काठमाडौँ– तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटमा दीपेन्द्र सिंह ऐरी नेतृत्वको सीवाइसी अत्तरिया समूह विजेता हुँदै दोस्रो चरणमा प्रवेश गरेको छ । मंगलबार भएको खेलमा अत्तरियाले काठमाडौँलाई ७ विकेटले पराजित गरेको हो ।


ADVERTISEMENT


धनगढीको फाप्ला मैदानमा टस जितेर ब्याटिङ रोजेको काठमाडौँले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै ७५ रन मात्रै बनाउन सक्यो । ७६ रनको चुनौति अत्तरियाले १७ ओभरमा ३ विकेट गुमाएर ७९ रन बनाएर पूरा गर्यो । अत्तरियालाई जित दिलाउने क्रममा ओपनर जयकिशन कोल्सावालाले सर्वाधिक रन बनाए । उनले ४२ बलमा ५ चौका प्रहार गरे ।


ADVERTISEMENT

# # #


यस्तै कप्तान दीपेन्द्र सिंह ऐरीले नटआउट रहेर २० रन जोडे । उनले ११ बलमा ३ चौका हाने । यस्तै प्रेम तामाङले १० रन बनाउँदा सुभेन्दु पोण्डेले ५ रन जोडे । सन्दीप जोरा ७ रनमा नटआउट रहे । काठमाडौँका लागि ललित राजवंशी, सूर्य तामाङ र राशिद खानले समान १/१ विकेट लिए ।

यसअघि काठमाडौँको ब्याटिङ राम्रो हुन सकेन । काठमाडौँका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ३२ रन बनाए । उनले ४९ बलमा २ चौका प्रहार गरे । यस्तै योगेन्द्र सिंह कार्कीले १३ रन बनाउँदा अंकित दावसले १० रन जोडे । अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।

यता अत्तरियाको बलिङ उत्कृष्ट रह्यो । उसका लागि कप्तान दीपेन्द्र सिंह ऐरीले २ ओभरमा ४ रन दिएर ३ विकेट चट्काए । यस्तै रामनरेश गिरीले ४ ओभरमा २३ रन खर्चिएर २ विकेट लिए भने भुवन कार्की र सन्नी पटेलले समान १/१ विकेट आफ्नो नाममा लेखाए ।

आजको जितसंगै अत्तरिया समूह विजेता बनेको छ । अब अत्तरियाले फाइनल प्रवेशका लागि बुधबार काठमाडौँसंग नै खेल्नेछ ।