काठमाडौं– अर्थमन्त्री डा. युवराज खतिवडाले देशको सबै स्थानीय तहमा बाणिज्य बैकको शाखा पुर्याउने नीति अनुरुप सरकारले काम गरिरहेको बताएका छन् ।


ADVERTISEMENT


प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा मन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रममा सांसदहरुले राखेको प्रश्नको जवाफ दिँदै मन्त्री खतिवडाले ७ सय ५३ वटै स्थानीय तहमा बाणिज्य बैकको शाखा पुर्याउने गरि काम भईरहेको जानकारी दिएका हुन् ।


ADVERTISEMENT

# # #


उनले ७ सय ५३ मध्ये ७ सय ३ वटा स्थानीय तहमा बाणिज्य बैकको शाखा विस्तार भइसकेको र चैत मसान्त भित्र ३० वटा स्थानीय तहमा बाणिज्य बैकको शाखा विस्तार भइसक्ने बताए । उनले यसै आर्थिक बर्षभित्र सबै तहमा वाणिज्य बैकको शाखा विस्तार हुने विश्वास आफूले लिएको बताए ।

प्रश्नोत्तर कार्यक्रममा सांसद दिलेन्द्र प्रसाद बडूले दार्चुला जिल्लाको लेकम गाउँपालिकामा इजाजत प्राप्त बैकको शाखा कहिले सम्म खुल्छ ? र सबै गाउँपालिकाहरुमा बैक सेवा कहिलेसम्म पुग्छ भनि प्रश्न गरेका थिए ।

जवाफमा मन्त्री खतिवडाले लक्ष्मी बैकले लेकमा शाखा स्थापना गरि संचालन भइरहेको र यसै आर्थिक बर्ष भित्र सबै स्थानीय तहमा वाणिज्य बैकका शाखा पुग्ने र त्यसको आवधिक प्रगतिको निरन्तर अनुगमन गर्ने कार्य नेपाल राष्ट्र बैकबाट भइरहेको बताए ।

गाउँपालिकाको केन्द्रमा नै शाखा खोल्नु उपयुक्त हुने भनेर आफूहरुले बैंकहरुलाई भन्ने गरेको भएपनि स्थानीय तहको सुगमता, आर्थिक क्रियाकलाप र कारोवारको अवस्था हेरेर बैकका शाखा स्थापना हुने तर्फ पनि विचार पुर्याउनुपर्ने तर्क उनले गरे ।

सांसद राम बहादुर विष्टले जेष्ठ नागरिकले भत्ता बुझ्न बैक खाता खोल्नुपर्ने र पैसा बुझ्न बैकसम्म पुग्नुपर्ने बाध्यताका कारण दुर्गम स्थानमा समस्या भएको भन्दै वडा/वडा र दैलो दैलोमा जेष्ठ नागरिकलाई भत्ता पुर्याउने व्यवस्था हुन सक्छ वा सक्दैन भनी प्रश्न गरे ।

जवाफमा मन्त्री खतिवडाले त्यसका लागि पुर्वाधारको विकास गर्दे जानुपर्ने बताए ।

सांसद विरोध खतिवडाले निजी बैकले प्रत्येक गाउँपालिकामा पुग्ने प्रतिवद्धता गरेपनि कार्यान्वयमा उदासिनता देखाएकाले आर्थिक बर्षभरिमा सबै स्थानीय तहमा बैंकका शाखा पुग्नेमा मन्त्रीज्यु विश्वस्त हुनुुहुन्छ ? भनी प्रश्न गरे ।

सांसद प्रेम सुवालले निजी बैंक दुर्गममा पुग्न सक्ने कि सरकारी नसक्ने ? के सरकारी बैक निजी भन्दा कमजोर भइसकेको हो रु भनि प्रश्न गरे ।

सांसद डिला संग्रौला पन्त,दिव्यमणि राजभण्डारी र गगनकुमार थापाले विदेशी मुद्रा सटहीमा सरकारले निर्धारण गरेको सिमाबारे जिज्ञासा राखेका थिए । विदेश भ्रमणमा जादा नेपालीलाई दिएको सटही सुविभा २ हजार ५ सय डलर बाट घटाएर १ हजार ५ सय डलर भएको भन्दै अझै घटनाउने योजना त छैन भनि प्रश्न गरेका थिए ।

मन्त्री खतिवडाले नेपालीहरुको औषत खर्च गर्ने क्षमताको आधारमा सटही सुविधालाई निश्चित सिमामा ल्याउन खोजेको भन्दै सरकारको प्रयास विदेशी डलरको संचिति बढाउने रहेको बताए ।