काठमाडौँ– अन्तरर्राष्ट्रिय महिला दिवस अवसरमा ‘लैङ्गिक समानताका लागि समान सोच र व्यवहार : समृद्धिको आधार’ नारासहित महिला र बालिकामाथि हुने हिंसाविरुद्ध पुरुष पदयात्रा भएको छ । युवालयको आयोजनामा २२ भन्दा बढी संघसंस्थाको सहकार्यमा ललितपुरमा पदयात्रा सम्पन्न गरिएको हो ।


ADVERTISEMENT


ललितपुरको जावलाखेलबाट सुरु भएको र्याली दमकल, पुल्चोक हुदै पाटन दरबार क्षेत्रमा पुगेर टुङ्गिएको थियो । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसलाई सन्देशमूलक बनाउन र परम्पराभन्दा भिन्न ढङ्गले मनाउन पुरुषहरूलाई अघि सारिएको हो ।


ADVERTISEMENT

# # #


लैंगिक समानता र महिला तथा बालिकाविरुद्ध हुने हिंसाको अन्त्यका लागि पुरुषको ऐक्यवद्धताका निम्ति पदयात्रा आयोजना गरिएको थियो ।
पुरुषहरूबीच पनि महिलाका मुद्दा छलफल गरी तिनबारे संवेदनशील बनाउनु साथै ती मुद्दाहरूलाई आत्मसात् गराई महिला र बालिकामाथि हुने हिंसाको अन्त्य गर्ने पनि यस पदयात्राको मुख्य उदेश्य रहेको थियो ।

कार्यक्रममा २ सय भन्दा बढी पुरुषहरुको सहभागिता रहेको थियो । कार्यक्रमको समापनमा बोल्दै मेन्स इन्गेज अलाइन्सका राष्ट्रिय संयोजक माधव प्रधानले आधा आकाश ओगटेका नारी शक्तिलाई आत्मनिर्भर बनाउनुका साथै उनीहरूको सम्मान गर्न सके मात्र मुलुक पनि समृद्ध बन्ने बताए ।

उनले भने, ‘हरेक पुरुषले आफ्नो घरबाटै महिलाको सम्मान गर्न सुरु गर्नुपर्छ । अनि मात्र महिला हिंसाका घटनामा कमी आउँछन् ।’

पुरुष पदयात्रा पर्साको वीरगन्ज महानगरपालिका र कपिलवस्तुको शिवराज नगरपालिकामा पनि आयोजना गरिएको जानकारी युवालयका कार्यक्रम संयोजक सबिन बुढाथोकीले जानकारी दिए ।

युवालयले विगत छ वर्षदेखि महिला दिवसमा पुरुष पदयात्रा गर्दै आइरहेको छ ।