काठमाडौँ– प्रदेश नं. १ को सरकार निर्माण भएको एक वर्ष पूरा भएको छ । प्रदेशका मुख्यमन्त्री शेरधनराईले आफ्नो नेतृत्वमा बनेको सरकारले पहिलो एक वर्षमा जनताले सोचेजस्तो विकास गर्न नसके पनि त्यसको आधार तयार पारेको दाबी गरेका छन् । शून्य अवस्थाबाट प्रदेश सरकार अघि बढेकाले चाहेजस्तो गति समात्न नसकेको मुख्यमन्त्री राईको स्वीकारोक्ति छ ।


ADVERTISEMENT


‘स्थानीय तह विगतमा स्थानीय निकायका रुपमा अस्तित्वमा थिए । जसको आधारमा स्थानीय तहहरु निर्माण भएका छन् । तर प्रदेशको हकमा भने फरक छ । विगतमा नभएको संरचनाका रुपमा शून्य अवस्थाबाट हामी अगाडि बढ्दैछाँ’ एक विज्ञप्ती जारी गर्दै मुख्यमन्त्री राईले भनेका छन्, ‘सुरुका केही महिना हामीलाई संरचना, कर्मचारी र कार्यालयहरु व्यवस्थापनमा बित्यो । चाहिएअनुसार कर्मचारी नआएपछि हामीले गर्न खोजेका काम छिटो छरितो ढंगले अगाडि बढ्न सकेनन् ।’


ADVERTISEMENT

# # #


यस्तै उनले आफ्नो सरकारको पहिलो वर्ष कानुन निर्माण र आवधिक योजना निर्माणको वर्षको रुपमा रहेको बताउँदै उनले अबका दिनमा प्रदेशलाई सुशासन र विकासको लागि भरोसा गर्ने निकाय बनाउने दाबी गरे । उनले भने, ‘ प्रदेशप्रति जनतालाई जोड्नका लागि हामी लागिरहेका छौं । हामी विकास र सुशासनमा जनताले आशा र भरोसा गर्ने निकायका रुपमा प्रदेशलाई स्थापित गर्दैछौं ।’

उनले यो एक वर्षमा २४ वटा ऐन पारित गरेको र दर्जनौँ निर्देशिका र कार्यविधि तयार पारेको बताएका छन् । कृषि क्षेत्रको आधुनिकीकरण, व्यवसायीकरण र बजारीकरणलाई मुख्य जोड दिएको भन्दै उनले सहकारीलाई कृषिसँग जोड्न, किसानका उत्पादनलाई बजारसम्म जोड्न योजना बनेको उल्लेख गरेका छन् ।

प्रदेशलाई आत्मनिर्भर अर्थतन्त्र भएको प्रदेश बनाउन हरित अभियान घोषणा गरेको भन्दै उनले प्रदेशको समृद्धिको आधार पर्यटनसँग जोडिएकाले ‘एक नम्बर प्रदेशको शान, सबैको अनुहारमा मुस्कान’ को नारा सहित पर्यटन पूर्वाधारलाई जोड दिएको उल्लेख गरेका छन् ।

शिक्षा र स्वास्थ्यलाई सबैको पहुँचमा ल्याउनका लागि विभिन्न किसिमका योजनाहरु ल्याउने तयारी भइरहेको मुख्यमन्त्री राईले बताएका छन्  ।