काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले प्रहरीको सरुवा बढुवामा कुनै गुनासो नआउने गरी काम गर्न प्रहरी अधिकारीहरुलाई निदेर्शन दिएका छन् ।


ADVERTISEMENT


मंगलबार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको प्रहरी निरीक्षकको १७८ औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीलले बढुवालगायतमा अब कसैले पनि हाकिम र उच्च तहकालाई रिझाउनु नपर्ने बताएका हुन् ।


ADVERTISEMENT

# # #


उनले प्रहरीको काम शान्ति र अमनचयन कायम गर्ने रहेको बताउँदै भने, ‘हाकिम र माथिकाको दलाली नगर्नुस्, प्रहरी दलाली गर्न होइन, दमन गर्न पनि होइन । प्रोमोशन हुनको लागि कसैलाई रिझाउनु पर्दैन । कार्यसम्पादन मूल्यांकनको आधारमा प्रमोशन गर्न न्यायोचित प्रणाली स्थापना गर्न निर्देशन भइसकेको छ।’

उनले न्यायोचित प्रणालीको विकासपछि सरुवा बढुवालगायतमा कसैले पनि भेदभाव भएको महसुस गर्न नपर्ने भन्दै गर्वका साथ कार्यक्षेत्रमा खटिन प्रहरी कर्मचारीलाई निर्देशन दिए । प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वको सरकार ढल्ने सम्भावना नभएको पनि उक्त अवसरमा बताए । सुशासन र विकासको क्षेत्रमा धेरै काम गरेर मात्रै सरकार बिदा हुने उनको भनाइ छ ।

प्रहरी अधिकृतहरूतर्फ लक्षित गर्दै प्रधानमन्त्रीले भने, ‘कसैलाई नौ–नौ महिनामा सरकार परिवर्तन हुन्छ भन्ने लागेको होला, तर यो सरकार हट्नुभन्दा अगाडि धेरै कुरा थितिमा ल्याउँछ ।’ प्रहरी जवानदेखि उच्च अधिकृत कसैले पनि अब संगठन भेदभावको अनुभूत गर्न नपर्ने उनको भनाइ थियो । प्रधानमन्त्रीले भने, ‘नेपाल सरकारले कोशेली र चाकडीको अपेक्षा गर्दैन ।’

यस्तै कार्यक्रममा गृहमन्त्री रामबहादुर थापाले प्रहरीको नीतिगत तहबाहेकमा राजनीतिक हस्तक्षेप नभएको भन्दै प्रहरीलाई चनाखो भएर कार्यसम्पादन गर्न आग्रह गरे ।

यस्तै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरीमैत्री नागरिक र नागरिकमैत्री प्रहरी आजको आवश्यकता रहेको भन्दै असल प्रहरी बन्न असल नागरिक बन्न अपरिहार्य रहेको भन्दै उनले नयाँ पास आउट भएका प्रहरीलाई असल चरित्र निर्माण गर्न आग्रह गरे । उनले प्रधानमन्त्री ओलीको म भ्रष्टाचार गर्दिनँ र गर्न दिन्नँ भन्ने अभियानलाई साकार पार्नका लागि दत्तचित्त भएर लाग्न प्रहरी अधिकारीहरुलाई निर्देशन दिए ।

सो अवसरमा ८३ पुरुष र १२ महिला गरी कूल ९५ इन्सेक्टर पास आउट भएको जानकारी दिइयो । यस्तै तालिमका क्रममा प्रथम द्धितीय र तृतीय भएकाहरुलाई सम्मानित पनि गरिएको थियो ।