काठमाडौँ – आईसीसी टी–२० महिला विश्वकप क्रिकेटअन्तर्गत एसिया क्षेत्र छनोटमा नेपालले चौथो जित हात पारेको छ । सोमबार भएको खेलमा चीनलाई ५ रनले पराजित गरेको हो ।


ADVERTISEMENT


थाइल्यान्डको बैँककस्थित ट्रेडथाई क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ७७ रन बनायो । ७८ रनको विजयी लक्ष्य पच्छ्याउँदै मैदान उत्रिएको चीनले निर्धारित २० ओभरमा ६ विकेटको क्षतीमा ७२ रन मात्रै बनाउन सक्यो ।


ADVERTISEMENT

# # #


चीनका लागि जाङ मेईले सर्वाधिक ३३ रन प्रहार गरिन् । अन्तिम ओभरमा जितका लागि १६ रन चाहिएको अवस्थामा रन आउट हुनुअघि उनले ९ रन बनाइन् । उनले ३९ बलमा दुई चौका प्रहार गरेकी थिइन् । यस्तै चियून जोउले ६१ बलमा १८ रन जाडेकी थिइन् ।

यता नेपालका लागि सीता रानामगरले उत्कृष्ट बलिङ गरिन् । उनले चार ओभरमा १९ रन खर्चिएर ३ विकेट लिइन् । यस्तै कविता कुँवरका नाममा एक विकेट रह्यो ।

यसअघि नेपालका लागि काजल श्रेष्ठले सर्वाधिक १८ रन बनाइन् । उनले ३२ बलमा एक चौका प्रहार गरिन् । यस्तै सरिता राना मगरले ११ रन बनाउँदा विन्दु रावलले १० रन जोडिन् । अन्यले दोहोरो अंक छुन सकेनन् ।

चीनका लागि हान लिलि र वाङमेङ समान २/२ विकेट लिए । उ जौन, ली हाओइ र लिउ जाईले समान १/१ विकेट हात पारे ।  प्रतियोगिताको शीर्ष स्थानमा रहने टोलि आगामी २०२० मा अष्ट्रेलियामा हुने टी २० विश्वकप र २०२१ मा हुने एक दिवशीय विश्वकपको ग्लोबल छनोटमा पुग्नेछ ।  नेपालले आफ्नो अन्तिम खेल कुवेतसंग खेल्दैछ ।

पाँच खेलमध्ये चारमा जित हात पारेको नेपाल अंकतालिकाको तेस्रो स्थानमा रहेको छ । विश्वकप छनोटमा पुग्नका लागि नेपालले कुवेतसंग जितेरमात्रै पुग्दैन, युएईले थाइल्याण्डलाई हराउनु पर्नेछ । त्यसका लागि रनरेटमा सुधार आवश्यक छ । अंक तालिकामा शीर्ष स्थानमा थाइल्याण्ड छ । उसले पाँच खेलमा सबैमा जित हात पारेको छ । यस्तै युएईले पाँचमध्ये चारमा जित निकालेको छ ।