काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सह-महामन्त्री एवम् पूर्व परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारको एक वर्ष पूरै असफल भएको आरोप लगाएका छन् ।


ADVERTISEMENT


शुक्रबार रिपोर्टर्स क्लबमा बोल्दै नेता महतले यो एक वर्षमा सरकारले जनतालाई पुरै निराश तुल्याएको आरोप लगाएका हुन् । उनले भने, ‘सरकारले सुखी नेपाली र समृद्ध नेपाल भनेर अत्यन्तै राम्रो नारा ल्यायो । तर, यो एक वर्षमा जनता पुरै निराश भए । देश समृद्ध भयो त ? भएन ।’


ADVERTISEMENT

# # #


उनले मुल्यवृद्धि आकाशिएको, व्यापार घाटा बढेको र लगानी घटेको दृष्टान्त पेश गरे । त्यस्तै उनले संस्थागत भ्रष्टाचार बढिरहेको पनि आरोप लगाए । मेलम्ची खानेपानी आयोजना अनिश्चित् बनेको पनि उनको आरोप छ । उनले थपे,‘उता बुढीगण्डकीको कथापनि त्यस्तै छ । एनसेलको कर छलीमा अदालतले कर उठाउन भनेको छ, हामी हेरिरहेका छौं ।’ महतले सरकारले लोकतान्त्रिक संस्थाको स्वतन्त्र रुपमा काम गर्ने ‘स्पेश’ लाई नै समाप्त पारेको आरोप लगाए ।

परराष्ट्र नीतिमा पनि वर्तमान सरकार पुरै असफल भएको उनको आरोप छ । उनले भने,‘काठमाडौंमा विम्स्टेक शिखर सम्मेलन हुँदा भारतसँग संयुक्त सैन्य अभ्यास गर्ने र हामी भाग लिन्छौं भनेर सरकारले भन्यो, तर पछि भाग लिनबाट पछाडि हट्यो । हाम्रो परराष्ट्र नीतिको त्यस्तो हालत छ ।’ एशिया प्यासिफिक समिटमा पनि सरकार नै संरक्षक बनेको र प्रधानमन्त्री केपी शर्मा ओली तीन दिनसम्म होटेलमै बसेको भन्दै महतले आलोचना गरे ।

भेनेजुयला प्रकरणमा सरकारले जारी गरेको विज्ञप्तीबारे टिप्पणी गर्दै उनले भने,‘भेनेजुयलालाई यो सरकारले रोलमोडल बनाउन खोजेको हो ?, भेनेजुयलामा लाखौं गुणा मुल्यवृद्धि छ । लाखौं मान्छेहरु देश छोडेर भागेका छन् । अब त्यो देशलाई हाम्रो रोलमोडल बनाउन खोजेको हो ?’

उनले नेपाललाई लगातार सहयोग गर्ने अमेरिकाजस्तो देशलाई अनेकौं विशेषण हालेर गाली गर्ने काम भएको भन्दै आपत्ति जनाए । प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने, सामाजिक सञ्जाललाई नियन्त्रण तथा निषेध गर्न खोजिएको भन्दै उनले सरकारको आलोचना गरे ।

फरक प्रसँगमा उनले हालै सरकारले सार्वजनिक गरेको ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ अन्तर्गत रोजगार नभएमा बेरोजगार भक्ता दिने भनेर गरिएको व्यवस्थाको भने कडा आलोचना गरे ।