काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानलाई आत्मसात गरेर संविधानको मर्म र भावनाअनुरूप ऐन बनाउने, उपेक्षित, उत्पीडित र विभेदमा पारिएकालाई सन्तुष्ट नबनाउने हो भने मुलुकमा पुनः अर्को माओवादीले जन्म लिने र झन् ठूलो लडाइँ हुने बताएका छन् ।


ADVERTISEMENT


पूर्वमहान्यायाधिवक्ता मुक्ति प्रधानले लेखेको ‘न्यायिक समिति ः कार्यविधि र प्रक्रिया’ पुस्तक सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले नचाहँदा नचाहँदै फेरि एकपटक द्वन्द्व आउन सक्ने चेतावनी दिएका हुन् ।


ADVERTISEMENT

# # #


‘माओवादीलाई सिध्याइहालियो ठान्यो भने दुर्भाग्यपूर्ण हुन्छ । अर्को माओवादी जन्मिन्छ, झन ठूलो लडाइँ हुने खतरा आउँछ ।’ प्रचण्डले भने, ‘यदि हामीले शान्ति सम्झौतामा जे प्रतिज्ञा गर्यौँ र संविधानसभाबाट संविधान बनाउँदा जे जति अधिकार प्रत्यायोजन गर्ने कुरा गर्यौँ त्यो कुरालाई इमान्दारिताका साथ लागू गरिएन भने फेरि एक पटक हामीले नचाहँदा नचाहँदै द्वन्द्व आउन सक्छ।’

उनले पुरानै शैलीमा भ्रष्टाचार बढ्दै गए मधेस र पहाडमा नयाँ ढंगको विकराल स्थिति सिर्जना हुने दाबी गरे। आफूहरुले पुरानो संरचना, कार्यशैली र भ्रष्टाचारको रोगलाई निधान गर्ने परिकल्पना गरे पनि त्यो नभएको उनको भनाइ छ।

‘हामीले पुरानो संस्कृति पुरानो संरचना, पुरानो कार्यशैली र भ्रष्टाचारको पुरानै रोगलाई निधान गर्ने परिकल्पना गरेका थियौं’, प्रचण्डले भने, ‘तर, फेरि उस्तै जतासुकै भयो भने हामीले नगरे पनि हामी जहाँ छौँ त्यही उभिदा उभिदै देशमा, मधेसमा एउटा ढंगले र पहाडमा अर्को ढंगको विकराल स्थिति सिर्जना हुनसक्छ।’

अब सिर्जना हुने विकराल स्थितिलाई फेरि १२ बुँदे सम्झौता र शान्ति प्रक्रियाजस्तै गरी सहज निकास दिन नसकिने उनको भनाइ छ। यस्तै उनले शान्ति प्रक्रिया, बाह्र बुँदे समझदारीको मर्म र भावना विपरित प्रहरीमा दर्ता भएका २० वर्षे द्वन्द्वकालीन मुद्दामा धमामध पक्राउ गर्न थालिएको भन्दै चिन्ता व्यक्त गरे । “हिजोआज म सुन्दैछु– प्रहरीमा भएका मुद्दा भटाभट अघि बढाउने, प्रहरीले गएर पक्रन थाल्ने भइरहेको छ । २० वर्ष पछि फेरि उही ? शान्ति प्रक्रियाको मर्म र भावना एकातिर छ, त्यस्तो हुने ?,” उनको प्रश्न थियो ।