काठमाडौँ – आज अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा महिला नेतृहरुले महिला अधिकार स्थापनाका लागि आन्दोलन अझै आवश्यकता रहेको बताएका छन् ।


ADVERTISEMENT


दिवसको अवसरमा रिपोर्टर्स क्लबमा विभिन्न दलका नेतृ तथा महिला अधिकारकर्मीहरुले नेपालमा अझै पनि महिला पुरुषबीचको समानता स्थापित हुन नसकेकाले संघर्ष जारी राख्नुपर्ने बताएका हुन् ।


ADVERTISEMENT

# # #


साक्षात्कारमा नेपाल महिला संघकी अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य उमा रेग्मीले चुल्होदेखि शाषनसम्म महिलाको सहभागिता पुरुष सरह बनाउका लागि संघर्षको आवश्यकता रहेको बताइन् । विगतमा भएको महिला आन्दोलनले राज्यका विभिन्न निकायमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित भएको उल्लेख गर्दै रेग्मीले यसलाई सकारात्मक रुपमा लिनुपर्ने बताइन् ।

नीतिगत कुरामा मात्रै नभई घरेलू कुरामा पनि महिला पुरुषबीच समानता हुनुपर्ने उनले बताइन् । “शाषक र शाषित होइन । मालिक र दास होइन । श्रीमानले भात पकाउन र तरकारी काट्न किन हुँदैन ?” रेग्मीले प्रश्न गरिन् । उनले निर्मला पन्तका बलात्कारी र हत्यारालाई सरकारले नै लुकाएको आरोप लगाइन् । पुरुषहरुले नै भ्रष्टाचार गर्ने भएकाले विभिन्न निकायको नेतृत्व महिलालाई दिने हो भने नेपालमा भ्रष्टाचारसमेत कम हुने उनले दाबी गरिन् ।

महिलालाई संसदमै विभेद !

यस्तै कार्यक्रममा राष्ट्रिय जनता पार्टीकी महामन्त्री तथा सांसद चन्दा चौधरीले पछिल्ला केही वर्षमा महिला आन्दोलनको उपलब्धि देखिए पनि पर्याप्त नभएको तर्क गरिन् ।

आरक्षण र ३३ प्रतिशतको बाध्यकारी नियमले मात्रै महिलाको सहभागिता बढेको उल्लेख गर्दै चौधरीले स्थानीय निकायमा प्रमुख जति सबै पुरुष उपप्रमुखजति महिलालाई दिइएको गुनासो गरिन् ।

चौधरीले पनि निर्मलाका बलात्कारीलाई सरकारले नै लुकाएको आरोप लगाइन् । “निर्मला पन्तको हत्यारा पत्ता लागिसेकेको छ । तर सरकारले लुकाएको छ । गरिब र निमुखालाई मात्रै नियम लाग्ने हो ?” उनले भनिन् ।

चौधरीले समाजमा मात्रै नभै संसदमा पनि महिला हिंसा हुने गरेको उल्लेख गरिन् । बजेट वितरणमा महिला सांसदलाई विभेद गरिएको उनको गुनासो थियो । चुनावकै बेला समानुपातिकतर्फ राख्ने अनि बजेट दिने बेलामा प्रत्यक्षतर्फका सांसदलाई धेरै दिने गरिएको उनको आरोप थियो ।

“संसदमा महिलालाई शोपिस बनाइयो । अब हामीलाई समानुपातिकबाट ल्याउनुपर्दैन । प्रत्यक्षमा चुनाव लड्न तयार छौँ ।” उनले भनिन् ।

सरकारले निर्मला पन्तका बलात्कारी लुकाएको छैन : शान्ता चौधरी

यता नेकपाकी सांसद शान्ता चौधरीले अधिकार प्राप्तीका हिसाबले पछिल्लो समयको अवस्था सन्तोषजनक रहेको बताइन् । महिला संघर्षको उपलब्धिस्वरुप प्राप्त उपलब्धिलाई रक्षा गर्दै थप अधिकारका लागि अघि बढ्नुपर्नेमा उनले जोड दिइन् ।

निर्मला पन्तको बलात्कारीलाई सरकारले लुकायो भन्ने आरोपप्रति चौधरीले गम्भीर आपत्ती जनाइन् । पछिल्लो समय निर्मला प्रकरण नै सरकारको प्रमुख मुद्धा भएको दावी गर्दै उनले यो सरकारले बलात्कारी लुकायो भन्नेहरु दुई तिहाई सरकारदेखि डराउनेहरु मात्रै भएको तर्क गरिन् ।

निर्मला प्रकरणबारे संसदमा प्रधानमन्त्री र गृहमन्त्रीले पटक पटक जवाफ दिइसकेको र प्रहरी प्रशासनले गम्भीरतापूर्वक अनुसन्धान गरिरहेको चौधरीले बताइन् ।

कार्यक्रममा महिला अधिकारकर्मी तथा नयाँ शक्ति पार्टीकी सह संयोजक दुर्गा सोबले पछिल्लो एक दशकमा राजनीतिक रुपमा महिलाले फड्को मारे पनि पर्याप्त नभएको बताइन् ।

सुदूरपश्चिम प्रदेशमा छाउपडी र मधेशमा दाइजो जस्ता कुप्रथाको अन्त्य हुन नसक्दा महिला हिंसा कायमै रहेको उनको भनाई थियो ।