खोटाङ – सगरमाथा राजमार्गमा पर्ने दिक्तेल–गाईघाट सडक खण्डमा पर्ने भँडारेघाटको सुनकोशी किनारमा २४ घर माझी समुदायको बसोवास छ । तर, अहिलेसम्म उक्त माझी बस्तीका सुब्बा माझी, भीम माझी र पदम माझीले मात्र एसएलसी उत्तीर्ण गरेका छन् ।


ADVERTISEMENT


नजिकमा माध्यमिक तह पढाइ हुने विद्यालय नहुँदा भँडारेघाटका अधिकांश माझी समुदायका विद्यार्थीले आधारभूत तहबाटै पढाइ छाड्ने गरेका छन् । नजिक भनिएका माविमा पुग्न साढे तीन घण्टा समय लाग्ने भएकाले भँडारेघाटका माझी समुदायका विद्यार्थीले बीचैमा पढाइ छाड्ने गरेका हुन् ।


ADVERTISEMENT

# # #


स्थानीयवासी सुजन माझी, सुजन माझी (क), डगेन्द्र माझी, कुशल माझी, विशाल माझी, मनकुमारी माझी लगायतले नजिकमा मावि नभएकै कारण कक्षा ८ पास गरेर पढाइ छाडिसकेका छन् । भँडारेघाटबाट साढे तीन घण्टा पैदल हिँडेर छोरम्बुको सापातेलस्थित मीना–कर्ण माविमा पुग्नुपर्ने बाध्यता भएका कारण माझी समुदायका विद्यार्थीले कक्षा ८ पास गरेपछि अध्ययनमा पूर्णबिराम लगाउने गरेको पञ्चकौशिका आधारभूत विद्यालयका प्रधानाध्यापक पवनकुमार बस्नेतले बताए ।

सुनकोशी किनारमा विद्यार्थीले मावि तहको पढाइ पूरा गर्न डेरा लिएर बस्नुपर्ने तर, त्यसका लागि आर्थिक अवस्था कमजोर भएकाले बीचैमा पढाइ छाड्ने गरेको पाइएको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ भँडारेघाटमा रहेको उक्त विद्यालयमा अध्ययनरत १९७ विद्यार्थीमध्ये ६७ विद्यार्थी माझी समुदायका रहेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानबहादुर माझीले बताए ।

विकट ठाउँमा रहेको उक्त विद्यालयमा खोटाङतर्फका भँडारेघाट, सानो भँडारे, रसुवाघाटका विद्यार्थी अध्ययनरत छन् । यसबाहेक खोटाङको हलेसी तुवाचुङ नगरपालिका र खोटेहाङ गाउँपालिकाका साथै उदयपुरको रौतामाई गाउँपालिकाको चनौटे, बिमिरे, बेलबोटे, सोरखु तथा लिङ्चिङबुङ गाउँपालिकाको लामाटार लगायतका विद्यार्थी समेत सुनकोशी तरेर विद्यालय आउने गरेका छन् ।

विसं २०४८ मा स्थापना भएको उक्त विद्यालयमा अहिले कक्षा ८ सम्म मात्र पढाइ हुने विद्यालयलाई यसै शैक्षिक सत्रबाट स्तरोन्नति गरेर कम्तीमा कक्षा १० सम्म सञ्चालन गर्ने तयारी गरिएको गाउँपालिका प्रमुख भुपेन्द्र राईले बताए ।
रासस