तारानाथ आचार्य, बलेवा– पिँडीको डिलमा बुढ्यौली बिसाइ रहेका बडिगाड गाउँपालिका–५ खौलाराका ७७ वर्षीया हिमलाल आचार्य खौलारा बजारमा भएको प्रगति देखेर छक्कै पर्छन् । विसं २०१६ मा आफूले शुरु गरेको सानो किराना पसलमा दिन दाहाडै चोरी हुँदा गुहार माग्ने मान्छे नपाएका आचार्यलाई अहिलेको खौलारामा भइरहेको बजार विस्तार देखेर औधी खुशी लाग्ने गरेको छ ।


ADVERTISEMENT


आचार्यले खौलारामा व्यापार गर्न छोडेको केही वर्ष भयो तर उनले व्यापार गरेको ठाउँमा अहिले सयौँले व्यापार गर्दै आएका छन् । दश वर्ष पहिलासम्म पनि सामान्य किराना पसलबाहेक खौलारा बजार सुनसान जस्तै देखिन्थो । पछिल्ला केही वर्षमा भने यहाँ अग्ला पक्की घर बनेका छन्, किराना, होटल, कस्मेटिकदेखि हार्डवेयर पसलमा निकै चाप देखिने गरेको छ । जिल्ला सदरमुकाम बागलुङ बजारदेखि ७५ किलोमिर दूरीमा रहेको खौलाराको बजार विस्तारका मुख्य कारण मध्यपहाडी लोकमार्ग निर्माण र बडिगाड गाउँपालिकाको केन्द्र हो ।


ADVERTISEMENT

# # #


मध्यपहाडी लोकमार्ग नपुग्दासम्म एकदुई खरका छाप्राहरु रहेको बडिगाडको खौलारामा पछिल्लो समय सडककै कारण बजार विस्तार हुँदै गएको आचार्य बताउँछन्। पूर्वपश्चिम मध्यपहाडी लोकमार्गले बीच भागबाटै चिरेर गएपछि यहाँ बस्ती बस्न थालेको र बजारको रूपमा विकास हुँदै गएको हो । खौलारामा बजार मात्रै विकास भइरहेको छैन यहाँका होटल तथा रेष्टुराँहरुमा ग्राहकको चाप पनि त्यतिकै छ । अन्य व्यापारीहरुलाई पनि फुर्सद छैन ।

खाने बस्ने व्यवस्थासहितको होटल सञ्चालन गरिरहेका ज्ञानबहादुर बलालले खौलारामा होटल शुरु गरेको एक वर्ष मात्रै भयो । उनको होटलमा दिन रात फुर्सद हुँदैन । सरकारी कर्मचारी, घुम्न आउने पर्यटक र गाउँपालिकमा काम लिएर आउने गाउँलेहरुका कारण उहाँको व्यापार राम्रो चलेको छ ।

बलाल जस्तै ठूलो घर बनाएर व्यवसाय सञ्चालन गर्ने एक दुईवटा मात्रै होटल छन् भने साना छाप्रामा व्यापार गर्नेको सङ्ख्या दुई दर्जनको हाराहारीमा छ । “विकासको स्वाद खौलाराले पाएको छ, केही वर्षमानै यहाँ भएको परिवर्तनले हामी दङ्गै परेका छौँ”, बडिगाड–२ का अध्यक्ष विष्णु भुसालले भने, “पालिकाको केन्द्र र मध्यपहाडी लोकमार्गका कारण सुनसान ठाउँ भरिभराउ भएको छ ।”

बडिगाड खोलाको छेउमा रहेको यो ठाउँमा केही समय पहिलासम्म माानिसहरु एक्लै हिँड्नसमेत तर्सिने गरेको स्थानीय बताउँछन् । “पहिले यहाँ घरहरु थिएनन्, ससाना एक/दुई वटा खरका झुपडी थिए”, स्थानीयवासी शिवलाल आचार्यले भने, “जब सडकले यस ठाउँ जोडियो, त्यसपछि ठूलाठूला घरहरु बन्नथाले, बस्ती विकास हुन थाल्यो र अहिले बजारको रूपमा विकास हुनथालेको छ ।”

खौलारामा भएको बजार विस्तारले बडिगाडका जलजला, अमरभूमि लगायतका कयौँ गाउँहरुलाई सहज भएको छ । आधा दर्जन बढी गाउँमा कच्ची सडकमा गुड्ने सवारीको केन्द्रसमेत बनेको छ । “सानो छँदा नुनतेल लिन तम्घास, बुटवल, तानसेन पुग्ने हामीहरु बुढ्यौलीमा गाउँमै शहर जस्तो देख्दा अचम्म लाग्छ”, आचार्यले भने, “स्याल दगुर्ने खोलाको तीरमा अहिले बजार बनेको छ ।” केन्द्रीय प्रसारण लाइनको पहुँच नपुगेको यो बजारमा स्थानीय लघु जलविद्युत्बाट चौबिसै घण्टा बिजुली बल्छ ।

मध्यपहाडी लोकमार्ग कालोपत्रे भए यता यहाँका सर्वसाधारणले बिरामी पर्दा अस्पताल पुग्नसमेत सहज हुने गरेको बताउँछन् । मध्यपहाडी लोकमार्ग हुँदै नेपालकै एकमात्र शिकार आरक्ष ढोरपाटन जाने पर्यटक र पहिरोका कारण बडिगाड खोलामा बनेको तुरतुरे ताल हेर्न जाने पर्यटकको खाने बस्ने ठाउँसमेत खौलारा बन्दै गएको छ । रासस