चितवन – एकसिङ्गे गैँडा गणना गर्न सरकारी बजेट नभएपछि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले दाताको खोजी गरिरहेको छ । विभागले मार्च/अप्रिलमा गैँडा गणनाको तयारी गरेको छ । तर बजेट नभएपछि दाताको खोजी गर्नुपरेको हो ।


ADVERTISEMENT


विभागका महानिर्देशक मनबहादुर खड्काका अनुसार गैँडा गणनाका लागि करिब एक करोड खर्च हुन्छ । त्यसका लागि यसअघि पनि सहयोग गरिरहेका दातृ निकायसँग सहयोगका लागि प्रस्ताव गरिएको उनले बताए । मार्च/अप्रिलमा गैँडा गणनाको तयारी गरिएको भए पनि बजेटको निक्र्यौल भइनसकेकाले मिति तय गर्न नसकिएको खड्काले बताए ।


ADVERTISEMENT

# # #


उनले भने, “हामीसँग पैसा छैन, दाता खोजिरहेका छौँ । दाताको टुङ्गोसँगै गणनाको मिति तय हुन्छ ।” यसअघि सन् २०१५ मा गैँडा गणना गरिएको थियो । गत वर्षको वर्षात्मा बाढीले धेरै गैँडा बगाएको र कालगतिका कारण धेरै गैँडा मरेकाले यो वर्षको गणनालाई महत्वका साथ हेरिएको छ । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले गैँडा गणना गर्न २५ दिन लाग्ने बताए । उनले चितवनको गणनाका लागि मात्रै रु एक करोड बजेट आवश्यक पर्ने भन्दै विभागमा माग गरिएको बताए ।

निकुञ्जमा गैँडा गणनाका क्रममा १७० जना जनशक्ति र ३५ हात्ती परिचालन गरिनेछ । ढकालका अनुसार रु ५१ लाख हाराहारी खानामा मात्रै खर्च हुने गर्दछ । यसका अतिरिक्त विभिन्न उपकरण, सवारीसाधन, हात्तीको खुराक, भत्तालगायतमा खर्च हुने गर्दछ । प्रत्यक्ष गणना गर्नुपर्ने भएकाले गैँडा गणनाका क्रममा निकुञ्जको पूरै भागको अवस्थासमेत थाहा हुनुपर्दछ । पछिल्लो गणनाअनुसार नेपालमा ६४५ गैँडा रहेका छन् जसमध्ये ६०५ चितवन राष्ट्रिय निकुञ्जमा मात्रै रहेका छन् । रासस