काठमाडौं– ७८ लाख घुस लिएको आरोप लागेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले राजीनामा दिएका छन् । उनले शुक्रबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामा दिएका हुन् ।


ADVERTISEMENT


पाठकमाथि संसदले महाअधियोग दर्ता गर्ने तयारी गरिरहेका बेला उनले राजीनामा दिएका हुन् । पाठकमाथि भक्तपुरस्थित नेपाल इन्जिनियरिङ कलेजको विवाद मिलाइदिने भन्दै ७८ लाख घुस लिएको आरोप लागेको थियो । सत्तारुढ नेकपाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकविरुद्ध महाअभियोग लगाउने तयारी समेत गरेको थियो ।


ADVERTISEMENT

# # #


पाठकले घुस लिएको स्विकारेको भिडियोसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र आयोगका प्रमुख आयुक्त नवीन घिमिरेसमक्ष उजुरी परेपछि महाअभियोगको तयारी भएको थियो ।

अख्तियारजस्तो संवैधानिक अंगमा रहेको व्यक्तिमाथि कारवाहीको पहिलो प्रक्रिया भनेको महाअभियोगको कारवाही हो । तर, पाठकले महाअभियोगबाट जोगिनलाई अगाडि नै राजीनामा दिएका छन् ।

तर, यसवीचमा राष्ट्रपतिले राजीनामा स्वीकृत नगरेको अवस्थामा पाठकमाथि महाअभियोगको कारवाही चल्न सक्ने स्रोतको भनाइ छ । राजीनामा स्वीकृत भएको अवस्थामा चाहिँ पाटकमाथि कारवाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समेत बाटो खुल्ने छ ।

संवैधानिक पदाधिकारीहरुमाथि अख्तियारले कारवाही चलाउन नसकेपछि पूर्वपदाधिकारी माथि कारबाही गर्ने अधिकार अख्तियारसँग मौजुद छ ।