कैलाली– टीकापुर घटनाको मुद्दाको बहस सकिएसँगै जिल्ला अदालत कैलालीले आज बुधबार फैसला गर्ने तयारी गरेको छ । यसअघि मुद्दाको ६ दिनसम्म बहस चलेर मंगलबार सकिएको थियो ।


ADVERTISEMENT


पुर्पक्षका लागि कारागारमा रहेका सांसद रेशम चौधरीसहित २७ जनाविरुद्धको मुद्दामा आज फैसला हुनेछ । टीकापुर घटनामा संलग्नको अभियोगमा ५८ जना विरुद्ध कैलाली जिल्ला अदालतमा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाका चोरीमा मुद्दा चलिरहेको छ । फरार रहेकाहरुको मुद्दा भने मुल्तवीमा रहने अदालतले जनाएको छ । जिल्ला न्यायाधीश यज्ञराज भट्टराईको इजलासमा वादी र प्रतिवादीका तर्फबाटको बहस मंगलबार सकिएको थियो ।


ADVERTISEMENT

# # #


प्रतिवादीका तर्फबाट बरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे, हरि फुयाल, मिलन राई, गजेन्द्रबहादुर केसी, गंगाराम पाध्याय, गम्भीरसिंह ऐर, बीरबहादुर जेठारा, नाथुराम महतो, जुहारीलाल चौधरी, भरत सिंह, दयाराम चौधरी, इन्द्र लेखक, प्रयागदत्त भट्ट, गोपालकृष्ण घिमिरेले बहस गरेका थिए ।

वादीका तर्फबाट जिल्ला न्यायाधिवक्ता विष्णु पौडेल र सहन्यायाधिवक्ता लक्ष्मीकिशोरी शर्माले बहस गरेका छन् । यो मुद्दामा ७३ जना साक्षीको बकपत्र गरिएको थियो ।

थरुहट आन्दोलनका क्रममा ७ भदौ २०७२ मा टीकापुरमा नेपाल प्रहरीका तत्कालिन एसएसपीसहित ८ सुरक्षाकर्मी र एक नाबालकको हत्या भएको थियो । घटनाका अभियुक्त रेशम चौधरी फरार अवस्थामै कैलाली क्षेत्र नम्बर १ बाट गत वर्ष मंसिरमा भएको प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएर निर्वाचित भएका थिए ।

निर्वाचित भएको केही समयपछि जिल्ला अदालतमा आत्मसमर्पण गरेका चौधरी अदालतकै आदेशमा पुर्पक्षका लागि थुनामा छन् । थुनामै रहेका चौधरी केही समय अघि सांसदको सपथग्रहण गरिसकेका छन् ।