काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल पानीजहाज कार्यालयको उद्घाटन गरेका छन् । ओलीले ललितपुरको एकान्तकुनामा स्थापना गरिएको पानीजहाज कार्यालय आज बिहीबार उद्घाटन गरेका हुन् ।


ADVERTISEMENT


सरकारले नेपाल पानीजहाज कार्यालयका लागि राजपत्राङ्कित प्रथम श्रेणी प्राविधिकतर्फका रजिष्ट्रारको नेतृत्वमा १६ को दरबन्दी स्वीकृत गरिसकेको छ ।


ADVERTISEMENT

# # #


मन्त्रिपरिषद्को पुस २९ गतेको बैठकले वरिष्ठ डिभिजनल इञ्जिनीयर एक, शाखा अधिकृत एक, कानून अधिकृत एक, लेखा अधिकृत एक, मेकानिकल, राजमार्ग र सिँचाइतर्फका इञ्जिनीयर एक एक गरी तीन, सहायक र कार्यालय सहयोगी गरी आठ जना कर्मचारीको दरबन्दी स्वीकृत गरेको थियो । पानीजहाज ऐन २०२७ अनुसार कार्यालय स्थापना भएको हो ।

कार्यक्रममा बोल्दै भौतिक योजना तथा पूर्वाधार मन्त्री रघुवीर महासेठले प्रधानमन्त्रीको निर्देशनमा कार्यालय स्थापना गरिएको र छिट्टै राष्ट्रिय झण्डा राखेर पानी जहाज कुदाउने बताए । सडक र हवाईभन्दा जलमार्गबाट सामान ढुवानी गर्न वातावरणीय दृष्टिले उपयुक्त हुने भन्दै उनले नेपाल जस्तो भुपरिवेष्टित राष्ट्रका लागि यो गौरवको कुरा भएको बताए ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

सम्बन्धित समाचार : नेपाल अब पानीजहाज युगमा प्रवेश गर्यो, छिट्टै टिकट काट्न पाइन्छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीले गत वर्ष फागुनमा भारत भ्रमणबाट फर्किएलगत्तै यातायात र उद्योग मन्त्रालयका अधिकारीसँग पानीजहाज सञ्चालनबारे छलफल गरेका थिए । सो छलफलमा उनले पानीजहाज सञ्चालनसम्बन्धी विस्तृत योजना बनाउन निर्देशन दिएका थिए ।

महत्वाकांक्षी मानिएको पानी जहाज चलाउने योजनालाई सफल बनाउन सरकारले छिमेकी मुलुक भारतसँग गत साउन महिनामा पहिलोपटक छलफल गरेको थियो । भारतको अन्तरदेशीय जलमार्गसँग नेपालको जलमार्गलाई जोड्ने गरी हाल गृहकार्य भइरहेको बताइएको छ ।

भारतको अन्तरदेशीय जलमार्ग प्राधिकरणले गंगा नदीको हल्दीपुरसम्म पानीजहाज चलाउन पूर्वाधार बनाउने काम सुरु गरिसकेको छ । हल्दीपुर नेपालको सीमाबाट करिब २७५ किलोमिटर टाढा पर्दछ ।