काठमाडौँ – १२ औँ संस्करणको इण्डियन प्रिमियर लिग (आइपीएल)मा नेपाली युवा स्पिनर सन्दीप लामिछाने आवद्ध टिम दिल्ली क्यापिटल्सले आज विराट कोहलीको कप्तानीमा रहेको रोयल च्यालेन्जर बैंगलोरविरुद्ध खेल्दैछ ।


ADVERTISEMENT


विश्वका नम्बर एक ब्याट्सम्यान मानिने कोहली यस संस्करणको आइपीएलमा भाग्य र असफलतासंग लडिरहेका छन् । उनै कोहलीको टिम बैंगलोरले घरेलु मैदानमा युवाले भरिपूर्ण टिम दिल्ली क्यापिटल्सको सामना गर्दै छ ।


ADVERTISEMENT

# # #


खेलेका पाँच खेलमा सबैमा हार व्यहोरेको बैंगलोर अंक तालिकाको पुछारमा छ । जुनसुकै तरिका अपनाए पनि हार मात्र खेपिरहेको बैंगलोरले पछिल्लो समय घरेलु मैदानमा २ सय रनको चुनौतिलाई समेत जोगाउन नसकेपछि कप्तान कोहली मात्रै होइन,  प्रसंशक समेत असन्तुष्ट छन् ।

शुक्रबार भएको खेलमा बैंगलोरले यो सिजनमा पहिलो पटक २०० सय रनको स्कोर पार गरेपछि पहिलो जितका लागि पर्खिरहेको थियो । तर, आन्द्रे रसेल नामको तूफानले उसको यो सपनालाई पूरा हुन दिएन । एक किसिमले घाइते बाघ जस्तै बनेको बैंगलोर आज पहिलो जितको खोजीमा हुनेछ ।

यता दिल्लीको पनि अवस्था लगभग उस्तै छ । तर, फरक यति हो कि उसंग दुई वटा जितको अनुभव छ ।

तल्लो क्रमका ब्याट्सम्यानको समस्या खेपिरहेको दिल्लीविरुद्ध बैंगलोरका लागि यस संस्करणमा जितको खाता खोल्ने यो सही मौका हो, संगै चुनौति पनि । यता दिल्लीका लागि सफलताका हिसाबले प्रतियोगिताको सबैभन्दा कमजोर देखिएको टिम बैंगलोरविरुद्ध जित निकालेर विजयी यात्रामा फर्किने सुनौलो अवसर छ ।

नेपाली समय अनुसार अपरान्ह सवा चार बजे सुरु हुने खेल बैगलोरको एम. चिन्नास्वामी स्टेडियममा हुँदैछ । जहाँ बैंगलोरले शुक्रबार कोलकत्ताविरुद्ध खेलेको थियो । यस खेलमा कप्तान विराट कोहली र एबी डीभिलियर्सले अर्धशतक प्रहार गर्दै २०५ को स्कोर खडा गरेका थिए । तर, बैंगलोरका बलरले यो विशाल लक्ष्यलाई पनि सुरक्षित गर्न सकेनन् । रसेलले १३ बलमा अविजित ४८ रन बनाएपछि बैगलोरले हार व्यहोरेको थियो ।

कोहलीको चिन्ता आफ्ना बलरलाई लयमा ल्याउने हुनेछ । किनकी दिल्लीसंग रिशभ पन्त, पृथ्वी श र शिखर धवनजस्ता ब्याट्सम्यान छन्, जसले तुफानी इनिङ खेल्नसक्छन् ।

यता दिल्ली घरेलु मैदानमा सनराइजर्स हैदरावादसंग पराजित भएको थियो । उसका ब्याट्सम्यान गलत सट खेलेर आउट भइरहेका छन् । जुन कुरा प्रशिक्षक रिकी पोन्टिङले समेत स्वीकार गरेका छन् । जितको नजिक पुगेर पनि हार ब्यहोरिरहेको दिल्लीसंग बलिङ पक्ष भने मजबुद छ । किनकी उसंग कागिसो रबाडा, क्रिस मोरिस, सन्दीप लामिछानेजस्ता बलर छन् ।

सन्दीपको सम्भावना कति ?

पछिल्लो तीन खेलमा लगातार स्थान पाइरहेका सन्दीपले व्यक्तिगत रुपमा राम्रो खेलेपनि टिमका लागि जित दिलाउन सकेका छैनन् । तीन खेलबाट चार विकेट लिएका सन्दीपआएपछि टिमले एक मात्रै जित हात पारेको छ ।

पछिल्लो दुई खेलमा चर्चित स्पिनर अमित मिश्र बेन्चमै छन् । उनी सन्दीपको स्थानमा पनि मैदानमा आउन सक्ने अनुमान लगाइएको छ । टिममा पर्नका लागि सन्दीपले उनीसँग मात्रै प्रतिस्पर्धा गर्नु पर्ने अवस्था होइन । चार जना मात्र विदेशी खेलाडी खेलाउन मिल्ने भएकाले अन्य सात जना विदेशी खेलाडीसँग प्रतिस्पर्धा गर्दै टिममा पर्नु पर्ने हुन्छ ।