रमेश लम्साल र सिवी अधिकारी, काठमाडौँ – दिनभर दुःखजिलो गरेर साँझ परिवारसँग बसेर मिठो मसिनो खाने तयारीमा थिए बारा फेटाका बासिन्दा । कोही घर फर्कने तयारीमा थिए, कोही काममै थिए । एकै छिनमा ठूलो विपद् आइपर्ला भन्ने सोेचेकै थिएनन् उनीहरुले।


ADVERTISEMENT


चैतको मौसम भएकाले साँझ सामान्य हावाहुरी चल्नु स्वभाविक थियो । तर फेटाका बासिन्दाले एकै क्षणमा घरबास नै उडाउने गरी हावाहुरी आउला र आफूहरुको सर्वनास गर्ला भन्ने कल्पनासमेत गरेका थिएनन् तर त्यही भयो ।


ADVERTISEMENT

# # #


खाना पकाइरहेका गृहणी, दुधे बालक, वृद्धवृद्धा भगवानलाई पुकार्दै ज्यान जोगाउन लागे । कोही ज्यान जोगाउन खोज्दा खोज्दै मृत्यको मुखमा परे । पशु चौपाया थलोमै किचिएर मरे । क्षणभरमै बस्ती सखाप भयो । बस्तीमा न घर रह्यो न त अन्न बाली नै । हावाहुरीले अन्नबाली भिजेका कारण खाद्यान्न सामग्रीसमेत अभाव हुने स्थिति सिर्जना भएको छ । विद्युत्का सबै पोल ढलेका छन् । जसका कारण बत्ती नआएर रिचार्ज गर्न नपाउँदा मोबाइल फोन चलाउनसमेत समस्या परेको छ ।

बारा र पर्साका ग्रामीण क्षेत्रका नागरिक आइतबार साँझदेखि भोकभोकै आकाश मुनी रात बिताउन बाध्य भएका छन् । बारा पर्साको सीमा क्षेत्रको फेटा, प्रसौनीलगायतका बासिन्दा सबैभन्दा बढी प्रभावित भएका छन्।

एकै क्षणमा बस्ती नै सखाप बनाउने गरी आएको हावाहुरीले घर उडायो, बस्ती उडायो, रुख बिरुवासमेत खण्डहर बनाएको छ । पछिल्लो विवरणअनुसार ३१ को मृत्यु भएको छ भने ६०० बढी विभिन्न अस्पतालमा उपचाररत छन् । एकाएक आइपरेको विपद्ले अस्पतालमा चिकित्सकको अभाव देखिएको प्रदेश नं २ को सरकारले जनाएको छ । घाइतेको उपचारका लागि स्थान अभाव भएको छ । रगतको समेत अभाव देखिएको छ ।शक्तिशाली हावाहुरीले रोकिराखेको सवारी साधनसमेत पल्टाइ दिएको छ ।

सरकारले राहत र उद्धारलाई पहिलो प्राथमिकतामा राखेको जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओली पूर्वनिर्धारित झापाको कार्यक्रम छाडेर हावाहुरी प्रभावित क्षेत्रमा पुगेका छन् । प्रधानमन्त्रीले आइतबार राति नै राहत तथा उद्धारमा जुट्न सबैलाई आग्रह गरेका थिए ।

मुख्यमन्त्री लालबाबु राउतले विपद् व्यवस्थापनको लागि तत्काल औषधि, खाद्यान्न, त्रिपाललगायतका राहत सामग्री तथा उपचार उपलब्ध गराउन जिल्ला दैवी प्रकोप उद्धार समितिलाई क्रियाशिल गराई परिचालन गर्ने निर्णय गरेको जानकारी दिए । विपद् व्यवस्थापनका लागि प्रदेश सरकारले मुख्यमन्त्री राहत कोषको खातासमेत खोलेको छ । प्रदेश सरकारले मृतक परिवारलाई तत्काल तीन लाख रुपैयाँ राहत रकम उपलब्ध गराउने घोषणासमेत गरेको छ । रासस