वीरगञ्ज – वीरगञ्जमा अश्वमेध गायत्री महायज्ञ शुरु भएको छ । ४ दिनसम्म चल्ने महायज्ञको आइतवार अखिल विश्व गायत्री परिवारका अध्यक्ष डा. प्रणव पाण्ड्याले द्वीप प्रज्ज्वलन गरी उद्घाटन गरेका छन् ।


ADVERTISEMENT


राष्ट्रपति विद्यादेवी भण्डारीबाट महायज्ञको उद्घाटन तय भएकोमा अन्तिम समयमा राष्ट्रपतिको आगमन स्थगित भएको थियो । राष्ट्रपति नआउने भएपछि अध्यक्ष पाण्ड्याबाट महायज्ञ उद्घाटन गराइएको हो । उद्घाटन समारोहमा राष्ट्रपतिको सन्देश पढेर सुनाइएको थियो ।


ADVERTISEMENT

# # #


वीरगञ्जको आदर्शनगर रंगशालमा शुरु भएको महायज्ञ उद्घाटन गर्दे पाण्ड्याले धर्म र संस्कृतिको संरक्षण र सम्बर्द्धनले नै मानिसलाई चरित्रवान बनाउने बताए । वीरगञ्जको महायज्ञको उत्साहजनक सहभागिता रहेको भन्दै अध्यक्ष पाण्ड्याले प्रशंशासमेत गरे । अध्यात्म विश्व शान्ति र समृद्धिको मुहान भएको उनले बताए ।

महायज्ञ आयोजक अश्वमेध गायत्री महायज्ञ मूल आयोजक समितिका अध्यक्ष डा। उपेन्द्र महतोले अध्यात्म र सद्भाव नै आर्थिक समृद्धि र सुखको आधार भएको दाबी गरे । नेपाललाई शान्ति, सद्भाव र सहकार्यको सवालमा नमूनाको रुपमा विश्वसामु चिनाउन सकिने भन्दै महतोले अध्यात्मबाटै सुख र समृद्धिको सार्थकता हात लाग्ने दाबी गरे ।

संयोजक विजयकुमार सरावगीले गायत्री परिवारले आयोजना गरेको महायज्ञको अध्यात्मिकमात्र नभएर वैज्ञानिक महत्व रहेको बताए । अध्यात्म, सद्भाव, सामाजिक एवम् वैयक्तिक जीवनका दुर्गुणहरूको निकास गायत्री परिवारको उद्देश्य भएको उनले बताए । समाजका खराबीको निराकरण गरी शान्त, समृद्ध र सुखी जीवन निर्माण नै महायज्ञको उद्देश्य भएको सरावगीले बताए ।

उद्घाटनअघि वीरगञ्जको घण्टाघरबाट निकालिएको कलशयात्रा नगर परिक्रमा गरी यज्ञस्थल पुगेको थियो । महायज्ञका लागि नेपाल तथा भारतका विहार, यूपी, उत्तराखण्ड, झारखण्ड, दिल्ली, हरियाणा, महाराष्ट्र, मध्यप्रदेश, राजस्थान, गुजरातसहित ४० देशबाट ५ लाख श्रद्धालुहरू वीरगञ्ज आउने दाबी गरिएको छ । २५१ हवनकुण्डमा पूजन तथा हवन गरिने बताइएको छ । एक पटकमा १ हजार ५०० जनाले हवन गर्न सक्ने सरावगीले बताए । आगन्तुकलाई निःशुल्क भोजन, आवास तथा औषधोपचारको व्यवस्था मिलाइएको आयोजकले बताएको छ ।