काठमाडौं – अस्थायी करार शिक्षक केन्द्रीय संघर्ष समिति नेपालले संघीय शिक्षा ऐनमा २०७२ असोज २ गतेपछि नियुक्त अस्थायी करार शिक्षकहरुलाई आन्तरिक प्रक्रियामा समावेश गर्नुपर्ने माग गरेको छ । समितिले सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै यस्तो माग गरेको हो ।


ADVERTISEMENT


समितिका संरक्षक भरत केसीले यसअघि शिक्षा मन्त्रालय र नेपाल शिक्षक महासंघबीच भएको २० बुँदे सहमति अक्षरंश पालना गर्नुपर्नेमा जोड दिए ।  उनले भने, ‘प्रस्तावित संघीय शिक्षा ऐनको मस्यौदामा हाम्रा मागहरु समावेश गरिएका छैनन् । ती छुटाईएको कुरालाई ऐनमा समावेश गर्नुपर्छ ।’


ADVERTISEMENT

# # #


उनले देशभरि कार्यरत करिब १३ हजार अस्थायी करार शिक्षकहरुमाथि गरिएको अन्याय आफूहरुलाई मान्य नभएको चेतावनी दिए । संरक्षक केसीले यसअघि पनि आफूहरुलाई शिक्षा ऐनको नवौं संशोधनको मस्यौदामा (२०६७ माघ १० गतेदेखि २०७३ चैत्र १९ गते) सम्मलाई ६० प्रतिशत आन्तरिक र ४० प्रतिशत खुल्ला गर्नेगरि नेपाल सरकार मन्त्रिपरिषदबाट निर्णय भएको सुनाए ।

कार्यक्रममा समितिका अध्यक्ष हरिवंश पराजुलीले प्रस्तावित संघीय शिक्षा ऐनको मस्यौदामा परीक्षामा फाराम नभरेका अस्थायी करार शिक्षकहरुलाई आन्तरिक परीक्षाको नतिजापछि अवकाश दिने भनेर ल्याईएको आरोप लगाए ।

‘यो अन्यायपूर्ण छ । एउटै विद्यालयमा कार्यरत विभिन्न प्रकारका शिक्षक कर्मचारीलाई आन्तरिक प्रक्रियामा लैजानेगरि ऐनको मस्यौदा अगाडि ल्याईएको छ ।’ उनले भने, ‘२०७२ असोज २ गतेपछि नियुक्त करार शिक्षकहरुलाई कुनैपनि कुरा ऐनको मस्यौदामा समेटिएको छैन् । यो कुराप्रति हाम्रो गम्भिर ध्यानाकार्षण भएको छ ।’

पराजुलीले २०७२ असोज २ गते अघिका शिक्षकहरुलाई आन्तरिक परीक्षा र गोल्डेन ह्याण्डसेक दुवै दिईएको तर आफूहरुलाई दुवै प्रक्रियामा सहभागी हुनबाट बञ्चित गराईएको दुःखेसो पोखे । उनले भने,‘यो मौलिक हकको ठाडो उल्लघंन हो । राज्यले संविधानको पालना गर्दैन् भने १३ हजार करार शिक्षकहरु विद्रोहमा आउँछौं ।’

समितिका अध्यक्ष पराजुलीले आफूहरुले आन्दोलनका कार्यक्रमहरु समेत घोषणा गरेको जनाए । जसअन्तर्गत २०७५ फागुन २१ गतेबाट फागुन २५ गतेसम्म शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा विहान १० बजेदेखि चार बजेसम्म रिले अनशन गर्ने र यसबाट पनि माग पूरा नभए २०७५ फागुन २५ गतेबाट देशभरिका सामूदायिक विद्यालयहरु ठप्प पारेर काठमाडौं केन्द्रित आन्दोलन गर्ने र आमरण अनशनलगायतका कार्यक्रमहरु रहेका छन् ।

कार्यक्रममा समितिका उपाध्यक्ष मुकुन्द पोखरेलले विज्ञप्ती वाचन गरेका थिए । उनले आफूहरुको माग तत्काल सुनुवाई नभए सरकारविरुद्ध सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिए ।

त्यस्तै, कार्यक्रममा समितिका प्रदेश नम्बर ६ का संयोजक कर्ण केसी र प्रदेश नम्बर ३ का संयोजक बहादुर तामाङ वाईबाले आफूहरुले अघि सारेका मागहरु जायज भएकोले सरकारले तत्काल सम्बोधन गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रमको सञ्चालन समितिका नुवाकोट जिल्ला संयोजक तथा पत्रकार भरत सन्तोषी ‘तामाङ’ ले गरेकी थिईन् । उक्त कार्यक्रममा ७७ वटै जिल्लाका जिल्ला संयोजकहरुलगायत करार शिक्षकहरुको उपस्थिति रहेको थियो ।