काठमाडौँ– सत्तारुढ नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पृथकतावादको नारा लिएर सिके राउतका समर्थकले जनकपुरमा गरेको प्रदर्शन मिडियामा आएजस्तो नभएको टिप्पणी गरेका छन् ।


ADVERTISEMENT


सोमबार पोखरामा सञ्चारकर्मीहरुसंग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले सिके राउतसंग संविधानको मूल मर्म, भावना र राष्ट्रिय एकतालाई सम्मान गर्दै मूलधारको राजनीतिमा आउने सहमति भएको उल्लेख गरे । उनले आइतबार जनकपुरमा राउतका समर्थकले स्वतन्त्र मधेशको नारा लगाएपछि प्रश्न पैदा भएपनि सहमति गरेर मधेशमा जाँदै गर्दा आफ्ना समर्थकहरुलाई राउतले मूल धारमा जाने कुरा भन्न तयारी नपुगेकाले त्यस्तो भएको बताए ।


ADVERTISEMENT

# # #


अध्यक्ष प्रचण्डले आफ्नो बिहानमात्रै प्रधानमन्त्री केपी शर्माओलीसंग यस विषयमा छलफल भएको बताए । के भएको हो जनकपुरमा भनेर मेरो आज विहान मात्र प्रधानमन्त्रीजीसँग पनि त्योबारे छलफल भएको थियो,’ प्रचण्डले भने, ‘यो खाली व्यवहारिक रुपले आफ्नो समूहलाई भएको सहमतिको स्पिरिटबारे बुझाउने समय प्रक्रियाका कारणले मात्र त्यसो भएको हो । सरकारलाई कुनै आशंका छैन भनेर प्रधानमन्त्रीजीले जवाफ दिनु भएको छ ।’

सबै राजनीतिक प्रवृत्तिलाई समेटेर संविधानको मर्मअनुसार मूलधारको राजनीतिमा ल्याउन प्रयास गर्नु सरकारको जिम्मेवारी भएको भन्दै उनले सरकारको नियतमाथि शंका नगर्न आग्रह गरे । ‘यदि सहमति विपरित जान थाल्यो भने के गर्ने भन्ने निर्णय गर्ने अधिकार सरकारसँग सुरक्षित छ,’ उनले भनेका छन् ।

प्रचण्डले सहमतिको भाषा द्विअर्थी जस्ता भएका कि भन्ने प्रश्न उठेपनि गृहमन्त्रीले संसदमा जवाफ दिइसकेको बताए । सरकारले चाहँदैमा जनमत संग्रह हुन नसक्ने र संसदबाट दुई तिहाईले निर्णय गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको स्मरण गरे ।

प्रचण्डले प्रधानमन्त्रीले आफूलाई सिके राउतसँग गरेको तुलनाबारे पनि बोलेका छन् । सहमतिमा हस्ताक्षर गर्न २४ फागुनमा भएको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले राउतमा प्रचण्डको जस्तै निर्णय क्षमता देखिएको बताएका थिए ।

प्रधानमन्त्रीले कुनै योजनामा सोचे सम्झेर बोलेको जस्तो नलागेको नेकपा अध्यक्ष प्रचण्डले बताए । ‘तुलना नगरेको भए पनि हुन्थ्यो,’ तुलना कहिल्यै पूर्ण नहुने भन्दै प्रचण्डले भनेका छन्, ‘तुलना गर्दा पनि केही विग्रिए जस्तो लाग्दैन ।’