बुटवल। प्रदेश नं ५ सरकारले प्रदेशका ५२ निर्वाचन क्षेत्रमा स्थापना गरिने स्मार्ट कृषि गाउँको मंगलबारदेखि प्रारम्भ गरेको छ । प्रदेश सरकारले मंगलबार रुपन्देहीको देवदह–९ बुद्धनगरबाट पहिलो स्मार्ट कृषि गाउँ कार्यक्रमको शुभारम्भ गरेको हो ।


ADVERTISEMENT


परम्परागत खेती प्रणालीलाई बदलेर आधुनिक र व्यावसायिकीकरण गर्दै समृद्धिको प्रस्थानविन्दु मानेको प्रदेश सरकारले ५२ स्मार्ट गाउँ छनोट गरेको छ । प्रदेश सरकारले ५२ वटै निर्वाचन क्षेत्रमा सो कार्यक्रम सञ्चालन गर्नका लागि आव २०७५÷७६ मा रु २६ करोड विनियोजन गरेको छ । हरेक क्षेत्रमा रु ५० लाख छुट्याइएको छ । विनियोजित रकममा प्रदेश सरकारको ८० प्रतिशत र कार्यक्रम लागू भएका स्थानीयवासीले २० प्रतिशत लगानी गर्नुपर्ने प्रावधान छ ।


ADVERTISEMENT

# # #


स्मार्ट कृषि गाउँ कार्यक्रमको शुभारम्भ गर्दै मुख्यमन्त्री शङ्कर पोखरेलले कृषि र किसानको जतिसुकै कुरा गरे पनि परिणाम उपलब्धिमूलक नहुनुमा परम्परागत निर्वाहमुखी कृषि प्रणालीबाट बाहिर आउन नसक्नु नै मुख्य समस्या भएको बताए। उनले समाज परिवर्तनसँगै बजारमुखी र उत्पादन बिक्री आम्दानीबाट चल्ने तर निर्वाहमुखी परम्परागत ढाँचाबाट कृषि पेशा गर्ने प्रवृत्तिलाई त्यागेर जमीनले कस्तो उत्पादन दिन्छ र कस्तो उत्पादनले बजार लिन्छ भनी अध्ययन गरेर कृषि उत्पादन गरे किसानले निराश हुनु नपर्ने बताए।

मुख्यमन्त्री पोखरेलले माटोको परीक्षण मलखाद र खेतको निदानबिना नै विषादीको प्रयोग जस्ता कारणले कृषिमा लागत बढ्ने र उत्पादन घट्ने गरेको बताए। उच्च प्रविधिको प्रयोग गरेर उत्पादन गर्ने र उत्पादनलाई बजारसँग जोड्ने प्रक्रिया स्मार्ट कृषि प्रणाली कार्यक्रमका रुपमा सरकारले अघि सारेको उनको भनाइ थियो । उनले सो कार्यक्रमले नयाँ पुस्तालाई कृषिसँग जोड्ने विश्वास ब्यक्त गर्दै यसबाट प्रदेशमा कृषिको बजार, लगानी र औद्योगिकीकरणको विकास हुने बताए।

भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री आरती पौडेलले स्मार्ट कृषि कार्यक्रमले एकीकृत रुपमा कृषिको विकाससँगै कृषिमा औद्योगिकीकरण र पर्यटनको समेत विकास गर्ने प्रदेश सरकारको लक्ष्य रहेको बताए। बुटवल र भैरहवाजस्ता ठूला शहरबाट नजीक रहेको देवदहमा कृषि उत्पादनका लागि बजारको कुनै समस्या नरहने उनको भनाइ थियो । प्रदेशसभा सदस्य डा कृष्ण न्यौपानले बुद्धको मावलीका रुपमा रहेको देवदहबाट शुरुआत भएको प्रदेश नं ५ को स्मार्ट कृषि गाउँलाई कृषि अनुसन्धान केन्द्रका रुपमा विकास गरी कृषि पर्यटन क्षेत्रका रुपमा स्थापित गरिने बताए ।

देवदह नगरपालिकाका प्रमुख हीराबहादुर खत्रीले उत्पादनको क्षेत्रमा कृषि आधुनिकीकरणमा सो कार्यक्रम कोशेढुङ्गा हुने बताए । उत्पादित वस्तुको बजारको सुनिश्चितता मुख्य चुनौतीका रुपमा रहेको उनको भनाइ थियो । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव यामनारायण देवकोटा, कृषि वन विज्ञान संस्थानका डिन जयप्रकाश दत्त, प्रध्यापक डा आइपी कडेरियाले कार्यक्रम सञ्चालन भएपछि कृषि पेशालाई आत्मनिर्भिर र अनुसन्धान केन्द्रका रुपमा स्थापित गर्न सकिने बताए। रासस