कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसियसनको नयाँ नेतृत्व चयनका लागि चैत १६ गते निर्वाचन हुँदैछ । निर्वाचनमा विशेषगरी प्रगतिशील र लोकतान्त्रिक गरी दुई समूह टक्करमा रहेका छन् । प्रगतिशील, पेशागत तथा समावेशी कानुन व्यवसायी समूहका तर्फबाट उपाध्यक्षका लागि प्रत्यासी बनेकी छन् अधिवक्ता रक्षा बस्याल । निर्वाचनको मिति नजिकिँदै गर्दा चुनावी तयारी, एजेण्डा र भावी योजनाका विषयमा उनै बस्यालसँग हिमालय पोष्टले कुराकानी गरेको छ । 


ADVERTISEMENT


नेपाल बार एशोसियसनको आसन्न निर्वाचनमा तपाईको प्यानलको तयारी के छ ?  केका लागि तपाईहरुलाई जिताउनु पर्ने ? 


ADVERTISEMENT

# # #


मुलुक अहिले अप्ठ्यारो परिस्थितबाट गुज्रिरहेको छ । खासगरी न्यायपालिका अझ अप्ठ्यारो स्थितिमा छ । यो भित्रको चरम विकृति अन्त्यका लागि नेपाल बारको सशक्त भूमिका हुन्छ । त्यसका लागि प्रगतीशील पेशागत र समावेशी कानुन व्यवसायीको समूह लिएर हामी अगाडि बढिरहेका छौँ । सम्पूर्ण न्यायालयलाई सही ट्रयाकमा ल्याउनका लागि यो समूहको जित आवश्यक छ । हामी सक्षम छौँ भन्नेमा म विश्वस्त छु ।

व्यक्तिगत रुपमा तपाईंका एजेण्डाहरु के हुन् ?

अहिले कानुन व्यवसायी महिलाको समस्या हेर्दा विकराल छ । महिलालाई पेशामा स्थापित गर्नका लागि केही नीतिगत कुराहरु ल्याउन जरुरी छ । महिलालाई अगाडी बढाउनका लागि हामीले आफ्नो घोषणापत्रमा ‘कानुन व्यवसायी महिलाको क्षमता विकास सम्बन्धमा’ भन्ने एउटा स्पष्ट कोलम ल्याएका छौँ । समस्या पहिचान र निराकरणका बारेमा हामीले भनेका छौँ ।

संघ, प्रदेश र स्थानीय तहको कानुन निर्माण भइरहँदा यसमा लैङ्गिक समानताको पनि आवश्यकता हुन्छ । सबै कानुन व्यवसायी महिलाहरुलाई परिचालित गर्न जरुरी छ । अर्को राज्यका सबै निकाय र बारद्वारा सञ्चालित कार्यक्रमहरुमा समावेशी, समानुपातिक प्रतिनिधित्व गराइने नीति ल्याउन जरुरी छ । महिला कानुन व्यवसायीको स्तरवृद्धिका लागि विभिन्न कार्यक्रमहरु ल्याउँछौँ । अहिले कानुनी शिक्षामा धेरै महिला विद्यार्थीहरु हुनुहुन्छ । उहाँहरु यो पेशामा प्रवेश गर्नुभन्दा पहिले त्यसको अवसर सिर्जना गर्ने काम बारको हो । यसलाई क्षेत्र विस्तार कसरी गर्ने भन्ने कुरा पनि ल्याएका छौँ । जस्तो ‘जहाँ सुनुवाई, त्यहाँ कानुन व्यवसायी’ भन्ने हाम्रो मूल नारा छ । यसले धेरै कानुन व्यवसायीलाई रोजगारीका  अवसर सिर्जना गर्छ ।

तपाईंहरुले जित्ने आधार के ?

अहिले निर्वाचन प्रतिस्पर्धामा रहेका सबै समूहमध्ये सबैभन्दा बढी महिला समावेश गराएको टिम हाम्रो हो । यसमा चार जना महिला छौँ । जसमा दुई जना जनजातीबाट हुनुहुन्छ । त्यसका साथै हामीसंग युवा कानुन व्यवसायीको जमात पनि छ । हामीसंग विभिन्न क्षेत्रबाट प्रतिनिधित्व गने विज्ञहरु पनि हुनुहुन्छ । त्यसकारण पनि हामी अरुभन्दा भिन्न छौँ ।

महिलाको प्रतिनिधित्व गर्दै उम्मेदवार बन्नु भएको छ । तपाईं नेपाल बारमा आइसकेपछि के परिवर्तन हुन्छ ?

म यो पेशामा प्रवेश गरेपछि निरन्तर लागेको कानुन व्यवसायी हुँ । महिला कानुन व्यवसायीका समस्या मैँले राम्रोसंग बुझेको र आफूले भोगेकी पनि छु । सबै महिला कानुन व्यवसायीलाई लिएर नेतृत्व गर्न सक्छु र केही परिवर्तन गर्न सक्छु भन्ने विश्वास छ ।

पछिल्लो समय न्यायालय अन्य अंगबाट पृथक हुन सकेन वा शक्तिपृथकीकरणको सिद्धान्त लागू भएन भन्ने खालका प्रश्नहरु पनि उब्जिने गरेका छन् । यस विषयमा साथै बार र बेन्चबीचको सम्बन्ध विकासका लागि यहाँहरुको नेतृत्वले कसरी काम गर्छ ?

सरकार अहिले तपाईहरुको छ, नेपाल बारमा आएमा तपाईंहरु त सरकारकै समर्थन गर्नुहोला भन्ने खालका प्रश्नहरु उठिरहेका छन् । तर, त्यो गलत हो ।  नेपाल सरकारले गरेका राम्रा काममा हामी सहयोग गर्छौँ । यदि गलत क्रियाकलाप हुन्छ जसले देश र जनतालाई, न्यायालयलाई हानी पुर्याउँछ भने हामी खबरदारी गर्छौँ । हामी विरोधका लागि विरोध या समर्थनका लागि समर्थन गर्दैनौँ ।  विकृतिका विरुद्धमा हामी सँधै बोल्छौँ । बार र बेन्चको सम्बन्ध सुदृढिकरणका लागि हामी सबै खालका प्रक्रियाहरु अपनाउने छौँ ।

तपाईहरुको विपक्षी समूहले सत्तारुढ दल र सरकारको प्रभाव यसपटकको निर्वाचनमा पर्नसक्ने बताएको छ । यसलाई कसरी चिर्नुहुन्छ ?

यो एकदमै गलत हो । किनभने बार एकदमै विशुद्ध पेशागत संगठन हो । हिजो उहाँहरुको सत्ता हुँदाखेरि उहाँहरु पनि त छानिएर आउनु भएको थियो नि ? के उहाँहरु त्यो प्रभावबाट मुक्त हुनुभयो ? त्यो उहाँहरुले समीक्षा गर्नुभएको होला । तर हामी विश्वास दिलाउन चाहन्छौँ, सत्तामा भएकै कारण निर्वाचनमा कुनैपनि प्रभाव पर्न दिनेछैनौँ । हामी न्यायालयको समस्या समाधान गर्नका लागि आएका हौँ ।

अन्त्यमा, मतदाताहरुलाई के भन्नुहुन्छ ?

मत माग्नेक्रममा विभिन्न उम्मेदवारहरु आउनु भएको छ । म मतदाताहरुलाई तीनवटा कुराहरुमा ध्यान दिन आग्रह गर्छु । उम्मेदवारको पेशाप्रतिको निरन्तरता, निष्ठा, नैतिक धरातल अब्बल खालको छ कि छैन ध्यान दिनुस् । यी कुरालाई कसीमा राखेर हामीलाई जाँची दिनुहोला । यहाँहरुको मतको हामी पूर्ण कदर गर्छौं ।