नेपाल धर्मनिरपेक्ष राष्ट्र भएको पनि दशक नाघिसक्यो । वि.सं.२०६३ को अन्तरिम संविधानले नेपालाई हिन्दू राष्ट्रबाट धर्मनिरपेक्ष राष्ट्रको रुपमा घोषणा गरेको थियो । यसैगरी कार्यान्वयनको दिशामा रहेको २०७२ को संविधानले पनि नेपाल धर्मनिरपेक्ष राष्ट्र भएको स्पष्ट व्याख्या गरेको छ । तरपनि आम जनता हिन्दू राज्यकै पक्षमा छन् । किनकी यो देशमा ८१ प्रतिशत भन्दा बढी मानिस हिन्दूवादी छन् । नेपाललाई हिन्दू राष्ट्र कायम गराउने भन्दै केही राजनीतिक पार्टीहरुले आफ्नो प्रमुख एजेण्डा बनाएका छन् । यसैबीच हिन्दूहरुको प्रमुख संगठन विश्व हिन्दू महासंघ पनि नेपालमा हिन्दू राज्य फर्काउने अभियानमा लागेको छ । यसले के साँच्चै हिन्दूराज्य फर्काउन सक्छ ? यसका लागि के कस्ता चुनौतिहरु छन ? धर्मनिरपेक्षतालाई यसले कुन रुपमा लिइरहेको छ ? लगायतका विषयमा विश्व हिन्दू महासंघ अन्तराष्ट्रियकी महासचिव अस्मिता भण्डारीसगं  हिमालयपोष्टले गरेको कुराकानीको सम्पादित अंश: 


ADVERTISEMENT


विश्व हिन्दू महासंघको पछिल्लो गतिविधिहरु बताइदिनुस् न । के कस्ता कार्यहरु भइरहेका छन् ?


ADVERTISEMENT

# # #


महासंघमा नयाँ नेतृत्व आएसंगै हामीहरु धार्मिक, सामाजिक, राजनैतिक तथा विभिन्न संघसंस्थाहरुसंग भेटघाट, छलफल, अन्तक्रिया गरिरहेका छौँ । किनभने देशमा यस्तो धर्मान्तरण बढेर गयो र यसका कारणहरु के हुन् त ? भन्ने कुराको खोजी गर्दै हाम्रा वार्षिक कार्यक्रमहरु विकास गर्दै छौँ । जसका निम्ति सम्पूर्ण हिन्दूवादीहरुका घरमा गएर जनजागराण तथा घरदैलो कार्यक्रमहरु गर्दै छौँ ।

विश्व हिन्दु महासंघ मार्फत काम कसरी अगाडी बढाइराख्नु भएको छ ? के हो यो विश्व हिन्दू महासंघ ?

मैले अघि नै भने देशमा पछिल्लो समय घटेका राजनीतिक घटनाक्रमले विश्व हिन्दू महासंघका कार्यहरु प्रभावित भए । मूलूकमा हामीले धरै राम्रा कामहरु गर्न सक्थ्यौँ तर अस्थिर राजनीतिको सिकार विश्व हिन्दु महासंघ पनि भयो । विश्व हिन्दू महासंघको कुरा गर्नुपर्दा योगी नरहरी नाथ तथा स्व. राजा विरेन्द्रको अवधारणा हो । जुन २०३७ सालमा स्थापना भएको हो । पहिलो विश्व हिन्दू सम्मेलन भएको थियो जसमा चारवटै शंकराचार्यहरुको उपस्थिति थियो । त्यो सम्मेलन पछि संसारभरि रहेका हिन्दूहरुलाई एकिकृत गर्नका लागि एउटा संगठनको आवश्यकताको महसशुस गरी विश्व हिन्दू महासंघको स्थापना भएको हो ।

नेपाल हिन्दू राज्य भएकाले यसको प्रधान कार्यालय नेपालमा रहने र केन्द्रिय अध्यक्षपनि नेपालमा रहने निर्णय त्यतीबेला भएको थियो । यो कुरा हाम्रो विधानमा उल्लेख  छ । गोरखनाथसंग हाम्रो अन्याश्रित सम्बन्ध रहेको छ । त्यसैले यसको बेग्लै गरिमा छ । अहिले १८ वटा देशमा हाम्रो च्याप्टरहरु रहेका छन् । केही समय अघि हामीले अन्तराष्ट्रिय विराट हिन्दू महासम्मेलन गरेका थियौँ । जसमा विभिन्न मुलूकहरुबाट प्रतिनिधिहरु आएका थिए । जसले नेपाललाई हिन्दू अधिराज्य बनाउनु पर्छ भन्ने एजेण्डा पास गरेका थियौँ । हामीले विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय सेमिनारहरु गरिरहेका छौँ । यस्तै रचनात्मक क्रियाकलापहरु गरिरहेका छौँ  ।

हिन्दुहरुको बाहुल्यता हुँदाहुँदै पनि  देश धर्म निरपेक्ष भएको छ । तपाईहरुले आफ्नो अभियानलाई कसरी टुङ्गोमा पुर्याउनु हुन्छ ? वा कसरी सफल बनाउनु हुन्छ ?

देश धर्मनिरपक्ष भएपछि हिन्दू, बौद्धिष्ठ, जैन लगायत सम्पूर्ण ओमकार परिवारको आस्थामा ठूलो चोट पुगेको छ । जनतालाई भुक्याएर, आर्थिक प्रलोभनमा पारेर यो परिवर्तनको नाममा आएको चिज हो । यो जनताको भावना, भावना विपरित तथा विभिन्न प्रलोभनमा पारेर ल्याइएको आयातीत कुरा हो । त्यसपछि विभिन्न धार्मिक संस्थाहरु तथा राजनीतिक पार्टीहरुले नेपाल धर्मनिरपेक्ष हुनुहुँदैनथ्यो भनेका थिए। किनभने नेपाल भनेको संसारभरीका हिन्दूहरुको आस्थाको केन्द्र हो । पशुपितनाथ, माता जानकी, भगवान गौतम बुद्धको देशभएकाले आजपनि नेपाल हिन्दू राज्य हुनुपर्छ मान्यता देशका ९४ प्रतिशत जनताको रहेको छ । विश्व हिन्दू महासंघ भनेको एउटा माध्याम मात्र हो । जनताको भावनासंग गाँसिएको कुरा हुनाले यसमा हामी सफल हुन्छौँ भन्ने कुरामा विश्वस्त छौ ।

नेपालमा हिन्दू धर्मप्रति आस्था राख्नेको सङ्ख्या धरै छ । तर हिन्दू राष्ट्रका पक्षमा जनाभावना किन उठ्न सकिराखेको छैन जस्तो लाग्छ तपाईलाई ?

यसका बारेमा दबाब नगरेको होइन । म यहाँलाई एउटा के कुरा अवगत गराउन चाहान्छु भने जब यो संविधान निर्माण हुने बेलामा जनताको सुझाव संकलन गर्न जाँदा पनि ८४ प्रतिशत भन्दा बढी जनताले यो देश हिन्दू राष्ट्र हुनुपर्ने सुझाव गरेका थिए । तर के भइदियो भन्दा आफ्नो निर्णय आफै गर्न नसक्ने नेताहरुले विदेशीसंग पद टिकाइ राख्नको स्वार्थ र आर्थिक प्रलोभनमा परी जनताको कुरा नै सुनिदिएनन् । बौद्ध, मुस्लिम जनताहरुलेपनि हामी धार्मिक सहिष्णुतामा बसेका जनता हौँ र हाम्रो सुरक्षाको लागि पनि नेपाल हिन्दू राज्य हुनुपर्छ भन्ने भारणा राख्दछन् । केही क्रिश्चियनहरु पनि यो देशको स्वाधिनता जोगाई राख्नका लागि पनि हिन्दू राज्य आवश्यक रहेछ भन्दै आएका थिए । तर पनि ठूलो आर्थिक चलखेलका कारण नेपाललाई धर्म निरपेक्ष बनाइयो ।

भनेपछि नेपाललाई धर्मनिरपेक्ष बनाउन आर्थिक चलखेल र वैदेशिक दबाब मात्रै हो भन्नुहुन्छ तपाईहरु ?

एकदमै, नेपाललाई धर्म निरपेक्ष बनाइरहनु पर्ने कुनै जरुरी थिएन । किनभने सनातनदेखि धार्मिक सहिष्णुतामा हामी बसेका छौँ । धर्मका आधारमा नेपालमा कुनै किसिमका झै–झगडा भएको इतिहास छैन । स्वयम्भूमा गएर एउटा हिन्दुले पूजा गर्छ । बुद्धिष्टहरुले पशुपतिमा आएर पूजा गर्नुहुन्छ । यहाँ धर्मका नाममा कहीँपनि विवाद छँदै थिएन । नेताहरुले आर्थिक प्रलोभनका कारण, विदेशीहरुलाई खुसी पार्नका निम्ति तथा आफु सत्तामा जानका निम्ति गरेको प्रपञ्च मात्र हो । देशलाई धर्म निरपेक्ष बनाएर कमजोर बाटोमा लैजाने षड्यन्त्र हुँदै छ । नेपाललाई धर्म सापेक्ष बनाउनका लागि हामीहरुले सरकार तथा विभिन्न दलका नेताहरुर्ला भटेर कुरा गरेका थियौँ तर त्यसको सुनसवाई भएन । नहुनुकोे कारण भनेको ठूलो आर्थिक चलखेल हो ।

पहिले पनि नेपाली कांग्रेसका खुमबहादुर खड्का त्यस्तै राप्रपा नेपाल अनि तपाईहरुको संयुक्त अभियान सञ्चालन भएको थियो । अहिले आएर यो अभियानमा को को संगै हुनुहुन्छ ? कुन रुपमा अगाडी बढीराख्नु भएको छ ?

यस्तो छ, अहिले नेपाल हिन्दू राष्ट्रबन्नु पर्छ भन्ने माग कुनै एक संस्था वा व्यक्तिको माग होइन । खुमबहादुर खड्का पनि आफ्नो हिसाबले लागिराख्नु भएको होला । राप्रपाको पनि आफ्नो किसिमको आन्दोलन होला । विश्व हिन्दू महासंघ पनि आफ्नो हिसाबले लागिरहेको छ । यसको मतलब यी तीनवटा मात्र व्यक्ति तथा संस्थाले गरेको माग होइन । यो त यो त विश्व हिन्दू महासंघ लगायत संसारभरी छरिएर रहेका ओमकार परिवारका सदस्यहरुको माग हो । र यसका लागि हामीले सबैको समर्थन पाएको छौँ ।

देश धर्मनिरपेक्ष राज्य भएको पनि दशक नाघिसकेको छ । एक किसिमले जनतामा धर्मनिरपेक्षताप्रतिको धारणा विस्तारै सकारात्मक हुँदै गएजस्तो देखिन्छ । नेपालमा हिन्दू राज्य स्थापना गर्नका लागि सम्भव देख्नुहुन्छ ?

किन छैन ? एकदमै सम्भव छ । विश्वमा हिन्दू देश भनेकै नेपालमा मात्र थियो । यो एक किसिमको हाम्रो पहिचान थियो । आफ्नो पहिचान पुनः कायम राख्न किन सम्भव छैन ? सबैभन्दा ठूलो पहिचान हो । आज मेरो देश छ, मेरो धर्म छ र त म छु । भोलि मेरो धर्मपनि नरहने, देशपनि नरहने भए मेरो पहिचान कहाँ हुन्छ ? नेपालको पहिचान कायम गर्नका लागि पनि तथा राष्ट्र स्वाधिनतालाई मजबुद बनाउनका लागि पनि नेपाललाई हिन्दू राज्य कायम गर्नु पर्छ र यो हुन्छ पनि ।

अहिले देशको निर्णयक तहमा जुन किसिमका राजनीतिक शक्तिहरु छन् । तिनीहरु त धर्मनिरपेक्ष राज्यको पक्षमा छन् । भोलिका दिनमा पनि यिनीहरु नै हुने हुन् । यी दलहरुबाट हिन्दू राज्य कायम गर्न कसरी सम्भव हुन्छ ?

तपाई नेपाल हिन्दू राज्य भएको हेर्न चाहानुहुन्छ ? भनेर अहिलेको प्रधानमन्त्री देउवालाई सोध्नु भयो भने उहाँले मलाई हिन्दू राष्ट्रको माया छ भन्नु हुन्छ । त्यस्तै माओवादी अध्यक्ष प्रचण्डले पनि छातीमा हात राखेर सोच्नुभयो भने नेपाललाई धर्मनिरपेक्ष गरेर सही गरेँ भनेर भन्नसक्नु हुन्न । किनकी उहाँ क्रिश्चियन होइन । अहिले जतिपनि क्रिश्चियन भएको छन्, तिनीहरु पहिले हिन्दू हुन् । त्यसैले उनीहरु नेपाल हिन्दू राज्य भएको मन पराउँछन् । अहिले माओवादी कांग्रेस, एमालेका सबै जनताहरु हिन्दू हुन् । यदि यसका पक्षमा जनमत संग्रह होस् त । कसरी सम्भव छैन हिन्दु राज्य बन्नलाई ? यदि जनता नै सर्वोपरी हो भन्ने मान्नु हुन्छ भने जनमत संग्रह गराईदिनुस् ।

मुलुकका चार जनामात्र मिलेर आफ्नो निर्णय लागू गरेर जनताको निर्णयमाथि खेलबाड गर्न पाईदैन । र धर्ममाथि राजनीति गर्नु हुँदैन । धर्म भनेको भावनासंग जोडिएको कुरा हो । यदि जनताको भावनामाथि खेलवाड गरियो भने भोलि मुलूकमा भावनात्मक द्वन्द्व पैदा हुन्छ । यसको जिम्मेवारी प्रमुख तीन दलले लिनुपर्छ ।

नेपाललाई हिन्दू राज्य बनाउने मामलामा भारतले पनि सहयोग गरेको छ भन्ने सुनिन्छ । के छ त्यस्तो सहयोग ?

यसलाई यसरी हेरौ । उहाँहरुसंग हाम्रो धर्म, संस्कृति परम्परा मिल्छ, खुला सिमाना छ । हिन्दुत्वको मुद्दा बोकेको भिजेपी जस्तो पार्टी अहिले सरकारमा छ । हाम्रो विश्व हिन्दू महासंघको उपाध्यक्ष योगी आदित्यनाथ भारतमा उत्तर प्रदेशको मुख्य मन्त्री पनि हुनुहुन्छ । भारतमा रहेका हाम्रा मित्रहरु पनि नेपाल हिन्दू राष्ट्र होस् भन्ने चाहानुहुन्छ । उहाँहरुसंग पनि सहकार्य गरिरहेका छौँ । यसलाई अन्यथा ठान्नु हुँदैन ।