काठमाडौँ– चितवनको भरतपुरमा धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण गर्ने गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका लागि मलेसियाबाट ३५ लाख ७१ हजार सहयोग रकम संकलन भएको छ ।


ADVERTISEMENT


सिटी एक्सप्रेस मनि ट्रान्सफरको आयोजनामा मलेसियामा सम्पन्न ‘सिटी एक्सप्रेस धुर्मुस सुन्तली साँझ २०७५’ मार्फत उक्त रकम उठेको हो । कलाकार तथा फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस)का अनुसार मलेसियामा भएका कार्यक्रम स्थलबाट नेपाली २० लाख ७१ हजार रङ्गशाला अभियानलाई सहयोग प्राप्त भएको छ भने आयोजक सिटी एक्सप्रेसको तर्फबाट रु. १५ लाख थप गरी जम्मा ३५ लाख ७१ हजार पुगेको हो ।


ADVERTISEMENT

# # #


मलेसियाका तीन वटा शहरहरु क्वालालम्पुर, जोहोर बाह्रु र पेनाङमा अत्यन्तै सफलतापूर्वक कार्यक्रम सम्पन्न भएको र दर्शकले खुलेर सहयोग गरेको धुर्मसले बताए । उनले मलेसियामा नेपालीहरुले देखाएको उत्साह र सकारात्मक सहयोगले हर्षित तुल्याएको बताए ।

उनले मलेसियामा रहेका व्यवसायी, समाजसेवी एवम् कम्पनीमा कार्यरत नेपालीले यस अभियानलाई सहयोग गर्न मलेसियाको पुनः भ्रमणका लागि निम्तो दिएको जानकारी दिए ।

फेब्रुअरी ५ देखि १० सम्म आयोजना भएको उक्त कार्यक्रममा धुर्मुसका साथै उनकी श्रीमती तथा कलाकार कुञ्जना घिमिरे (सुन्तली), गायक बद्री पंगेनी, गायिका मेलिना राई तथा सम्झना भण्डारीले प्रस्तुती दिएका थिए ।

धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण गर्ने रंगशालाको लागत ३ अर्ब रहने बताइएको छ ।