको संयोजकत्वमा समिति बनाएको थियो। समितिमा शिवपुरी निकुञ्जसहित मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका प्रतिनिधिसमेत थिए।

मध्यवर्ती क्षेत्रमा ती बस्ती रहँदा पारिस्थितिकीय प्रणाली एवं जैविक विविधता व्यवस्थापन कार्य र वागमती नदीको मुहान संरक्षणमा प्रतिकूल असर पर्नुका साथै मानव–वन्यजन्तु द्वन्द्व बढेको मन्त्रालयले जनाएको छ।

चारवटै गाउँमा बँदेल, दुम्सीलगायतले बाली खाइदिनुका साथै चितुवाले स्थानीयमाथि आक्रमण गर्ने समस्या बढेको थियो।

बस्ती सार्न निकुञ्जले चालु आर्थिक वर्षमा बस्ती व्यवस्थापन शीर्षकमा १५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। बस्ती हटेपछिको जग्गा सरकारको नाममा रहनेछ। स्थानीयलाई सट्टाभर्नास्वरूप कानुनबमोजिम उचित क्षतिपूर्ति दिएर आधुनिकरएकीकृत बस्तीमा सारिने प्रस्तावमा उल्लेख छ।